प्रदेश २ को सम्पर्क भाषा हिन्दी, प्रदेश पर्यटन बोर्ड समेत गष्ठन गरिने लक्ष्य

रातोघर

 २० जेष्ठ २०७६, सोमबार ०८:१९  मा प्रकाशित
२३६ पाठक संख्या



जनकपुरधाम।

प्रदेश २ सरकारको आइतवार नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ । जारी रहेको हिउँदे अधिवेशनमा नै सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । गत वर्ष नीति तथा कार्यक्रम जेठ २० गते वर्षे अधिवेशनमा ल्याइएको थियो । तर यस वर्ष हिउँदे अधिवेशनमै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।प्रदेश सरकारले नीति तथा कार्यक्रममा हिन्दीलाई प्रदेश २ को सम्पर्क भाषाको रुपमा राखिने उल्लेखगर्दै जानकी मन्दिर, गढिमाई लगायत कयौं पर्यटकीय विकासका लागि प्राधिकरण बनाउने उल्लेख गरेको छ ।

मधेशी सहिद राजमार्ग सप्तरीदेखि पर्सा जोडनेलाई नामाकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । योसँगै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैयादेखि सप्तरीको रुपनीसम्मको राजमार्ग क्षेत्र पनि मधेशी शहीद राजमार्ग घोषणा हुनेछ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममा ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानलाई निरन्तरता दिइने उल्लेख छ । यो अभियानलाई थप प्रभावकारी बनाउँदै सामुदायिक विद्यालयमा कक्षा ८ सम्म अध्ययन गर्ने छोरीहरुलाई हौला बढाउन प्रत्येक महिना रु ५ सयका दरले उपलब्ध गराउने भएको छ । यस्तै निम्न आय भएको परिवारमा जन्मिने छोरीका लागि विशेष छात्रबृत्ति प्रदान गर्ने नीति प्रदेश सरकारले लिएको छ ।

यस्तै प्रदेशका २ जिल्लालाई हेर्ने गरी एउटा भू–जलाधार कार्यालय खोल्ने र ३ सय मेगावाटको सौर्य उर्जा उत्पादन गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियानलाई पनि निरन्तरता दिने भएको छ । यो अभियानलाई थप प्रभावकारी बनाउँदै आगामी बर्षभित्र प्रदेशलाई खुल्ला दिशामुक्त बनाउने लक्ष्य लिएको छ । टोल र वस्तीहरुमा सरसफाई अभियान संचालन गर्ने र त्यसका निम्ति महिलाहरुको समूह बनाउने लक्ष्य प्रदेश सरकारको छ । आगामी आर्थिक बर्षमा प्रदेशभित्रका सबै ६४ वटा निर्वाचन क्षेत्रमा सन्तुलित र समतामूलक तरिकाले बजेट बाँडफाँड गर्ने नीति लिएको प्रदेश सरकारले ३ बर्षभित्र अनुसन्धान हुने फौजदारी मुद्दाको अनुसन्धान प्रदेशको न्यायाधिबक्ताले अभियोजन गर्न दिन संघीय सर कारसँग संविधान संशोधनका लागि आग्रह गर्ने जनाएको छ ।

आगामी बर्ष प्रदेश सरकारले मुख्यमन्त्री साना किसान योजना संचालन गर्नेछ भने प्रदेशलाई कृषि प्रधान बनाउने अवधारणा अगाडि ल्याउनेछ । प्रदेशमा अनियमितता हुन नदिन सार्वजनिक खरीद ऐन बनाउने जनाएको प्रदेश सरकारले जनकपुरको मुजेलियास्थित सिंचाई विभागको भवनमा प्रदेश जनशक्ति क्षमता केन्द्र खोल्दै आगामी बर्षसम्म दरबन्दी अनुसारको सबै कर्मचारी र प्रहरी नियुक्त गर्ने जनाएको छ । सप्तरीको छिन्नमस्तास्थित छिन्नमस्ता शक्तिपीठको विकासका लागि छिन्न्मस्ता एकीकृत परियोजना संचालन गर्दै सप्तरीदेखि पर्सासम्मका मठ ,मन्दिर, पर्यटकीय क्षेत्रहरुको विकास गर्ने जनाइएको छ ।

यसका निम्ति प्रदेश पर्यटन बोर्ड समेत गष्ठन गरिने लक्ष्य प्रदेश सरकारले लिएको छ । गरीव जनतालाई कार्ड दिएर न्यूनतम शूल्कमा इन्धन उपलब्ध गराउने प्रदेश सर कारको भनाई छ ।नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि यसमा केहि संशोधन गर्नुपरे ७२ घण्टाभित्र संशोधन प्श गर्न सभामुख सरोज यादवले सांसदहरुलाई भनेका छन् । आगामी जेठ २४ गतेदेखि बस्ने प्रदेश सभाको बैठकमा बजेटबारे छलफल हुनेछ । आईतबार प्रदेश सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेकपाले पुरानै भनेको छ ।

नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले सबै कुरा पुरानै भएको र यसमा कुनै नयाँ नभएको बताए । नेता मण्डलले नीति तथा कार्यक्रम प्रस्तुति गरेर औपचारिकता मात्रै पूरा गरिएको बताए । ‘ नीति तथा कार्यक्रम परम्परावादी छ’ मण्डलले भने, “यो विज्ञहरुलाई नराखी बनाइएको छ ।” योजनाहरु सबैतिर छोएको भएपनिसमयअवधी नतोकिँदा कार्यान्वयन हुनेमा आशंका रहेको उनको भनाई छ ।बजेटमा महिला हिंसा रोक्न ठोस कार्यक्रम नल्याइएको जनाउँदै सत्तारुढ राजपाका साँसद मनिष सुमनले आलोचना गरे ।

Write your Comment