भरतपुर कोरोना अस्पतालको कमजाेर व्यवस्थापन

रातोघर

 १२ चैत्र २०७६, बुधबार २०:५७  मा प्रकाशित

 

१२ चैत, काठमाडौं । चैत ६ गते ७२ घण्टाभित्रै ‘भरतपुर कोरोना (विषेश) अस्पताल तयार गरिएको खबर सनसनीरुपमा फैलियो । भरतपुरस्थित अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्रको हलमा केही बेड र केही उपकरणहरु एल्मुनियम पार्टेसन गरेर अस्पतालको बहिरंग (ओपीडी) सेवा सुरू गरिएको थियो ।

सुरुवाती चरणमा यसलाई कोरोनाविरुद्ध लक्षित उद्देश्यप्रतिको ठूलो उपलब्धीका रूपमा लिइयो । तर, अस्पताल सुरु भएको झण्डै एकसाता बित्नै लाग्दा अस्पतालको व्यवस्थापन भने फितलो देखिएको छ । मंगलबार यही अस्पतालमा उपचाररत बिरामी सन्तोष यादवको मृत्यु भएपछि अस्पतालको व्यवस्थापनका सन्दर्भमा विभिन्न कोणबाट प्रश्न उठ्न थालेका छन् ।

आइसोलेसन र क्वारेन्टाइनका लागि उपयुक्त हुने स्थानलाई नै ‘कोरोना अस्पताल’ बनाएको र जबरजस्ती बिरामीहरु भर्ना गरेको भन्ने आरोप लाग्न थालेको छ ।

अहिले अस्पतालमा ५० बेडको ‘जनरल वार्ड’ तयार गरिएको छ । ठूलो हललाई बारेर १०/१० वटा बेड राखिएका छन् । तर, १० वटै बेडका बिरामीले एउटै शौचालय प्रयोग गर्नुपर्छ । आइसीयू र एचडीयू पनि तयारी गरिएको छ । तर, पूर्ण हुन बाँकी छ । कर्मचारी तथा स्वास्थ्यकर्मीको व्यवस्थापन कमजोर छ ।

सुरुवाती चरणमा कोरोना विशेष अस्पतालको तारिफ नै भए पनि अहिले भने विस्तारै यस अस्पतालप्रति प्रश्न तेर्सिन थालेको छ । विभिन्न चिकित्सक, स्वास्थ्यकर्मी तथा आम सर्वसाधारणहरुले पनि अस्पतालले दिने सेवा सुविधाका बारेमा सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठाएका छन् ।

मिर्गौला सम्बन्धी समस्या भएका सन्तोषलाई डायलासिसका लागि परिवारले अनुरोध गर्दा कोरोनाको रिर्पोट नआएका कारण चिकित्सकले बाहिरका अस्पतालमा लैजान नदिएको चर्चा चलेको छ ।

अस्पतालमा उच्च ज्वरोसमेत भएका मृगौला र मुटुका बिरामीहरु आएमा उनीहरुका लागि चाहिने थप उपचारको प्रबन्ध गर्न बाँकी नै छ । डायलासिस गराउने मेसिन र इको लगायतका उपकरण नहुँदा अस्पताल आउने बिरामीहरुले अकाल मृत्युवरण गर्नुपर्ने अवस्था आउने त्यहाँ काम गर्ने चिकित्सकनै बताउँछन् ।

कोरोना विशेष अस्पताल बन्यो भनेर खुशी भएर सोही अस्पताल पुग्ने गरेका बिरामीहरु पनि निराश बनेका छन् । अस्पतालमा रहेकी एक बिरामीले अस्पताल बन्दा खुसी भएको तर, सेवा देख्दा दुःख लागेको बताइन् ।

ती बिरामीले भनिन्, ‘भन्दा लाज हुन्छ, यस्तो अवस्थालाई कसरी अस्पताल भन्न सकिन्छ ?’ उनले अस्पतालमा सामान्य उपचारसमेत नपाएको गुनासो गरिन् । ‘मंगलबार राति फोक्सोमा समस्या जस्तो देखियो, श्वासप्रश्वासमा गाह्रो हुँदा अक्सिजनसमेत पाइनँ’, ती बिरामीले टेलिफोनमार्फत गुनासो गरिन् ।

गत अक्टोबरमा अष्ट्रेलियाबाट आएकी उनी पेशाले नर्स हुन् । आफूमा कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दाजुल्दा केही लक्षण देखिएपछि उनी आफैं कोरोना अस्पताल पुगेकी हुन् ।

चैत १० गते उनी कोरोना अस्पताल भरतपुरमा पुगिन् । तर, उनलाई चितवन मेडिकल कलेज (सीएमसी) पठाइयो । सीएमसीमा एक्सरे, सिटी स्क्यान सबै गराइन् । फोक्सोमा सामान्य समस्या पनि देखियो । उनमा ज्वरो बढ्दै गयो । खोकी लाग्ने र कान, नाक चिलाउने क्रम बढ्यो ।

पुनः चिकित्सकहरुको सल्लाहमा उनी मंगलबार (चैत ११) मा कोरोना अस्पतालको आइसोलेसनमा भर्ना भइन् । अहिले पनि उनी सोही अस्पतालमा उपचाररत छिन् । अहिले उनलाई हौसला मिल्नुको साटो अस्पतालको अवस्थाले पिरोलेको छ ।

