समाजशास्त्रीय बहस : महिलालाई कसरी हेर्ने ?

रातोघर

 १ श्रावण २०७६, बुधबार ०९:०९  मा प्रकाशित

गणतन्त्र नेपालको राजनीति, अर्थतन्त्र वा भौतिक विकासबारे मिडियामा प्रशस्तै सामाग्री प्रकाशित हुने गरेका छन् । यी विषयमा सामान्यतः बहस भइरहेकै छ । तर, समाज विकासको महत्वपूर्ण अवयव मानिने सांस्कृतिक विषयमा भने पर्याप्त बहस हुन सकेेको छैन । विशेष गरी महिला-पुरुषवीचको सम्बन्धजस्ता अहम सामाजिक प्रश्नहरुमा पर्याप्त सांस्कृतिक बहस हुन सकेको छैन, जसले गर्दा नेपाली समाजले यदाकदा बाटो बिराउन थालेको पो हो कि भनेजस्तो प्रतीत हुने गरेको छ ।

संस्कृतिलाई समाजको आधेय मानिन्छ । हामीले कस्तोखालको आर्थिक-राजनीतिक प्रणाली र सामाजिक व्यवस्था स्थापित गरेका छौं भन्ने कुराले सांस्कृतिक मूल्य-मान्यताको विनिर्माण गर्छ । यही संस्कृति/सभ्यताले नै नारीहरुको स्वतन्त्रता, अधिकार र न्यायलाई प्रभावित पारेको हुन्छ । जुन समाजमा अराजकता, हिंसा, दण्डहीनता, गरीवी, अशिक्षा र बेरोजगारी व्याप्त हुन्छ, त्यो समाजमा सबैभन्दा बढी प्रताडीत महिलाहरुले नै हुनुपर्छ । यस अर्थमा महिला स्वतन्त्रता, समान अधिकार र न्याय भन्ने कुरा त्यस देशको आर्थिक व्यवस्था, राज्य सञ्चालन प्रणाली र सामाजिक व्यवस्थासँग गहिरोसँग निर्भर रहन्छ ।

हामी देशमा गणतन्त्र आएर पनि नेपाली महिलाहरु स्वतन्त्र भएनन् र उनीहरुले समन्याय पाउन सकेनन् भनिरहेका छौं । यसका पछाडि नेपालमा विद्यमान सामाजिक-राजनीतिक बेथितिहरुले भूमिका खेलिरहेका छन् । हामीले समाजको आधारभूत तहमा रहेका यी समस्यालाई पहिचान गर्न सकेनौं भने घटना केन्द्रित  भएर वा पीडकहरुको संख्या गनेर मात्रै महिलामाथिको विभेद हटाउन सक्दैनौं ।

प्रस्तुत आलेखमा महिला स्वतन्त्रता र समानताको सवालमा केन्द्रित रहँदै केही समाजशास्त्रीय प्रश्नमा विचरण गर्ने प्रयास गरिएको छ । यसको उद्देश्य महिलामाथि हुने हरेक प्रकारका विभेदहरु पर्गेल्न र हटाउन सकियोस् भन्ने हो । विशेष गरी विभेदकारी एवं असभ्य दृष्टिकोणको शिकार बनिरहेका पुरुषहरुलाई सच्चिनका लागि यसले मद्दत गर्न सकोस् ।

महिला अधिकारका बारेमा प्रायः महिलाहरुले मात्र लेख्दै आएका छन् । तर, पुरुषहरुले पनि यसमा चासो दिन र आफ्नो समुदायको कमजोरीहरुमाथि निर्मम हुन आवश्यक देखिन्छ ।

गणतन्त्रको लाभ पुरुषलाई मात्रै ?

‘अरब स्प्रिङ’ को आँधीसँगै सन् २०११ मा इजिप्टमा पनि क्रान्ति भयो । क्रान्तिमा त्यहाँका महिलाहरु घुम्टो फालेर पुरुषसँगै संघर्षको मैदानमा उत्रिए । तर, क्रान्तिपछि त्यहाँ बलात्कारका घटना झनै बढेर गए । यौन हिंसा, महिलाको खरीद-बिक्री र दण्डहीनता झनै बढ्यो । त्यसपछि इजिप्टका महिलाअधिकारकर्मीले प्रश्न उठाए, खै, यो क्रान्तिले हामी महिलालाई के दियो ?

