सूचीकृत बेरोजगारले पाउन थाले रोजगारी

रातोघर

 २३ जेष्ठ २०७६, बिहीबार ०८:४७  मा प्रकाशित
४३८ पाठक संख्या



काठमाडौँ ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् सूचीकृत बेरोजगारलाई रोजगारी दिन सुरू गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि पहिलो वर्ष सम्बन्धित स्थानीय तहमा सूचीकृत भएका बेरोजगारलाई ३० दिने रोजगार दिन सुरू गरेको हो ।
रूपन्देहीको तिलोत्तम नगरपालिकाले बुधबारदेखि बेरोजगारमा सूचीकृत भएका ३१६ जनालाई विभिन्न क्षेत्रमा ३० दिनको रोजगारी दिएको छ ।  श्रम मन्त्री गोर्कणराज विष्टले यसै साता आफै निर्वाचित भएको क्षेत्र गुल्मीको धुर्कोट गाउँपालिकाबाट औपचारिक रुपमै कार्यक्रम गरेर यसको सुरुआत गरिसक्नुभएको छ ।

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत उक्त गाउँपालिकामार्फत बेरोजगारमा सूचीकृत भएका १५० जनालाई ३० दिनको रोजगारी दिएर उक्त कार्यक्रमको कार्यान्वयनको औपचारिक रूपमा सुभारम्भ गर्नुभएको हो । यस्तै यसअघि गुल्मीकै मुसिकोट नगरपालिकाले पनि सोही कार्यक्रमअन्तर्गत बेरोजगारमा सूचीकृत भएका ९० जना युवालाई नगरपालिकाभित्रै रोजगारी दिएको थियो ।
मन्त्रालयका अनुसार बाग्लुङको ताराखोला गाउँपालिकाले सूचीकृत भएकामध्ये ९५ जनालाई सोमबारदेखि रोजगारी दिइएको छ । उक्त गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन स्वरूप २२ दिनका लागि रोजगारी दिएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले हरेक स्थानीय तहले आआफ्नोमा सूचीकृत भएकालाई छनोट गरेर असार मसान्तभित्रमा ३० दिने रोजगारी दिइसक्नुपर्ने बताउनुभयो ।
उहाँका अनुसार उक्त कार्यक्रमअन्तर्गत सूचीकृत भएकालाई स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउनका लागि सबै स्थानीय तहमा कार्यविधिसँगै बजेट पठाइसकिएको छं ।
संयोजक दाहालले कार्यक्रम कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौता गरिसकेकाले पनि सबै स्थानीय तहले चालु आर्थिक वर्षमा यसको कार्यान्वयनका लागि हाल धमाधम काम गरिरहेको जानकारी दिनुभयो ।
जेठ महिनाको अन्तिम हुन लागेकाले केही स्थानीय तहले रोजगारी दिइसकेका छन् भने अधिकांश स्थानीय तहले रोजगारमूलक आयोजना तथा श्रमिक छनोटको काम गरिरहेको उहाँको भनाइ छ ।
यो आर्थिक वर्षमा ३० दिनको रोजगारी दिन सरकारले स्थानीय तहमा रकम पठाइसकेको छ । यस आधारमा असारसम्ममा सबै स्थानीय तहले बेरोजगार सूचीमा दर्ता भएकालाई छनोट गरी रोजगारी दिनुपर्ने हुन्छ । गोरखापत्र दैनिकमा खबर छ ।

-lokantar

Write your Comment