जलेश्वर ।
महोत्तरी जिल्लामा एकजना वडा सदस्यलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगले गाँउपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराई दिने भन्दै घुस लिएको आरोपमा वडा सदस्यलाई पक्राउ गरेको छ ।
एकडारा गाउँपालिका–४मा राष्ट्रिय जनता पार्टी( राजपा )नेपालको तर्फबाट वडा सदस्य रामचन्द्र रायले गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराई दिन भनी सेवाग्राहीसँग ३६ हजार घुस लिएको अवस्थामा आयोगले शुक्रवार पक्राउ गरेको जनाएकोछ ।
आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले रायलाई जलेश्वर नगरपालिका–१ शैलेशचोकबाट पक्राउ गरेको हो । आरोपी रायको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाए ।
सदस्य रायले बजेट निकासा गराउन रकम दिनु पर्ने भन्दै पटक पटक दवाव दिएपछि उजुरी अख्तियारमा परेको थियो । घुस दिने स्थान र रकम समेत निर्धारण गरी पीडितले अख्तियारलाई जनाउ दिएपछि बर्दिबासको टोलीले वडा सदस्य रायलाई रकम सहित नियन्त्रणमा लिए ।
अख्तियारको टोलीले रायलाई बर्दिबासमा राखेर थप अनुसन्धान गरिरहेको छ ।वडा सदस्यमाथि अख्तियारले विशेषमा मुद्दा दर्ता गराएपछि निलम्बनमा पर्ने छन् ।प्रदेश २ मा अख्तियारले निगरानीलाई बढाएको छ ।
Write your Comment