जनकपुरधाम।
आईतवार बसेको प्रदेशसभा बैठक अन्य दिनको तुलनामा अली फरक देखियो । प्रदेशसभा परिसरको सुरक्षा अवस्था त कडा पारिएको थियो नै, बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा केहि साँसद मज्जाले निदाइरहेका थिए ।
केहि साँसद मोवाइलमा व्यस्त त केहि साँसद निदाइ रहँदा सञ्चारकर्मीहरु क्यामेरामा दृष्यहरु कैद गर्न व्यस्त देखिए । नेपाली काँग्रेसकी साँसद रिता यादब निदाएपछि एक सञ्चारकर्मीले तस्विर मोवाइलमा कैद गर्यो । त्यतिकैमा साँसद यादबको आँखा खुलेपछि सञ्चारकर्मी तर्फ इशारा गरिन् र भनिन्– यस्तो नगर्नुस् । केहि बेर नबित्दै उनी फेरी निदाएकी थिइन् । केहि बेर निदाउने र केहि बेर जाग्ने गर्थिन् उनी ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकोले आईतवारको बैठकमा आ–आफ्नो संस्कृति झल्किने खालको पोशाक लगाएर आउन साँसदहरुलाई सभामुखले आग्रह गरेका थिए । बैठकमा धेरै साँसदले आफ्नो संस्कृति झल्किने पोशाक लगाएका आए । तर सबभन्दा बढी आकर्षण बने साँसद संजय यादब । सर्लाहीबाट तत्कालिन फोरमबाट निर्वाचित साँसद गम्छाको ‘पगरी’ बाँधेर आएका थिए ।
अन्य दिनको तुलनामा आईतवार प्रदेशसभा परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित थियो । विशिष्ट भिआइपी बाहेक साँसदहरुलाई समेत आईतवार गाडी भित्र लग्न दिएन । प्रदेशसभाको मुख्य गेटमै ड्यूटीरत प्रहरीले साँसदलाई गाडी भित्र नलग्न आग्रह गरिरहेका थिए । साथै साँसदका स्वकिय सचिवलाई समेत भित्र छिर्न दिएनन् । जसका धेरै महिला साँसदको श्रीमान समेत आईतवार प्रदेशसभा परिसर जानबाट बंचित भएका थिए ।
निलम्बनमा परेका भनिएका नेकपा साँसद शत्रुधन महतो समेत प्रदेशसभा बैठकमा देखिए । नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल नजिकै साँसद महतो बसेपछि तस्विर कैद गर्ने पत्रकारहरुबीच प्रतिस्पर्धा नै चल्यो । अनुशासन पालना नगरेको भन्दै साँसद महतोलाई निलम्बन गरिएको र सभामुखलाई समेत पत्राचार गरिएको संसदीय दलका नेता मण्डलले यसअघि बताएका थिए ।
Write your Comment