ओसामा बिन लादेनका छोरा हम्जा पनि मारिए

रातोघर

 १६ श्रावण २०७६, बिहीबार १४:०२  मा प्रकाशित
१२८४ पाठक संख्या



आतंकवादी संगठन अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको पनि मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले बताएका छन् ।

उनको मृत्यु भएको भनिए पनि मिति र स्थानबारे  खुलाइएको छैन । गत फेब्रुअरीमा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो भने मार्चमा साउदी अरबले उनको नागरिकता खोसेको थियो ।

करिब ३० वर्षका ठानिएका हम्जा बिन लादेनले अमेरिका र अन्य देशमा आक्रमण गरी बदला दिन आग्रह गर्दै भिडिओ र अडिओ रिपोर्ट सार्वजनिक गरेका थिए । उनको मृत्यु भएको समाचार सबैभन्दा पहिले एनबीसी र न्युयोर्क टाइम्सले सार्वजनिक गरेका हुन्।

हम्जाले आफ्ना बाबु ओसामा बिन लादेनको हत्याको बदला लिन आग्रह गरेका थिए। ओसामा बिन लादेन अमेरिकी विशेष फौजद्वारा सन् २०११ मा पाकिस्तानको एबोटाबादमा मारिएका थिए।

हम्जा अलकायदाभित्र आफ्ना बाबुको उत्तराधिकारीका रुपमा उदाइरहेको ठानिन्थ्यो ।

सन् २०११ मा पाकिस्तानस्थित ओसामा बिन लादनेको निवासमा छापा मार्दा बरामद गरिएका दस्तावेजले हम्जा बिन लादेनलाई अल कायदाको नेतृत्व सम्हाल्ने गरी उनलाई तयार पार्दै गरेको देखाएको अमेरिकी विदेश मन्त्रालयको भनाइ छ ।

अमेरिकी फौजहरूले अल कायदाका अर्का वरिष्ठ नेताकी छोरीसँग उनको विवाह भएको भिडिओ फेला पारेको बताइएको थियो ।

उनका ससुरा अब्दुल्लाह अहमद अब्दुल्लाह अथाव अबु मुहम्मद अल–मस्रीले सन् २०१८ मा तान्जानिया र केन्यास्थित अमेरिकी दूतावासमा भएको बम हमलामा उनको संलग्नता रहेको संकेत गरेका थिए ।

अल कायदाले ११ सेप्टेम्बर सन् २००१  मा अमेरिकाको ट्वीन टावरमा हमला गरेको थियो ।

shilapatra-

Write your Comment