नेपालतिर फर्केर हेर्दा अरब क्रान्तिकै एकाध वर्ष अगाडि हामी गणतन्त्रमा गयौं । गणतन्त्र आइसकेपछि देशले महिला राष्ट्रपति पायो । महिला प्रधानन्यायाधीश, महिला सभामुख/उपसभामुखहरु पायो । स्थानीय तहको निर्वाचनपछि ठूलो संख्यामा महिलाहरु जनप्रतिनिधि बनेर नीति निर्माण तहमा पुगे । संविधानले महिलालाई आरक्षणसहित समान अधिकार प्रत्याभूत गर्‍यो । समाजमा महिलाहरु जहाँसुकै निर्वाधरुपमा लाग्न पाएका छन् । कानूनतः उनीहरुले समान अधिकार पाएका छन् । संसदमा पनि ठूलो संख्यामा महिलाको सहभागिता छ । होलीका दिन स्वच्छन्द बनेर सडकमा निस्किएका युवतीहरुलाई हेर्दा लाग्छ, नेपाली नारीहरु प्रफुल्ल र सन्तुष्ट छन्, जुन घरमा नारी खुशी छिन्, त्यो घरमा सुख र शान्ति छ भन्ने आहान चरितार्थ भइरहेको छ नेपालमा ।

तर, के अन्तर्यमा नेपाली महिलाहरुको अवस्था पुरुषसरह सम्मानजनक बनेको छ त ? समाजमा महिलाले समान अधिकारको उपभोग गर्न र समान व्यवहारको महसुस गर्न पाएका छन् त ? उनीहरुले सुरक्षाको अनुभूति गर्न पाएका छन् ? गणतन्त्र आएपछि महिला हिंसा र बलात्कारका घटना कम भएका छन् या बढेका छन् ? यो व्यवहारिक पाटोतर्फ फर्किएर हेर्दा नेपाली गणतन्त्र पनि महिलाहरुका लागि अरब-क्रान्तिकै झल्को आउने अवस्थामा छ भन्दा अन्यथा नहोला ।

देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली महिलाले पनि पुरुषहरुसँगै काँधमा काँध मिलाएर लडेकै हुन् । माओवादी जनयुद्धमा लागेर बन्दुक बोकेका गाउँका विपन्न महिलालाई हेर्दा महिलाको योगदान स्पष्ट हुन्छ । नेपाली महिला चुलोचौका छाडेर, बालबच्चाको भविश्य असरल्लै पारेर राजनीतिक क्रान्तिमा नलागेको भए गणतन्त्र शायदै आउँथ्यो । तर, अहिले यसको प्रतिफल पुरुषहरुको भागमा बढी पर्न गएजस्तो देखिएको छ ।

किनभने, महिला राष्ट्रपति हुँदैमा आम महिलाले अधिकार/सम्मान प्राप्त गरे भन्नु भनेको एकजना पुरुष राष्ट्रपति बन्दाखेरि सबै पुरुषले मुक्ति पाए भन्नुजस्तै हो । महिला सभामुख र महिला प्रधानन्यायाधीशको हकमा पनि यही कुरा सत्य हो ।

जुन देशमा महिला राष्ट्रपति छन्, त्यही देशमा निर्मला पन्तहरुले न्याय नपाएको दृष्टान्त हाम्रा अगाडि छँदैछ । जनयुद्ध लडेका महिलाहरु हजारौंको संख्यामा पारिवारिक वियोगमा छट्पटाएका छन् । कतिपय महिला छापामारहरु यौन उत्पीडनको शिकार बनेका छन् । अन्तरजातीय विवाह गरेकाहरुलाई पुरुषले छाड्ने र सजातीय विहे गर्ने क्रम बढेको छ । घरेलु हिंसाको विरुद्ध बन्दूक बोकेका महिलाहरु नै घरेलु हिंसाको शिकार भएका छन् । डान्सबारबाट विद्रोह गरेर बन्दूक बोक्न हिँडेका युवतीहरुको गन्तन्य फेरि पुरानै ठाउँ बन्न पुगेको छ । महिलाले लडेको लडाइँ बेकारजस्तै बनेको छ । समाजमा जुवातास र जाँड रक्सीको बाहनामा महिलामाथिको अत्याचार फेरि मौलाएको छ । ‘भाटे कारबाही’ का भाटाहरु  मकाएका छन् ।

