डिभोर्स

हरिमाया भेटवाल

 २१ असार २०७६, शनिबार १२:२०  मा प्रकाशित

प्रेमले बासना जन्माउँछ । बासनाले प्रेम जन्मिन्छ ? भत्काउँदै गरेको पर्खालमा घनले हिर्काएझै मेरो दिमागमा यिनै प्रश्नहरुले हिर्काइरहेका थिए  ।
म कसरी भन्न सक्छु र यतिका वर्ष उसले मलाई प्रेम गर्‍यो । अनि मैले …? एकतर्फी सही, मैले त गरें नि उसलाई ।
उफ् …! कसरी सक्यो होला उसले मलाई बिर्सिएर बाँच्न ?
बाहिर आकाश रोएर जमीन भिज्यो । भित्र म रोएर ओछ्यान । एकसाता भैसक्यो यो ओछ्यानमा ओर्कंदै-फर्कंदै बिताएको । न छोराछोरीलाई भन्न सक्छु, तिमीहरुका बाले अर्की लिएर हिँडे भनेर । न निदाउन सक्छु ।  रातको निद्रा र दिनको भोक सबै हराएर गयो ।
निद्रा नलाग्नु मात्र निद्रा नलाग्नु कहाँ हो रहेछ र ! छातीभित्र आँधीबेहेरी चल्नु पनि रहेछ । मुटु दुख्नु पनि रहेछ । शरीर गल्नु पनि रहेछ । मस्तिष्कले हवाई उडान भर्नु पनि रहेछ । आँखाबाट आँशु झर्नु पनि रहेछ । अनि घरको रखवाली गर्नु पनि त रहेछ ।
हुन त यो घरको मात्र रखवाली कहाँ गरें र मैले ! यो घरका प्रत्येक सदस्यको भावनालाई, सपनालाई बुझ्ने चेस्टा गर्दागर्दै २५ बर्ष बितिसकेछन् ।
साँच्चै किन हुन्छ होला मान्छेको मन पानीजस्तै तरल ? स्थिर ठाउँमा पोखिन कहाँ मान्छ र पानी ? तर, जब ओरालो देख्छ, तब कहाँ रोकिन्छ र ऊ ! ओरालो लागेरै यति धेरै आँसु बगिरहेको छ आँखाबाट । थुम्थुम्याउन खोज्छु आफैंले आफैंलाई । तर, नगरेको गल्तीमा सजायँ भोग्न कहाँ तयार हुन्छ र मन ? सम्झाउन खोज्छु मनले नै मनलाई । तर, आँखाले भने उही निष्ठुरीलाई देख्न थाल्छ ।
आँसु बगिरहने मेरा आँखा नशैनशा देखिएका हातमा पुगेर रोकिए । ऊबेला मेरा यिनै मुलायम हात सुम्सुम्याउँदै मलाई पहिलोपटक मनाउन प्रकाशले थुप्रै कुराको बाचा गरेको थियो । जीवनभरि सुखदुःखमा साथ दिने, कुनै कुरामा चित्त नबुझे दुबैजना बसेर सुल्झाउने उसको यस्तै बाचा गराइले त म यो घरमा भित्रिने वातावरण बनेको थियो दशैको अघि ।
दरबारमार्गको उत्तरपट्टकिो कर्नरमा उभिएको यो पुरानो घरका बिमहरु कति ठूलाठूला थिए । पहिलोपल्ट नै हो मैले यति ठूलो बिमले थेगेको घर देखेकी ।
पछि यही बिमको एकाछेउमा एक जोडी भँगेराले गुँड बसाले । मान्छेजस्तै लाग्थे मलाई यी भँगेरा जोडी ।  पोथीले चुच्चोमा बोकेर बचेरालाई चारो ल्याउँथी । थुप्रै बचेरा हुर्काई उसले त्यो गुँडबाट ।
मैले पनि तीनजना छोराछोरी जन्माएँ र हुर्काएँ उसले जस्तै । उसका पनि छोराछोरीले गुँड छोडे । मेराले पनि ।
एक दिउँसो ऊ र भाले बढी नै चिरबिर चिरबिर गर्दैथिए, प्रायः चुच्चो जोडेर माया देखाउने यी जोडी सायद आपसमा लड्दै थिए । लड्दा लड्दै भाले भँगेरा उडेर गयो । अलिपछि पोथी पनि उडेर गई । पोथी निस्किएको केही छिनपछि भालेले अर्को पोथी लिएर आयो र गुँडभित्र पस्यो । एकघण्टा जस्तो बसेर ती दुबै निस्किए ।
साँझ पर्नुअघि घरकी पोथी आई र गुँडमा छिरी । साँझ अबेरसम्म उसले हेरिरही आˆनो भालेलाई । तर, ऊ आएन । भोलिपल्ट बिहान नौ बजेतिर ऊ नयाँ पोथी लिएर आयो । अचम्म …! त्यो जोडीलाई के के भनी भनी उसले ! मैले त कसरी बुज्न सक्छु र उसको भाषा ! तर, उसको भाषा नबुझे पनि भाव भने बुझेदै थिएँ म ।
