२० रुपैयाँ चोरीको मुद्दामा ४१ वर्षपछि सफाइ

रातोघर

 ४ श्रावण २०७६, शनिबार १०:३०  मा प्रकाशित
४०९ पाठक संख्या



काठमाडौं ।

भनिन्छ, यदि कसैलाई दुख दिनुछ भने अदालतमा मुद्दा हालिदिए पुग्छ । हाम्रो अदालतले सेवाग्राहीलाई कति दुःख दिन्छ भन्ने कुरा त मान्छे मरिसक्दा पनि मुद्दाको किनारा लागि नसकेका नजिरहरुबाटै प्रष्ट हुन्छ ।

छिमेकी मुलुक भारतको हालत पनि यसभन्दा कहाँ राम्रो छ र ? भारतमा २० रुपैयाँ भारु चोरी गरेको आरोपमा मुद्दा खेपेका एकजना व्यक्तिले ४१ वर्षसम्म अदालतको तारेख खेपेपछि बल्ल सफाइ पाएका छन् ।

यो घटना मध्य प्रदेशस्थित ग्वालियरको हो । स्थानीय लोक अदालतमा यो मुद्दाको फैसला भएको हो ।

स्थानीय बाबुलाल नामका व्यक्तिले सन् १९७८ मा इस्माइल खान नामका व्यक्तिमाथि आफ्नो २० भारु चोरेको भनी उजुरी दर्ता गरेका थिए । चोरीको मुद्दा अदालत पुगेपछि उनी केही महिनामै धरौटीमा रिहा भएका थिए । त्यसपछि उनी नियमित रुपमा अदालतमा तारेख धाउँदै आएका थिए ।

बसको टिकट लिनका लागि लाइनमा लागेको बेला इस्माइलले आफ्नो २० भारु चोरेको आरोप बाबुलालको थियो ।

त्यसबेला बाबुलालको उमेर २० वर्षको थियो । अहिले उनी ६१ वर्षका भैसकेका छन् । त्यस्तै अभियुक्त बनाइएका इस्माइलको उमेर ६८ वर्षको भएको छ ।

४१ वर्षसम्म चलेको उक्त मुद्दाको अन्ततः गत शनिवार लोक अदालतमा फैसला भयो । अदालतले इस्माइललाई सफाइ दिने फैसला गरेको छ ।

इस्माइलले अदालत समक्ष भविष्यमा आफू कुनैपनि नराम्रा काममा नलाग्ने कबुल गरेका थिए । सन् २००४ सम्म उनी नियमित रुपमा अदालतमा तारेखमा आउने गरेका भएपनि त्यसयता तारेख गुजारेर बसेका थिए । गत अपि्रलमा वारेन्ट जारी गरी उनलाई पक्राउ गरी अदालतमा हाजिर गराइएको थियो ।

अभियुक्त इस्माइलको परिवारमा कोहीपनि छैन र उनी एक्लै बस्दै आएका छन् । उनको आर्थिक अवस्था पनि कमजोर छ । उनको अवस्था तथा भविष्यमा अपराध नगर्ने कबुललाई आधार मान्दै अदालतले उनलाई सफाइ दिने फैसला गरेको हो ।

-एजेन्सीको सहयोगमा

Write your Comment