यो यथार्थले हामीलाई के निश्कर्ष निकाल्न बाध्य पार्छ भने गणतन्त्र स्थापनापश्चात नेपाली महिलाको अवस्थाबारे विश्लेषण गर्दा राजनीतिक तहमा को-को महिला पुगे भन्ने गणनाले मात्र गुणात्मक अर्थ नराख्दोरहेछ । यसका लागि भुइँ तहका महिलाले भोगिरहेको यथार्थबारे घोत्लिन आवश्यक रहेछ । गणतन्त्रअघि र पछिका महिला हिंसाका घटनाहरुको तुलनात्मक विश्लेषण जरुरी पर्ने रहेछ ।

यस आलेखमा महिला हिंसाका घटनाको तुलनात्मक विश्लेषण गरिएको छैन । बरु यहाँ केही राजनीतिक परिस्थितिको चित्रण मात्र गर्न खोजिएको छ, जुन वस्तुगत परिस्थितिको मार नेपाली महिलाहरुले नराम्रोसित खेपिरहनुपरेको छ ।

वैदेशिक रोजगारीको कहर

वैदेशिक रोजगारीको सोझो असर महिला र वालवालिकामाथि परेको छ । ४० औं लाख युवा वैदेशिक रोजगारीमा जाँदा नेपालको श्रमशक्तिमात्रै बाहिरिएको छैन, कसैका श्रीमान बिछोडिएका छन्, कसैका प्रेमी बाहिरिएका छन्, कसैका श्रीमती विदेशिएका छन् । कसैका बाबु र कसैका छोरो परिवारबाट टाढा बनेका छन् । घर-घरमा बुहारीहरुले श्रीमानको अभावमा बुहार्तनको थप पीडा सहनुपरेको छ ।

बिहे गरेर रमाउने उमेरका पति विदेश जाँदा त्यसले महिलामा उत्पन्न गर्ने मनोवैज्ञानिक असर पीडादायी छ । यस्तो पीडा नेपालका लाखौं महिलाले व्यहोर्नुपरिरहेको छ । यो प्रशंग किन पनि उल्लेख्य छ भने देशमा रोजगारीको वातावरण नहुनु र युवाहरु विदेशिनुपर्ने परिस्थितिको प्रत्यक्ष शिकार महिलाहरुले हुनु पर्दोरहेछ । संविधानमा जतिसुकै समान अधिकारको कुरा लेखिए पनि देशमा उद्योगधन्दाको विकास र अर्थतन्त्रमा सुधार नहुँदासम्म महिलाहरुमाथि न्याय नहुँदोरहेछ ।

श्रीमान-श्रीमती लामो समय आपसमा छुटेर बसेपछि समाजका कामुक पुरुषहरुले एक्ली महिलालाई पापी नजरले हेर्ने गर्छन् । यो अवस्थामा एक्ली महिलाले पाइला-पाइलामा असुरक्षित हुनुपर्छर् र कतिपय अवस्थामा त बलात्कृत हुनुपर्ने र मारिनुपर्ने घटनासमेत हुने गरेका छन् । परिवारिक विश्रृंखलताले देशमा विभिन्न प्रकारका सामाजिक समस्या निम्तिने क्रम झन्झन् बढिरहेको छ ।

विगतमा गोर्खा भर्तीले नेपाली महिलालाई यस्तै मनोवैज्ञानिक पीडा दिने गरेको थियो । यौवनावस्था छउञ्जेल श्रीमानको छुट्टी पर्खेर बस्नुपर्ने स्थिति थियो लाहुरे परिवारका महिलामा । अहिले खाडी मुलुकको रोजगारीले त्योभन्दा धेरै ठूलो पैमानामा लाखौं महिलालाई त्यस्तै मनोवैज्ञानिक पीडा दिइरहेको छ । वैदेशिक रोजगारीको असर महिलामा नै सबैभन्दा बढी परेको यथार्थ हो यो ।

