१५ प्रतिशत मानिसमा नाक, कान, घाँटीको क्यान्सर

रातोघर

 ११ श्रावण २०७६, शनिबार १६:०३  मा प्रकाशित
३४३ पाठक संख्या



चितवन ।

नेपालमा हरेक वर्ष ८ सयभन्दा बढी नाक, कान, घाँटीका क्यान्सर रोगी थपिने गरेका छन् । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले दिएको जानकारीअनुसार हरेक वर्ष नाक, कान, घाँटीका क्यान्सर रोगी बढ्दै गएका छन् ।

शनिबार परेको विश्व नाक, कान, घाँटी क्यान्सर विरुद्धको दिवसका अवसरमा अस्पतालले दिएको जानकारीअनुसार पाँच वर्ष अघिसम्म वार्षिक ३ सय जना बिरामीहरू अस्पतालमा उपचारका लागि आउने गरेका थिए । तर, यो संख्या बढ्दो क्रममा छ ।

सन् २०१५ मा क्यान्सरका नौ हजार ७१८ बिरामीमध्ये एक हजार ४९४ नाक, कान घाँटीका रहेका थिए । यसैगरी सन् २०१६ मा १० हजार ७१५ क्यान्सरका बिरामीमध्ये एक हजार ५४१ र सन् २०१७ मा १० हजार ८२९ मध्ये एक हजार ५५९ नाक, कान घाँटीको क्यान्सरका बिरामी अस्पताल भर्ना भएका थिए । सन् २०१८ को तथ्यांक संकलन जारी रहेको चिकित्सकहरु बताउँछन् ।

नाक, कान, घाँटीको क्यान्सरको चर्चा अन्य क्यान्सरको तुलनामा कम भएको पाइन्छ तर, सर्जरी नै गर्नुपर्ने अवस्था बढी मात्रामा यही क्यान्सर लागेका बिरामीहरूको हुन्छ ।

अस्पतालका नाक, कान, घाँटी रोग विभागका विभागीय प्रमुख डा.देजकुमार गौतमका अनुसार नाक, कान र घाँटीको क्यान्सरको पहिचान शुरुमै भए बिरामी पनि बाँच्छ र पैसा पनि कम खर्च हुन्छ । तर, झण्डै ७० प्रतिशत नाक, कान, घाँटीको क्यान्सर भएका बिरामीहरू तेस्रो र चौथो स्टेजमा अस्पताल आउने गरेका छन् । उनीहरुलाई अनिवार्य अप्रेसन, केमोथेरापी र रेडियोथेरापी दिनुपर्ने हुन्छ । पहिलो र दोस्रो स्टेजमा निकै कम मात्रै विरामी अस्पताल आउने गरेको डा. गौतम बताउँछन् ।

रोग पत्ता लागेर चाँडो उपचार गर्न सके ५ हजार रुपैयाँमै यो रोग निको हुन्छ । सामान्यतया ३० देखि ५० वर्षका मानिसमा नाक, कान, घाँटीको क्यान्सर देखापर्ने गरेको छ । तर, पछिल्ला वर्षहरुमा २२ वर्षकै उमेरमा समेत यो रोग देखा परेको डा. गौतमले जानकारी दिए । यसबारे जनचेतना जगाउन सरकारले ठूला मास मिडियाहरुको प्रयोग गर्नुपर्ने डा. गौतम बताउँछन् ।

नेपालमा करिब १ लाख मानिसमा नाक, कान, घाँटीको क्यान्सर लागेको अनुमानित तथ्यांक छ । नेपालमा हुने कुल क्यान्सरमा विरामीमध्ये करिब १५ प्रतिशत नयाँ विरामी नाक, कान, घाँटीका हुने गरेका छन् । नाक, कान घाँटीमा हुने क्यान्सरमध्ये ३२ प्रतिशत क्यान्सर मुखमा हुने गरेको पाइन्छ ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल क्यान्सर रोकथाम तथा अनुसन्धान विभागले देशभरका ठूला १२ अस्पतालबाट तथ्यांक संकलन गर्ने गर्दछ । विभागका प्रमुख भोला सिवाकोटीका अनुसार नेपालमा फोक्सो, स्तन, पाठेघरको क्यान्सरपछि नाक, कान घाँटीको क्यान्सर रहेको छ ।

चुरोट, तमाखु, बिँडी, गुट्खा, पानपराग, रक्सी सेवन आदिका कारणले नाक, कान, घाँटीको क्यान्सर हुने गरेको छ भने कतिपयलाई वंशाणुगत कारणबाट पनि हुने गर्दछ । विश्वमा महिलाको तुलनामा पुरुषमा यस्तो क्यान्सर बढी पाइएको छ । पुरुषले बढी धूमपान र मद्यपान गर्ने भएकाले यस्तो भएको चिकित्सक गौतम बताउँछन् ।

घाँटीको क्यान्सर पुरूषमा नै बढी देखापरेको छ । यस्तो क्यान्सर लागेको मानिसको स्वरमा परिवर्तन आउँछ । यस्तो क्यान्सरले बोल्ने र आवाज निकाल्ने अंगमा असर पार्छ । मुखको क्यान्सरमा मुखमा आएको घाउ लामो समयसम्म निको नहुनु, मुखमा अल्सर आउनु, मुख वा जिब्रोमा मासु पलाउनु, दाग-धब्बा आउनु जस्ता लक्षण देखिने डा. गौतमले बताए ।

यस्तै, घाँटीको क्यान्सरको लक्षणमा आवाज धोद्रो हुने, सास फेर्न गाह्रो हुने, खाना निल्न गाह्रो हुने, घाँटी सुन्निने वा डल्लो आउने हुन्छ ।

कानको क्यान्सरको लक्षणमा कान डम्म बन्द हुने, कानबाट रगत आउने र कान नसुन्ने लक्षणहरू देखिने क्यान्सर अस्पतालका विभागीय प्रमुख डा. देजकुमार गौत्तमले जानकारी दिए ।

विश्वमा क्यान्सरहरूको र्‍याकिङमा नाक, कान, घाँटीको क्यान्सर तेस्रो नम्वरमा पर्दछ । भरतपुरको वीपी कोइराला क्यान्सर अस्पतालमा ४ जना नेपाली सर्जन र २ जना चिनियाँ सर्जन चिकित्सकहरूको टोली कार्यरत छ । नाक, कान, घाँटी क्यान्सर दिवसका अवसरमा अस्पतालले आइतबार नाक, कान, घाँटीको ओपीडी निःशुल्क बनाएको छ ।

-onlinekhabar

Write your Comment