काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले जाति, धर्म, क्षेत्र, लिंग र समूदायको सामुहिक प्रयासबाट देश समृद्ध बन्ने बताएका छन् ।
मुस्लिम समुदायको महान् चाड ईद उल-फित्रको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले यो चाडले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्छ भन्ने कुराको सन्देश दिएको बताए । प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता हो भनेका छन् ।
प्रचण्डले सन्देशमा लेखेका छन्, ‘हामी देशको आर्थिक समृद्धिको चरणमा छौं । लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको छ । सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव छ ।’
यस चाडले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरी देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्ने प्रचण्डको विश्वास छ ।
Write your Comment