हामीले माथि नै भनिसकेका छौं, जुन देश गरीवी र बेरोजगारीले आक्रान्त हुन्छ, त्यसको सबैभन्दा बढी मार महिलाहरुमाथि पर्छ । त्यसको असर पुरुषमा पनि पर्छ, तर बढीचाहिँ महिलाले पीडा भोग्नुपर्ने हुन्छ ।

सिरिया युद्धबाट उत्पन्न शरणार्थी समस्याको मार पुरुषहरुले पनि भोगेकै छन् । तर, त्योभन्दा कैयौं गुना बढी यौन हिंसा, बलात्कार, महिला बेचबिखन र विभिन्न देशमा लगेर यौन दासी बनाउने उत्पीडनको शिकार चाहिँ सिरियाका महिलाले भोगिरहेको यथार्थ बिर्सन मिल्दैन ।

नेपालमा वैदेशिक रोजगारी मात्र होइन, स्वदेशी रोजागारीमै पनि महिलाले प्रताडीत हुनु परेका धेरै दृष्टान्त छन् । ०४६ सालको परिवर्तनपछि देशका उद्योगधन्दा चौपट बने । त्यससँगै गाउँका मानिस जीवन निर्वाहको खोजीमा शहर पस्न बाध्य भए । कृषिमा आधारित उपभोगमुखी गाउँले अर्थव्यवस्था ध्वस्त भयो । किसानहरु शहरिया श्रमिकमा फेरिन थाले । ठीक त्यहीबेला ०५२ सालदेखि माओवादीले सशस्त्र गतिविधि सुरु गरेपछि गाउँहरु चरम संकटमा परेर चौपट बने ।

गाउँका महिला सुरुमा गलैंचा कारखानामा काम गर्न शहर पसे । कतिपयलाई काम लगाइदिने बाहनामा गाउँबाटै उठाएर दलालहरुले भारतका कोठीमा बिक्री गरे । स्वदेशकै सहरमा पनि गाउँले युवतीमाथि चरम शोषण हुन थाल्यो । सस्तोमा काम लगाउने, कार्यस्थलमा यौन शोषण गर्ने, डान्स बारहरु खोलेर महिलाको अस्मिताको व्यापार गर्ने धन्दा नेपालका विभिन्न शहरमा माओवादी द्वन्द्वकालभरि मौलाइरह्यो । त्यसको अवशेष अझै बाँकी छ शहरहरुमा ।

यो संकटकै वीचमा आर्थिक मुक्तिको खोजीमा नेपाली चेलीहरु वैदेशिक रोजगारीमा जान थाले । उनीहरु त्यतै लुटिए । ठगिए । परिवार चौपट बन्यो । क्षतविक्षत बन्यो । यो घाउ, अहिलेसम्म निको भएको छैन ।

यसवीचमा गणतान्त्रिक सरकारले कतिपय देशमा महिलालाई रोजगारीमा जान प्रतिबन्ध लगायो । तैपनि महिलाहरु जाने क्रम रोकिएन/रोकिएको छैन । रोकियोस् पनि कसरी ? देशमा न रोजगारीको वातावरण बनेको छ, न त महिलालाई हेर्ने पुरुषवादी नजरमा नै कुनै परिवर्तन आएको छ । यसमा अर्को तर्क पनि छ- महिलाले काम गर्न जान पाउनुपर्छ, पुरुषसरह काम गर्ने अधिकार पाउनुपर्छ भन्ने ।

महिलालाई हेर्ने नजर

महिलाले समाजमा समान अधिकार, न्याय र सम्मान प्राप्त गर्नका लागि देशभित्र रोजगारीको सिर्जना र अर्थतन्त्रको विकास त अपरिहार्य छ नै । तर, यतिले मात्र पुग्दैन । जबसम्म पुरुषले महिलालाई समदृष्टिले हेर्दैन र घुरेर हेर्छ, त्यतिबेलासम्म महिलाले न्याय र समानताको महसुस गर्न सक्दैनन् ।

देशमा गणतन्त्र आएको छ, संविधानले महिलालाई अधिकार पनि दिएको छ । तर, पुरुष प्रधान समाजले महिलालाई हेर्ने पुरानो सामन्ती नजरमा खासै सकारात्मक परिवर्तन आएको छैन ।

गीतकार कृष्ण केसीको शब्दमा बसन्त थापा र लक्ष्मी मल्लले गाएकोे दोहोरीका अरु शब्द जस्तासुकै भए पनि एउटा अन्तराले चाहिँ ठीकै प्रश्न उठाएको छ । टिकटकलाई राम्रैसँग तताएको सो अन्तरामा लक्ष्मी मल्लले गाएकी छिन्-

‘त्यो मान्छेले हेरेको हेर्यै छ,
मेरो जीउमा त्यस्तो चिज के रै’छ ?
सिरुपाते जुँगामा टोपी ढाकैको….’

