सन्तानलाई नै रक्सी तस्करीमा लगाउँछन् बिहारका बासिन्दा

रातोघर

 १४ श्रावण २०७६, मंगलवार १९:०२  मा प्रकाशित

जनकपुरधाम।

आमाबुवाले आफ्ना सन्तानतको पालनपोषण गर्दै राम्रो शिक्षा दिएर संस्कार समेत सिकाउने गर्छन् । आफ्ना छोराछोरी गलत काममा नफँसून् र गलत काम नसिकून् भन्ने मनसाय अभिभावकको हुन्छ । तर, नेपालसँगै सिमाना जोडिएको भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाका एक अभिभावकले आफ्ना दुई छोरालाई रक्सी तस्करीमा लगाएको खुल्न आएको छ ।

भारतको बिहार राज्यमा रक्सी बिक्रीबितरण र प्रयोगमा समेत रोक लागेपछि अहिले बिहारका रक्सीप्रेमीहरु नेपाललाई आफ्नो गन्त्व्य बनाएका छन् । यो सँगसँगै बिहारकै कतिपय बासिन्दाहरु नेपालबाट रक्सी तस्करी गर्ने काममा लागेका छन् । आफूसँगै आफ्ना सन्तानलाई समेत रक्सी तस्करीमा लगाउने गरेको तथ्य सोमबार खुलेको छ ।

बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको फुलहर बेलापर्सा वडा नम्बर ९ निवासी एकै परिवारका दाजुभाई नेपालबाट बिहारतर्फ रक्सी तस्करी गर्दैगर्दा नेपाल प्रहरीबाट समातिएका छन् । पक्राउ पर्नेमा १७ बर्षीय राजकिशोर र १६ बर्षीय जयराम मुखिया छन् । यी दुबै जना १२ वटा कार्टुनमा प्याक गरिएको सौंफी रक्सी टाउकोमा बोकेर जाँदै गर्दा धनुषाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका ५ जमुनीघाटस्थित नेपाल–भारत सीमाबाट नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रबक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

‘पक्राउ परेकाहरुको परिवारै रक्सी तस्करीमा लागेको खुल्न आएको छ’ कार्कीले भने, “यी दुईका आमा, बुवा पनि नेपालबाट बिहारतर्फ रक्सी लग्ने गरेको र महँगोमा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”

बिहारमा रक्सी बन्द गरिएसँगै प्रदेश २ का आठ जिल्लाबाट रक्सीको अत्यधिक तस्करी हुने गरेको पाइएको छ । यी आठ जिल्लाका प्रहरी प्रायः दिनहुँ बिहारतर्फ लग्न खोजिने रक्सीहरु बरामद गर्दै आएको छ । सिमामा खटिने प्रहरीसँगै प्रदेश प्रहरी कार्यालय, जिल्ला र बिभिन्न इलाका प्रहरी कार्यालयले रक्सी तस्करप्रति निगरानी बढाएपनि यो क्रम न्यूनिकरण हुन सकेको छैन् ।

सोमबार पनि प्रदेश प्रहरी कार्यालय जनकपुर, ईलाका प्रहरी कार्यालय फुलगामा, सिमा प्रहरी चौकी लगमाजटही र प्रहरी चौकी बहेडाबेलाबाट खटिएको संयुक्त टोलीले यी दुई बालकलाई रक्सी बोकेर लग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

यी दुई बालकको बयानका आधारमा धनुषाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका ५ बस्ने अरुण मदिरा पसलमा छापा मार्दा १७ कार्टुन सोफी नामक रक्सी समेत बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको जम्मा २९ कार्टुन रक्सीसहित पक्राउ परेका बालकद्वयलाई भन्सार कार्यालयमा बुझाइएको डिएसपी कार्कीले जानकारी दिए ।

Write your Comment