भ्रष्टाचारको मिसिल अख्तियारबाटै गायब

रातोघर

 २४ जेष्ठ २०७६, शुक्रबार ०९:१२  मा प्रकाशित
५३४ पाठक संख्या



काठमाडौं ।

विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको मिसिल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ‘गायब’ भएको छ । अख्तियारले पटकपटक ‘मिसिल नभेटिएको’ जवाफ लेखेपछि सर्वोच्च अदालतले १५ दिनभित्र मिसिलसहित उपस्थित हुन आदेश दिएको कान्तिपुर दैनिकमा खबर छ ।

सर्वोच्चले कारबाहीको चेतावनी दिँदै अख्तियारका सचिवसहित अधिकृत र अन्य कर्मचारीलाई कारबाही नगर्नुपर्ने भए ‘कारण र आधारसहित उपस्थित हुन’ पनि आदेश दिएको हो ।

सर्वोच्च अदालतले २०७१ साल भदौ २९ गतेको आदेशअनुसार गोविन्दराज जोशीमाथि भ्रष्टाचारमुद्दा दायर गर्दाको अवस्थाको मिसिल मगाएको थियो । अख्तियारले २०६० साल बैशाख २५ गते गरेको निर्णयसहित सक्कल मिसिल वा रजिष्टर पठाउन भनी सर्वोच्च अदालतले अख्तियारमा पठाएको थियो । त्यतिबेला लोकमान नेतृत्वको अख्तियारले मिसिल नभेटिएको जवाफ लेख्यो ।

अख्तियारले २०७१ साल कार्तिक २ गते आयोगमा रहेको उक्त मुद्दाको अभिलेख मिसिल अध्ययन गरी हेर्दा सो निर्णय कागजातहरु मिसिलमा नभेटिएको’ भनी जवाफ पठायो । त्यो मितिको निर्णय सहितको सक्कलै मिसिल, फाइल वा रजिष्टर सात दिनभित्र पठाउनु भनी २०७३ साल भदौ २० गतेसमेत आदेश भएको थियो । अनि असोज २ गते फाइल नभेटिएको भनी अख्तियारले दोस्रोपटक जवाफ पठाएको हो । ‘फाइल गायब भएको अर्थमा नबुझौं होला’ अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले भने, ‘नभेटिएको हो, मेहनतका साथ खोज्ने काम भएको छ । अब भेटिन्छ होला ।’

‘यसलाई जिम्मेवारपूर्ण जवाफ मान्न मिलेन । आयोगले गरेको निर्णय नभेटिएको भनी पन्छन खोज्नु उचित होइन’ न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना मल्ल प्रधानको संयुक्त इजलासको आदेशमा भनिएको छ, ‘५ वर्षसम्म पनि आदेश बमोजिमको अभिलेख कागजात उपलब्ध नगराउनु आपत्तिजनक देखिन्छ । यसले न्याय निरुपणमा ढिलाई भएको, न्यायिक प्रक्रियामा अवरोध भएको र मुद्दाका पक्षलाई अनावश्यक हैरानी हुन पुगेको देखियो । त्यसैले अख्तियारका सचिव, सम्बन्धित अन्य अधिकृत र कर्मचारीमाथि किन कारबाही नगर्ने हो, १५ दिनभित्र फाइलसहित स्वयं उपस्थित हुनु ।’

अख्तियारले २०६० साल पुस २८ गते जोशी लगायत उनका नातेदारमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले जोशीमाथि ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो । आरोपपत्रमा जोशीको सम्पत्ति लुकाएको भनी उनकी पत्नी सविता पन्त, उनकी दिदी चोलाकुमारी पन्त, सासु नीरकुमारी, साला बासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो ।

विधेयकपिच्छे विवाद शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । संसदबाट पारित भएका र संसदको प्रक्रियामा रहेका केही विधेयक पछिल्लो समय विवादित बनेका छन् । विधेयक निर्माण प्रक्रियालाई पटक-पटक छोटयाइनु र सरोकारवालाबीच पर्याप्त छलफल नगराइनु यसको प्रमुख कारण रहेको सरोकारवाला बताउँछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयक प्रमाणीकरण नगरी फिर्ता गरिदिइन्। प्रतिनिधिसभा एक्लैले पारित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयकका केही प्रावधानप्रति चित्त नबुझेपछि राष्ट्रपतिले फिर्ता गरेकी थिइन्।

राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको राष्ट्रिय चिकित्सा ऐनमा पनि परस्पर विरोधी प्रावधान देखियो। तीन महिनाअगाडि प्रमाणीकरण भएको ऐनमा सीटीईभीटीले सञ्चालन गर्दै आएको प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्य शिक्षासम्बन्धी कार्यक्रम रहने/नरहने दुवै थरी प्रावधान छन्।

दफा १५(४) ले ऐन प्रारम्भ भएपछि परिषदले प्रमाणपत्र तहभन्दा मुनीका स्वास्थ्य शिक्षासम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रम सञ्चालन गर्नेछैन भनेको छ। त्यसकै मुनि दफा १५ (५) मा परिषदले सञ्चालन गरेको प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्य शिक्षासम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रम तोकिएबमोजिम हटाउने (फेज आउट) र तोकेको मापदण्डबमोजिम स्तरोन्नति (अपग्रेड) गरिने भनिएको छ। दुईवटै व्यवस्था आएपछि ऐन कार्यान्वयनमै समस्या देखिएको छ।

घण्टाघर कसको ? शीर्षकमा लेखिएको समाचारमा राणा प्रधानमन्त्री वीरशमशेरले १८७५ सालमा घण्टाघर बनाए । र, सुरु भयो- त्यस घरको घडीले १२ बज्दा बाह्रपल्ट ‘टिङटिङ टिङटिङ’ गरेपछि टुँडिखेलमा सेनाले तोप पडकाएर १२ बजेको जनाउ दिने चलन । त्यतिबेला समय सूचकको एक मात्र पर्याय बनेको ऐतिहासिक र पुरातात्त्विक महत्त्वको घण्टाघरको आवाज सुनेरै तोप पडकाउन चलनले ०५२ सालसम्म निरन्तरता पायो ।

त्यसपछि तोप पडकाउन बन्द भए पनि ‘टिङटिङ टिङटिङ’ गर्ने घडीलाई बन्द हुन दिएका छैनन् गणेश सापकोटाले, जो ३२ वर्षदेखि यही घडीको रेखदेखमा छन् । उनको अवकाशसँगै ५ वर्षपछि यो घडी चुस्तदुरुस्त राख्न सक्ने दक्ष जनशक्ति अरू भेट्न मुस्किल छ ।

लामो कालखण्ड काठमाडौंवासीले घण्टाघरको घडीअनुसारै आफ्नो समय व्यवस्थापन गर्थे । बिस्तारै प्रविधिले फडको मार्दै गएपछि घण्टाघरको आवश्यकता अनिवार्य बनेन । अहिले पनि समयको जनाउ दिइरहने घण्टाघरको घडीमा सायदै कसैको ध्यान जान्छ । न कसैले कति बज्यो भनेर घण्टाघरको सुईमा आँखा लगाउँछन् । हात-हातमा स्मार्टफोन छ, समय जान्न घण्टाघरै हेर्नुपर्ने अवस्था रहेन ।

Write your Comment