महिला-पुरुषको आपसी नजरका सम्बन्धमा श्रीमद्भागवतमा अर्को एउटा रोचक प्रशंग छ ।

व्यास ऋषिका छोरा शुकदेवजी कतै गइरहेका थिए । एकान्त बाटो छेउको कुवामा एउटी युवती नुहाइरहेको अवस्थामा भेटिइन् । युवतीले शुकदेवजीको आगमनप्रति कुनै पर्वाह गरिनन् । शुकदेवले पनि चासो दिएनन् ।

लगत्तै त्यही बाटोमा शुकदेवजीका पिता व्यास देखा परे । युवतीले व्यासलाई देख्नासाथ लजाउँदै हत्तपत्त कपडाले अर्धनग्न शरीर ढाकिन् ।

शुकदेवलाई देख्दा तिमीले कुनै प्रतिक्रिया जनाइनौ, तर मलाई देख्नासाथ किन यसरी लजाएकी ? व्यासको जिज्ञासामा युवतीबाट जवाफ आयो, शुकदेवजी समदर्शी हुन्, उनी नारी र पुरुषलाई समान नजरले हेर्छन्, त्यसैले उनलाई देख्दा मलाई लाज लागेन । तर, तपाईको हेराइ समदर्शी छैन, त्यसैले… ।

महिलामाथिको असभ्य पुरुष-नजरबारे चर्चा गर्दा ज्योति मगरको प्रशंग पनि छुटाउन मिल्दैन ।

नेपालका ‘फर्मल’ वा ‘इनफर्मल’ मिडियामा गायिका ज्योति मगरको छोटो पहिरनबारे खुबै चर्चा हुने गरेको छ । यसक्रममा आफूलाई सभ्य ठान्ने ‘भद्र सज्जनवृन्द तथा महिलाहरु’ ले ज्योति मगरलाई आलोचना र गालीसमेत गरेको सुनिन्छ ।

तपाई हामी अमेरिका, युरोप वा एशियाकै विभिन्न देशहरुमा घुम्न गयौं भने ज्योति मगरले लगाएको जस्तो छोटो लुगा जुनसुकै महिलाहरुले लगाइरहेका हुन्छन्, त्यहाँ अरुले लगाएको लुगाको बारेमा कसैले व्यक्तिगत टिप्पणी गर्दैन । अरुको पहिरनको बारेमा चर्चा गर्नु असभ्यता मानिन्छ ।

पश्चिमा मुलुकमा मात्रै किन ? नेपालमै हेरे पनि हुन्छ । नेपालीकै घरघरमा, सहरहरुमा युवतीहरु सजिला लुगा लगाएर स्वच्छन्द तरिकाले हिँड्न थालिसकेका छन् । तैपनि पुरानो मानसिकता बोकेका पुरुषहरु महिलाका लुगाको साइज नापेर बसिरहेका छन् । यो एउटा असभ्यताको दृष्टान्त हो । जसले ज्योति मगरको लुगाको विषयमा टिप्पणी गरेर बस्छ, उसले या त संसारको सभ्यतालाई चिनेको छैन, या त आफैंभित्रको असभ्यतालाई देखेको छैन ।

महिलाको लुगाको साइजलाई हेरेर अश्लीलताको परिभाषा गर्न खोज्ने पुरुषहरुलाई ओशो रजनीशले ठीकै जवाफ दिएका हुन् । आशोको भनाइ के छ भने छोटा लुगा लगाएर स्वच्छन्द रुपमा हिँड्ने युवतीहरु अश्लील होइनन्, बरु उनीहरुलाई हेरेर जिब्रो पड्काउने वा आँखा तन्काउने पुरुषहरु चाहिँ अश्लील हुन् । ओशोले आफ्ना चर्चित दुई प्रवचन ‘युवक र यौन’ अनि ‘नारी र क्रान्ति’ मा अश्लील पुरुषको धज्जी उडाएका छन् ।