उसले आˆनो भालेलाई चुच्चोले ठुंगिरहेकी थिई, गुँडबाट निकाल्न खोजिरहेकी थिई । सायद ऊ गर्भवती पनि थिई कि ? ती दुईले निक्कैबेर प्रतिकार गरे । तर, घरकी पोथीले बसी टिक्न दिइन । अन्ततः चिरबिर चिरबिर चिर्बिराउँदै उनीहरु त्यो गुँडबाट उडेर गए । भोलिपल्ट, पर्सिपल्ट गर्दै चार दिन बित्यो । तर, त्यो भाले भँगेरा आउँदै आएन ।
पाँच दिनको दिन चार बजेतिर घरकी पोथी भँगेराले एउटा नयाँ भाले भँगेरालाई लिएर आई । अचम्म ….! पहिलेजस्तै प्रेम गरी उसले भालेलाई, भालेले पनि उसै गर्‍यो । पहिलेजस्तै दिन दैनिकीमा लागे उनीहरु । बिहान सबेरै चिर्बिराउँदै उठ्नु, अलिबेर पछि छतमा जानु । आँगनमा जानु । रुखको हाँगामा जानु । घाम ताप्नु । भेटेको चारो खानु । अनि, बेलुका गुँडमा फर्किएर प्रेमपूर्वक रात काट्नु । अहो ! कति सुन्दर छ उनीहरुको जीवन ।
सम्भिmएँ- भँगेराजतिको पनि रहेन मेरो जीवन । ऊ कति खुशी छे, म कति दुःखी ! ऊ कति स्वतन्त्र छे, म कति बाँधिएकी छु ! ऊ कति बहादुर छे, म कति काँतर ! उसको भालेले अर्की लिएर गयो, मेरो पनि त भालेले अर्की लिएरै गयो । तर, म किन सक्दिनँ ऊजस्तै अर्को ल्याएर बस्न ?
सम्भिmन्छु- बेलुका अलि अबेर घरमा आउँदा मेरो ईज्जतको जोड घटाऊ लगाउने मेरो मेरो परिवार, समाज ! छोरीमान्छेलाई दोस्रो विवाह गर्न नदिने मेरो धर्म, मेरो संस्कृति । एउटी महिला कति धेरै कुराले बाँधिएकी हुन्छे ।
तर, एउटा पुरुष ! ऊ चराजस्तै स्वतन्त्र हुन्छ, जन्मेदेखि नमरुञ्जेलसम्म । किन हुन्छ यस्तो हामीमाथि ? किन उसलाई न उमेरले छेक्छ, न सम्बन्धले, न त समाजले नै  ? गलेको छ हातगोडा । गलेकै छ मन पनि आज ।
टिरिङ टिरिङ ….घन्टी बज्यो फोनको । गलेरै उठाएँ ।
‘हलो …..मम, नमस्ते ।’
थाकेको थियो स्वर मेरो । तर, ऊ प्रफुल्लित थिई ।
‘मम आज म असाध्यै खुशी छु, किन थाहा छ ? मैले डिभोर्स गरें नि दिनेशलाई ।
तपाई नै भन्नोस् न मम बासनाकै लागि मात्रै गरिने प्रेम पनि कँही प्रेम हुन्छ र ? अब त म चराजस्तै स्वतन्त्र छु मम । म आफ्नै खाले उडान भर्छु । आˆनै खाले जीवन जीउँछु । अब रमाएर बाँच्छु । खुशीले बाँच्छु । कसैको दबाव बेगर बाँच्छु । गरिनँ त मम मैले सही निर्णय ?’
छोरी बोलिरहेकीथिई फोनमा ।  एक्कैछिनमा प्रफुल्लित भयो मन । आमा भएर पनि छोरीको डिभोर्सको समाचारले किन यति खुशी भएँ होला म ?
हप्ता दिनदेखि बगिरहेका आँसु एकाएक अडिए । सायद जीवनमा मैले गर्न नसकेका थुप्रै कामहरु मेरी छोरीले गरेकी छे, गर्ने छे । यस्तै सोचेर पनि स्वतन्त्र महसुस गरें आफंैले आफंैलाई । अहिलेसम्म नआएको आँट र तागत भरिँदै थियो मेरो रगतमा । मलाई लाग्दै थियो, म बेलुन हुँ मभित्र कसैले हावा भरिरहेको छ र म माथिमाथि उड्दैछु ।
उडिरहेको मेरो मन एक्कैचोटि बिमतिर पुगेर रोकियो । बिममा बसेर चुच्चो मिलाइरहेका ती भँगेराको जोडीलाई हेरें । तिनको र मेरी छोरीको उडान एउटै लाग्यो । ऊ अमेरिकामा उडान भर्दै थिई, यिनीहरु मेरै घरको बिमबाट उडान भर्दै थिए । अनि म !
-onlinekhabar

Write your Comment