नेपालको विश्वकप यात्रा टुंगियो

रातोघर

 १३ श्रावण २०७६, सोमबार १५:२०  मा प्रकाशित
३२६ पाठक संख्या



काठमाडौं । 

आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपालले घरेलु टोली सिंगापुरसँग नमिठो पराजय भोगेको छ ।

आइतवार सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा भएको खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको हो ।

हारसँगै नेपालको विश्वकप यात्रा टुंगिएको छ । प्रतियोगिताको विजेताले आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्न पाउनेछ । यस प्रतियोगिता आफ्नो कब्जामा पार्दै सिंगापुर भने ग्लोबल छनोटमा पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा १९१ रनको योगफल बनाएको थियो ।

१९२ रनको लक्ष्य पछ्याएको नेपाली टोली १५ ओभर १०९ रनमै अलआउट भयो ।

सिंगापुरका लागि सेलाडोरे विजयकुमारले ४ तथा विनोद बसकरणले २ विकेट लिए ।

नेपालले ओपनर कप्तान पारस खड्कालाई शुरूमै गुमायो । उनले १२ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्लले २१ बलमा ३९ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २३ र सोमपाल कामीले ११ रन बनाउनुबाहेक अन्य ब्याट्स्‌म्यानले दोहोरो अंक जोड्न सकेनन् ।

टस जितेर ब्याटिङ गरेको सिंगापुरले विस्फोटक इनिङ खेलेको थियो । २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको सिंगापुरका लागि टिम डाभिडले सर्वाधिक ७७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै रोहनले ४९ रन बनाए भने मनप्रित सिंहले ४२ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि अविनाश बोहराले ४ तथा  करण केसीले २ विकेट लिए ।

lokaantar-

Write your Comment