महिलाको पहिरनलाई लिएर टिप्पणी गर्ने अनि चौबाटामा बसेर महिलाको शरीर ‘हेरेको हेर्यै’ गर्ने पुरुषहरुले ओशोका यी रचना एकचोटि पढेको खण्डमा आफू कति असभ्य रहेंछु भन्ने तत्वज्ञान थाहा पाउन अवश्यै सहयोग पुग्नेछ ।

हामी जतिसुकै आधुनिकतामा प्रवेश गरे पनि हाम्रो समाजमा महिलाको फरियामा आँखा झुण्ड्याएर हिँड्ने पुरुषहरुको कमी छैन । ओशोले यहाँनेर ठीकै भनेका हुन्, भारतवर्षमा कैयौं पुरुषहरुको जीन्दगी महिलाकै बारेमा सोचेर वा उनीहरुको पछाडि दौडिएरै बित्ने गरेको छ ।

यदि पुरुषले महिलालाई समदृष्टिले हेरिदिने हो भने यसबाट महिलाले हिंसाको सिकार हुनुपर्ने थिएन । र, त्यो पुरुषको उर्जा पनि सकारात्मक ठाउँमा, मानव समुदायको हितमा प्रयोग हुन सक्थ्यो ।

पुरुषले महिलालाई समदृष्टिले हेर्न नसकेकै कारण कार्यस्थल वा सार्वजनिक स्थलहरुमा महिलामाथि यौनहिंसाजन्य व्यवहार हुने गरेका हुन् । काठमाडौंका गल्लीहरुमा महिलाले साँझपख एक्लै-दोक्लै हिँड्दा जंगली आक्रमणको शिकार हुनुपरेको कारण पनि यही हेराइको समस्याले गर्दा नै हो ।

केही अन्तरविरोधपूर्ण अवस्था

लैङ्गिक समानताको प्रश्नमा नेपाली समाज केही अन्तरविरोधपूर्ण अवस्थामा जेलिएको छ ।

प्रथमतः नेपाली समाज तीव्र गतिमा आधुनिकीरणतर्फ अगाडि बढिरहेको छ । नेपाली महिलाहरु चेतना र फेसन दुबै हिसाबले आधुनिकतातर्फ तीव्रगतिमा दौडिइरहेका छन् । तर, आफ्नै घरभित्रका पुरुषहरुले महिलामा आएको यो सामाजिक क्रान्तिलाई पचाउन नसक्दा विरोधाभाष देखा परेको अवस्था छ । घरभित्रको आधुनिकीकरणमा पुरुषहरु बाधक बन्न थालेको अवस्था छ ।

जस्तो- बाबु वा दाजु सडकमा निस्कन्छ र अरुका छोरीचेलीले छोटो लुगा लगाएको विषयमा चियोचर्चो गर्छ । तर, उसकै घरबाट हाफपाइन्ट वा कट्टुमात्रै लगाएर छोरी चेली हिँड्न थालिसकेको चाहिँ उसले बिर्सन्छ । पुरुषले हाफपाइन्ट लगाएर बजार डुल्न हुन्छ भने महिलाले किन नहुने ? हाम्रो पुरुषप्रधान समाजले मानव सभ्यताको यो गतिलाई आत्मसाथ गर्न सकिरहेको छैन । एउटा अन्तरविरोध यहीँनेर छ ।

दोस्रो- यौन सम्बन्धलाई हेर्ने हाम्रो सामाजिक दृष्टिकोणमा पनि चरम अन्तरविरोध छ । जस्तो- रेडलाइट एरिया खोल्नु ठीक कि बेठीक ? लिभिङ टुगेदरलाई वैधानिकता दिनु उचित हुन्छ कि गलत ? विवाहपूर्व सहमतिमा हुने यौनसम्बन्धलाई गम्भीर अपराध मान्ने कि सामान्य नैतिक प्रश्नमात्रै ठान्ने ? सहमतिमा हुने विवाहेत्तर शारीरिक सम्बन्धलाई लिएर तत् जोडीलाई कस्तो कारवाही गर्ने या नगर्ने ? कुनै महिला र पुरुष रात बिताउन आपसमा सहमत भएर होटलमा गएको अवस्थामा प्रहरीले रेड हान्ने या त्यसलाई उनीहरुको व्यक्तिगत मामिला ठान्ने ? यस्ता विविध प्रश्नहरुको एउटै र सपाट उत्तर नेपाली समाजसँग छैन ।

