शीतल निवासको नाचगान र नीरोको बाँसुरी

जनजीवनको बिचल्लीमा सत्तासीनहरुको खुसियाली र रङ्गरउस कुन संस्कार संस्कृतिको उत्पादन होला ?

रातोघर

 १ श्रावण २०७६, बुधबार २०:५८  मा प्रकाशित

केही वर्षअगाडिको कुरा हो । हाम्रो उत्तरी छिमेकी मुलुक चीनमा जनताका दुःखमा सम्वेदनशील हुन नसके बापत एक जना प्रभावशाली मन्त्रीको जागीर खुस्केको समाचार प्रकाशमा आएको थियो । मैले समाचारमा प्रकाशित तिथिमिति र सम्बन्धित मन्त्रीको नाम नोटबुकमा टिपेको पनि थिएँ । अहिले मेरो आफ्नो  सम्झनामा रहेसम्म चीनका तत्कालीन ती मन्त्री कसैको मुत्युमा समवेदना व्यक्त गर्ने क्रममा थिए । मृतकका शोकाकुल परिजनहरुप्रति समानुभूति देखिनुपर्ने मन्त्रीका मुहारमा अचानक मुस्कान देखिएको थियो । यसो हुनु अपराध मानियो । उनी दण्डित भए ।

मैले अपराध र दण्डको यस घटनालाई अविस्मरणीय ठानेँ र सोचेँ, यहाँ हामीकहाँ त यस्ता अपराध बाटोमा सुकाइने बिस्कुन बराबर जताततै देख्न पाइन्छन् । दुःखी जनप्रति सम्वेदनशीलता र जनताप्रति दायित्वबोधको चलन हाम्रा सत्तासीनहरुमा भएको अद्यावधि देख्न पाइएको छैन ।

रोम शहरमा आगो लागेर जनतामा हाहाकार मच्चिँदा बादशाह नीरो आफ्ना दरबारको बारदलीमा बसेर मजाले बाँसुरी बजाइ रहेको थियो । बजाइ नै रह्यो । यो हामी नेपालीले पनि सुनेको कथा हो । हामीकहाँ आज पनि सम्वेदनहीनताको बिम्ब रोमन बादशाह नीरो नै छ । यद्यपि हाम्रा सन्दर्भमा यो दृष्टान्त पटक पटक फिका बनिसकेको  पनि छ ।

हामीले विगत भयानक भूकम्पपछिका उद्धारकार्य र राहत वितरण सन्दर्भमा पनि धेरै नीरोहरु देख्यौं । कति विदेशीले नेपाली जनताका आपत्विपत्लाई आफ्ना धर्मप्रचारको सुनौलो मौका बनाए । यो पनि कम्ताको नीरो प्रवृत्ति थिएन ।

कति धनवान् र ठानमानवानहरुले राहतवितरणका वहानामा आफू शानदार दाता बनेको पोज दिएर पीडित जनलाई दानजीवीका तहमा होच्याउने दृश्यविधानका फोटोहरु खिचाएर फेसबुकमा राखे । कतिले पीडितका नाममा विभिन्न दाताले दिएका खाद्यसामग्री र निर्माणसामग्रीका ट्रकहरु आफ्नै महलका पर्खाल भित्र पुर्‍याए । यसो गर्नेमा तत्कालीन प्रभावकारी मन्त्री र मन्त्रीका सहयोगीहरु पनि थिए । प्रकारान्तरले यो पनि नीरो संस्कृति नै थिएन र ?

नेपालका सत्तासीनहरु बादशाह होइनन् र पनि नीरोका शाही शानका सौखीन छन् । हाम्रो मुलुकको सत्तामा आज पनि अधिकांश नीरोहरुकै जमघट छ । अपढ गाउँलेहरु त कमलो मनका हुन्छन् । अर्काको दुःख देखेपछि आँखाभरी आँसु छचल्किन्छन् । ती नीरो हुन सक्दैसक्दैनन् । तर सत्तासीनहरुमा यो नियम लागु हुने गरेको पाइँदैन । सत्तासीनहरु पढेका हुन् वा नपढेकै किन नहुन् ती नीरो हुन सक्छन् । राष्ट्रपति, उपराष्ट्रपतिहरु, मन्त्रीप्रधानमन्त्रीहरु, पढेलेखेका बुद्धिजीवीहरु, कवि लेखकहरु र राष्ट्रकवि नै पनि नीरो संस्कृतिका अनुयायी बन्न सक्छन् । सम्माननीय राष्ट्रपतिको बादशाही मानसिकता त यस क्षेत्रमा चर्चित नै छ ।

*******

जनजीवन बिल्लीबाठमा परेको यस घडीमा मुलुकका राष्ट्रपतिले गायन र नृत्यका कलाकारहरु जुटाएर महलको पटाङ्गिनीमा नाचगानको आयोजना गर्न सक्नु भएको समाचार सुनिनु, भोजभतेरको आयोजना गर्न सक्नु भएको र श्रव्यदृश्यका आनन्द उपभोग गर्न सक्नु भएको समाचार सुनिनुले श्रोताका मनमा कस्तो दृष्टान्त उभिने ?

