उदित नारायण झालाई ज्यान मार्ने धम्की

रातोघर

 १४ श्रावण २०७६, मंगलवार १९:०६  मा प्रकाशित
३६१ पाठक संख्या



काठमाडौं  ।

उदित नारायण झालाई लगातार ज्यान मार्ने धम्की आइरहेको खबर सार्वजनिक भएको छ । गएको दुइ हप्तादेखि लगातार रुपमा धम्कीसहितको फोन आउन थालेपछि उनी प्रहरीकहाँ पुगेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उदित नारायणले मुम्बइको अम्बोली प्रहरी चौकीमा उजुरी गरेका हुन् । उजुरी परेपछि प्रहरीले हाललाई एफआईआर दर्ता नगरी जाँच पड्ताल सुरु गरेको छ । यसैबीच प्रहरीले धम्कीसहितको फोन आउने मोबाइल नम्बर ट्रेस गरिसकेको छ । यो फोन विहारबाट आएको पत्ता लागेकाले प्रहरीको टोली त्यतातिर पठाइसकेको जनाएकाे छ ।

प्रहरी अधिकारी भरत गायकवाडका अनुसार त्यो शंकास्पद नम्बरबाट दुइ हप्तामा कम्तीमा पनि तीन चारपटक फोन आइसकेको छ । प्रहरीले फोन गर्ने व्यक्तिको नाम लक्ष्मण भएको र उनले फोनमा गालीगलौज गरेर ज्यानसम्म मार्ने धम्की दिएका थिए । उनी गालीगलौजमा उत्रिए पनि पैसा माग्ने काम भने नगरेको बताएको छ ।

स्थानीय प्रहरी भन्छ, ‘हामी यस सम्बन्धमा अनुसन्धान गरिरहेका छौँ । गायक उदित नारायणको अंधेरीमा रहेको घर बाहिर प्रहरीको टोली तैनाथ गरिदिएका छौँ । अर्को एउटा टोली भने विहारतर्फ पठाएका छौँ ।’ प्रहरीका अनुसार पहिलोपटक लगभग एक महिनाअघि फोन आएको थियो । यो क्रम गएको जुलाइ १७ तारिखमा दोहोरियो ।

तेस्रोपटक भने जुलाइको २३ तारिखमा फोन आएको फोन रेकर्डमा देखिएको छ । उदित नारायणको घरमा रहेका गार्ड विहारको भएको र उनी केही समयअघि घर जाने क्रममा उनको फोन हराएको थियो । शायद त्यसै फोनबाट उदित नारायणको नम्बर पाएर त्यस व्यक्तिले धम्क्याएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

Write your Comment