यसको समाजशास्त्रीय कारण के हो भने नेपाली समाज यतिबेला आधुनिकतावाद र परम्परावादको भीषण संक्रमणबाट गुजि्रइरहेको छ ।

तेस्रो- हाम्रो समाजका पुरुषहरुमा एकल महिला, सम्बन्धविच्छेद गरेर बसेका महिला वा विहे नै नगरी बसेका महिलालाई हेर्ने नजरमा निकै ठूलो दृष्टिदोष छ । एकातर्फ श्रीमानको मृत्यु भएपछि प्रयाः बिहे नगरी बस्ने महिलाहरुमा पुरातन सोचाइ छ, अर्कातिर त्यस्ता एकल महिलामाथि ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्न खोज्ने पुरुषहरुको बिगबिगी छ । यही कारणले गर्दा एकल महिलाले पलपलमा पुरुषहरुसँग टाढिएर हिँड्नुपरेको पीडा सुन्ने गरिएको छ ।

एकातर्फ यही पुरुषवादी समाजले एकल महिला सकभर बिहे नगरी बसेको हेर्न चाहन्छ । अर्कातर्फ, तिनै एकल महिलामाथि ऊ आफैं खराब नियतले हेर्छ । यस्तो विरोधाभाषसँगै अधिकांश पुरुषहरुमा के भ्रम छ भने यौवनावस्थामा एकल बनेकी ती महिला कमजोर हुन्छिन् ।
एकल महिलाको हकमा मात्रै होइन, श्रीमान विदेश गएको अवस्थामा एक्लै घरबार चलाइरहेका महिलाहरुको हकमा पनि हाम्रो पुरुषवादी समाजको नजर त्यही प्रकारको छ । पुरुषहरुको यो भ्रमका कारण समाजमा महिलाहरुले असुरक्षा महसुस गरिरहनुपरेको छ ।

महिलासम्बन्धी स्कुलिङ

नेपाली समाजमा महिलालाई हेर्ने विभिन्न प्रकारका ‘स्कुल अफ थट’ (विचारधाराहरु छन्) । तीमध्ये एउटा कम्युनिष्ट स्कुलिङ हो । एउटा हिन्दु विधिशास्त्रीय स्कुलिङ हो । एउटा जनजातीय अर्थात प्रथाजन्य स्कुलिङ पनि छ । पछिल्लो विचारधारा नारीवाद पनि हो । यसका साथै एलिट क्लासको बेग्लै स्कुलिङ छ । व्यवहारिक रुपमा हेर्दाखेरि व्यवहारवादी प्रयोग सबैभन्दा ठूलो स्कुलिङ हो । नेपाली कांग्रेसले विकास गरेको महिलासम्बन्धी आफ्नै प्रकारको संस्कार पनि छ ।

यस आलेखमा यी सबै विचारधाराको विश्लेषण नगरी चर्चामात्रै गर्ने प्रयास गरिएको छ । कम्युनिष्टहरुले महिलालाई समान अधिकारको वकालत गरेको र यसले सकारात्मक योगदान दिएको भएता पनि कम्युनिष्ट पार्टीभित्रै महिलामाथि उत्पीडन हुने र यौन हिंसाको शिकार हुनुपर्ने स्क्याण्डलहरु हुने गरेका छन् । हिन्दु समुदायमा नारीलाई देवी मान्ने र नारीलाई विभेद गर्ने दुबै अवस्थाहरु पाइन्छन् । नेपालका किरात लगायत जनजातिहरुले अभ्यास गरेको संस्केतिमा चाहिँ महिलाले मातृसत्ताको उपभोग गर्ने र बढी महिला अधिकार उपभोग गर्ने गरेको मान्यता छ । तथापि जनजाति आन्दोलनमा लागेका महिलाहरुले यदाकदा यौन हिंसाको शिकार भएका घटनाहरु पनि छन् ।

