त्रिविको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ

रातोघर

 २३ असार २०७६, सोमबार ०६:५७  मा प्रकाशित

काठमाडौं ।

आज प्रकाशित नयाँ पत्रिका दैनिकले कीर्तिपुरमा मात्र त्रिविको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ भन्दै विश्वविद्यालयभित्र प्रहरी चौकीदेखि राजधास्वामीको सत्संगसम्म चल्ने गरेको समाचार मुख्य प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

समाचारमा जनाइए अनुसार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको बल्खुदेखि कीर्तिपुरसम्मको जग्गामा निजीदेखि धार्मिक संस्थासम्मले रजाइँ गरेका छन्।

त्रिविको जग्गामा रजाइँ गर्ने यस्ता संस्था २० वटा छन्। कतिपय संस्थाको रेकर्ड त्रिविको सम्पत्ति विवरण राख्ने शाखामा समेत छैन। कुनैले केन्द्रीय सरकारको सिफारिस लिएर त कुनैले आफैँ हडपेर बसेका हुन्।

त्रिविको जग्गा ओगट्नेमा कतिपय नाफामूलक संस्था पनि छन्। त्रिविका पदाधिकारीबाटै उनीहरूलाई संरक्षण मिलेको छ। केहीलाई हटाउने प्रयास भए पनि राजनीतिक संरक्षणमा जोगिएका छन्।

कीर्तिपुर परिसरमा त्रिविसँग तीन हजार ६ सय १३ रोपनी जग्गाको लालपुर्जा छ। तर, एकतिहाइ जग्गा व्यक्ति र संस्थाले उपभोग गरिरहेका छन्। जब कि, त्रिविका केन्द्रीय विभागहरूले समेत आवश्यकताअनुसार जग्गा पाउन सकेका छैनन्।

नयाँ पत्रिका दैनिक

Write your Comment