*******

अहिले मुलुकभरी बाढीपहिरोको आतङ्क छाएको छ । दर्जनौँ नागरिक मरेका छन् । कति हराएका छन् । लाखौंंको उठिबास छ । यसरी जनजीवन बिल्लीबाठमा परेको यस घडीमा मुलुकका राष्ट्रपतिलाई सहभागी गराएर गायन र नृत्यका कलाकारहरु जुटाएर महलको पटाङ्गिनीमा नाचगानको आयोजना गरिएको समाचार सुनिनु, भोजभतेरको आयोजना गरिएको र श्रव्यदृश्यका आनन्द उपभोग गरिएको समाचार सुनिनुले श्रोताका मनमा कस्तो दृष्टान्त उभिने ? राष्ट्रिय अवार्ड वितरण वा जुनसुकै नाममा किन नहोस, पीडाका क्षणमा पीडितहरुका लागि नाचगीतका मनोरम भनिने श्रव्यदृश्य पनि हृदयविदारक नै लाग्छ । जनजीवनको बिचल्लीमा सत्तासीनहरुको खुसियाली र रङ्गरउस कुन संस्कार संस्कृतिको उत्पादन होला ? रोमन बादशाह नीरोले त बाजा मात्र बजायो । नाचमण्डली झिकाएर महलमा छमछमी त नचाएन ।

के राष्ट्र विपतमा डुबेको बेला यस्ता नाँचगान मनोरञ्जनले भरिएका कार्यक्रमलाई पन्छाउन वा पछि सार्दामा आकाश नै खसिहाल्थ्यो, पहाड नै झरिहाल्थ्यो ? त्यसमा राष्ट्रपतिका इच्छा अनिच्छाको त थाहा भएन, तर के राष्ट्रको मानो खाएर उनलाई सल्लाह दिन बसेका सल्लाहकारहरुले पनि त्यस्तो सल्लाह दिन मिल्दैन थियो ?

मुलुकमा जनताको बिचल्ली हुँदा रथारोहणको सम्मानमा लट्ठिने हाम्रा राष्ट्रकवि पनि कस्ता राष्ट्रकवि ? हामीले राष्ट्रकविका रुपमा पनि सम्वेदनाको प्रतिमूर्ति नै भेट्टाएछौं !  हाम्रा साहित्य र कला फाँटका धुन्धर प्रतिभाशाली सहृदय जनहरु कतिले जनबिचल्लीका यसै अवसरमा विभिन्न समारोहमा सरिक भएर सम्मान थापेका र रमाएका सचित्र समाचारहरु पनि पढ्न पाइए ।

मुलुकमा बाढीपहिरोले जनताको बिचल्ली भएको बेला सक्नेले विपत्ग्रस्तहरुको स्थलगत उद्धारमा लाग्ने, राहत पुर्‍याउनमा लाग्ने, नसक्नेले चिन्ता गर्ने, सक्नेलाई क्रियाशील हुन अनुरोध गर्ने मानवीय कर्तव्य नै ठानिआइएको होइन र ? यी सबै बिर्सेर हामीले समारोह आयोजत गराएर सम्मानको आदानप्रदनको भव्यतामा लाग्न सुहाउँछ ? हृदय र सम्वेदनाका दृष्टिले प्रश्न मर्मवेधी नै छ । हामी साहित्य कलालाई सम्वेदनाको क्षेत्र भन्छौैं । साहित्यकार र कलाकारलाई जनताका मार्गदर्शक ठान्छौं । मोडेल ठान्छौं । राजनीतिलाई जनसेवाको क्षेत्र ठानेका थियौं । जनताको प्रतिनिधित्व गरेर सत्तामा उक्लेका राजनेताहरुलाई हामी जनताले जनताप्रति दायित्ववोध बोकेका जिम्मेवार व्यक्तित्व ठानेका हौं । जनताको दुःखमा सहानुभूतिशील नभएका कवि के कवि ? के कलाकार ,? जनताको दुःखमा दुःखी भएर तदारुकताकासाथ सहयोगमा जुट्न नसकेका जनप्रतिनिधि के जनप्रतिनिधि ? यो प्रश्न आज जनतामा गुन्जायमान छ ।

 

अन्तमा  भानुजयन्तीको सन्दर्भ ।

नेपालमा भानुजयन्ती मनाउनु नेपाली साहित्यमा भानुभक्तले पुर्याएको योगदानप्रतिको कृतज्ञता व्यक्त गर्नु हो । कृतज्ञता लोकतन्त्रको सुन्दरतम संस्कृति नै पनि हो । सन्जोगले यस पटक बाढीपहिरो उर्लेको बेलामा भानुजयन्ती परिदियो । उपस्थित हुन सकेका भए भानुभक्त पनि रुन्थे होलान् । बेथिति देखेर एक दुइटा कविता पनि सुनाउँथे होलान् । कविता सुनाउँदा  एउटा श्लोक यस्तो पनि सुनाउँदा हुन् कि ?

एक्थोक् भन्छु नमान दुःख तिमीले हे मित्र सत्तापति,

तिम्रा मन्त्री र भारदारहरु यी भ्रष्टै रह्याछन् अति ।

देशै खान नहच्कन्या, मिलिदिया, चौतर्फ गन्र्या खती

क्या गर्छौ अव खै सुकर्म जगमा राखेर यी दुर्मति ?

साभार : रातोपाटी डटकम

Write your Comment




saturday2