त्यसैगरी नारीवादी स्कुलले विद्रोहस्वरुप पुरुषजातिको कडा विरोध गर्ने गरेको छ । यसका सकारात्मक र स्वाभाविक परिणामहरु छन, महिला अधिकारको आन्दोलनमा । यसका साथै मिटु अभियानले कामुक पुरुषहरुको मुटुमा ढ्यांग्रो बजाएर रामै्र काम गरेको छ । यो हतियारको दुरुपयोग भएन भने मिटु अभियानले महिलाको आत्मसम्मान बचाउन सहयोग गर्नेछ ।

जहाँसम्म नेपाली समाजको व्यवहारवादी स्कुल हो, योचाहिँ निकै रमाइलो र फराकिलो छ । यो व्यवहारवादी थ्यौरी अनुसार एक जना नेपाली चेली होलीमा भाङ खाएर हिँड्न सक्छिन् । र, तीजमा साडी लगाएर ब्रत बस्न पनि सक्छिन् । बिहे गर्न पनि सक्छिन्, एक्लै बस्न पनि सक्छिन् । उनले पुरुषलाई माफी दिन पनि सक्छिन्, कारवाही गराउन पनि सक्छिन् । यसखालको फराकिलो अधिकार र स्वतन्त्रतासहितको सकारात्मक नेपाली समाज पनि सतहमा विकसित हुँदै आइरहेको छ । र, यस्तो स्वच्छन्दतालाई विस्तारै समाजले पचाउँदै जान थालेको छ ।

निश्कर्ष,

निश्कर्षमा के भन्न सकिन्छ भने मुलुकलाई वैदेशिक रोजगारीको कहरबाट बाहिर ननिकालेसम्म महिलामाथि वास्तविक न्याय हुन सक्दैन । देशमा बेरोजगारी बढ्यो र परिवारको जीवन कष्टप्रद हुँदै गयो भने समाजमा महिलामाथिको असुरक्षा बढ्छ । गरीवीका कारण महिलाले हरेक ठाउँमा सम्झौता गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । महिलाहरु आत्मनिर्भर बन्न सक्नुपर्छ । देशमा यसरी आर्थिक उन्नती नहुँदासम्म महिलाहरु निर्वाचित भएर सत्तामा पुग्गेका भरमा मात्रै समानता प्राप्त हुँदैन ।

यसका अतिरिक्त आर्थिक उन्नतिले मात्र महिलाहरुले समन्याय पाउन सक्दैनन्, पूर्ण समानताका लागि पुरुषले महिलालाई हेर्ने नजरमा समदृष्टि अपरिहार्य छ । अन्यथा, सिंहदरबारभित्रै महिलामाथि खराब नजरले हेर्नेहरुको बिगबिगी हट्नेवाला छैन । सरकारी कर्मचारी, पत्रकारिता, सेना-प्रहरी, राजनीति वा कर्पोरेट क्षेत्र जहाँसुकै यो लागू हुन्छ ।

यस्तो बेलामा खासगरी महिला-पुरुषको सम्बन्ध र महिला अधिकारका सवालमा स्वस्थ सामाजिक बहस भयो भने यसबाट समाजलाई सकारात्मक बाटोमा अगाडि बढाउन सकिन्छ । महिलाको पहिरनजस्तो नितान्त व्यक्तिगत विषयमा पुरुषहरुले चियोचर्चो नगर्ने हो र अरुको फरियाका पछाडि नदौडिने हो भने महिलाले शान्ति र समानताको स्वतः महसुस गर्न थाल्नेछन् ।

अन्त्यमा, हामीले यो पनि भुल्न हुँदैन कि नेपाली समाजमा महिलामाथि विभेद मात्र छैन, सम्मान पनि हुने गरेको छ । हिन्दु सभ्यता होस् वा नेपालको मौलिक जनजातीय सभ्यता, दुबैमा नारीहरु पूज्य मानिन्छन् । राजनीतिक दलहरुले त झनै महिला अधिकारको कुरा गरेकै छन् । हामीले समाजमा विद्यमान नारीलाई सम्मान गर्नेखालका यस्ता परम्परालाई बचाउनु र प्रोत्साहित गर्नुपर्छ ।

र, सबै पुरुषहरुले एकचोटि ममः भन्नैपर्छ ।

-onlinekhabar

Write your Comment




saturday2