यो सिजनको च्याम्पियन्स लिग उपाधि लिभरपुलले लगेको छ । स्पेनको मड्रिडस्थित वान्दा मेट्रोपोलिटानो स्टेडियममा आइतबार बिहान सम्पन्न फाइनलमा टोटनह्यामलाई २–० ले पराजित गर्दै लिभरपुलले १४ वर्षपछि च्याम्पियन्स लिगको उपाधि उचालेको हो । लिभरपुलका लागि च्याम्पियन्स लिगको यो छैठौं उपाधि हो । पछिल्लो पटक उसले सन् २००५ मा इटलीको क्लब मिलानलाई पराजित गरी च्याम्यिन्स लिगको उपाधि जितेको थियो ।
यस्तै सन् १९७७, १९७८, १९८१ र १९८४ को उपाधि पनि लिभरपुलले नै लगेको थियो ।
लिभरपुललाई छैठाैं पटक उपाधि दिलाउन मोहम्मद सालाह र डिभक ओरिजीले गोल गरे । खेलको पहिलो मिनेटमै टोटनह्यामका मुसा सिस्सोकोले विपक्षी खेलाडी सादियो मानेलाई डिबक्सभित्र लडाइदिएपछि लिभरपुलले पेनाल्टी पाएको थियो । पाएको पेनाल्टीलाई सालाहले सदुपयोग गरे ।
८७औं मिनेटमा ओरिजीले गोल गरेपछि लिभरपुलले २–० गोल अन्तरको जित हासिल गर्यो ।
पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनह्याम उपविजेतामै सीमित हुन पुग्यो ।
सालाह च्याम्पियन्स लिग फाइनलमा सबैभन्दा छिटो गाेल गर्ने दोस्रो खेलाडी बनेका छन् । उनले दुई मिनेटभित्रै गोल गरेका हुन् । सबैभन्दा छिटो गोल गर्ने खेलाडीको पहिलो नम्बरमा छन्, पाओलो माल्दिनी । उनले सन् २००५ मा मिलानका तर्फबाट लिभरपुलविरुद्ध गोल गरेका थिए ।
मोहम्मद सालाह च्याम्पियन्स लिगको फाइनलमा गोल इजिप्टका पहिलो फुटबलर पनि बनेका छन् ।
उनी फाइनलमा गोल गर्ने पाँचौं अफ्रिकी फुटबलर हुन् ।
Write your Comment