अस्पतालमा जनशक्ति व्यवस्थापनमा समेत समस्या भइरहेको स्रोतको भनाइ छ । अस्पतालभित्र काम गर्ने स्वास्थ्यकर्मीहरुले समेत व्यवस्थापनका सन्र्दभमा प्रश्न चिन्ह खडा गरेका छन् । सोमबारसम्म कोरोना अस्पतालमा काम गरेका स्वास्थ्यकर्मी ड्यूटी सकिएपछि आ–आफ्नो घर जाने गरेका थिए । तर, मंगलबारबाट बिरामीसँग सिधै ‘एक्सपोज’ हुने चिकित्सक, नर्स, पारामेडिक्स र सहयोगी कर्मचारीहरूलाई नारायणगढको होटल गंगोत्रीमा राख्न थालिएको छ । होटल सञ्चालक दिनेश चुकेले होटलका ३६ वटा कोठा स्वास्थ्यकर्मीका लागि उपलब्ध गराएको बताए ।

स्वास्थ्यकर्मी भन्छन्– मास्क माग्दा रिसाउँछन्, पीपीईको कुरै नगरौं

कोरोना अस्पताल बाहिरबाट अस्पताल बने पनि भित्र आन्तरिक व्यवस्थापन भने अति कमजोर छ । भित्र काम गर्ने स्वास्थ्यकर्मीहरुले व्यवस्थापन पक्षसँग असन्तुष्ट रहेको बताए । बाहिर सुरक्षाका लागि खटिएका गार्डहरु कपडाको मास्क लगाएर उभिएको देख्न पाइन्छ ।

स्क्रिनिङमा काम गर्ने स्वास्थ्यकर्मीहरुले मास्क माग्दा व्यवस्थापनका मान्छेहरु रिसाउने गरेको बताए । ‘सुरक्षाका समानहरु ल्याएर राखेका छन् तर दिँदैनन्, कहिलेका लागि साँचेका हुन्, थाहा छैन, माग्दा रिसाएर चौपट हुन्छ’ एक स्वास्थ्यकर्मीले भनिन्, ‘आफ्नै ज्यानको जोखिम राखेर कसका लागि काम गर्ने ? हामी पैसा कमाउन आएको हो र ?’

अस्पतालमा काम गर्ने एक चिकित्सकले आफूहरुले पीपीई लगाउनसमेत नजानेको बताए । ‘अहिलेसम्म कसरी लगाउने हो भन्ने थाहा छैन, युट्युव हेर्दै लगाउँछौं आफ्नो ज्ञानले जति हुन्छ, त्यही गरेका छौं’ ती चिकित्सकले भने ।

भित्र काम गर्दा ‘फ्रस्टेसन’ हुन थालेको गुनासो स्वास्थ्यकर्मीको छ । भित्र स्रोत साधान सम्पन्न नहुँदा कतिपय जटिल प्रकृतिका बिरामीलाई काठमाण्डौं रिफर गर्ने गरिएको छ । ल्याबको नमूना संकलन गर्ने तालिमको समेत अभाव छ ।

यसको मार नमूना संकलनमा परेको छ । सोही कारण चैत ९ गते राति अस्पतालमा भर्ना भएका बिरामी सन्तोष यादवको चैत १० गते दिउँसो ४ गते मात्रै स्वाबको नमूना संकलन गरेर चैत ११ गते विहान ७ बजे गाडीमा काठमाण्डौं पठाइएको थियो । अस्पतालमा काम गर्ने एक चिकित्सकले भित्र ‘वर्किङ प्रोटोकल’ समेत नभएको गुनासो गरे । एक–दुई दिनसम्म त आफन्तहरु पनि बिरामी भएकै ठाँउसम्म पुग्ने गरेका थिए ।

अस्पताल हेर्ने गरी जिम्मा लगाएका कन्सल्ट्यान्ट चिकित्सकहरू कमै मात्रैं अस्पतालमा झुल्किने गरेका छन् । अस्पतालका प्रवक्ता एवम् फिजिसियन डा. भोजराज अधिकारी बाक्लै अस्पतालमा पुग्ने भए पनि अन्य डाक्टरको भने नाक मुख देख्न गाह्रो हुने गरेको मेडिकल अफिसरहरू बताउँछन् ।

कोरोना अस्पतालमा छैन एसी र जेनेरटर

कोरोनाको उपचार गरिने अस्पताल विशिष्ट हुनपर्छ । यो सम्वेदनशील पनि छ । चितवन प्रदर्शनी केन्द्रमा स्थापना गरिएकाले हल स्तरीय नै छ । तीनवटै हल पूर्ण एयरकण्डिसन (एसी) युक्त बनाउने भनिएको थियो ।

तर, यहाँ एसी अहिलेसम्म जडान भएको छैन । एसी र जेनेरटर समेत नभएको हलमा आइसीयु र एचडीयु कक्ष निर्माण गरेको भनिएको छ ।

मंगलबार निधन भएका सन्तोषलाई आइसीयूमा राखिएको भन्ने अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ । यसको भित्री कथा अर्कै गरेको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

कोरोना अस्पतालको उपलब्धी : पीपीई आयो

कोरोना अस्पताल बनेपछि सरकारको पनि ध्यान चितवनतिर परेको कोरोना रोकथाम तथा पूर्वतयारी समितिले जनाएको छ । अस्पताल तयार गरेपछि तीनसय थान उच्चस्तरको पिपिई, रेनकोट जस्तो तीनसय थान र आइसीयू र एचडीयूमा लगाउने भाइरल किट तीनसय आएको अस्पतालले जनाएको छ । अन्य केही उपकरण, मोनिटरहरु पनि ल्याउने काम भएको छ ।

यस अस्पतालका लागि क्यान्सर अस्पतालले २० वटा आइसियू बेड र ८ वटा भेन्टिलेटर उपलब्ध गराएको छ ।

अस्पतालको ओपीडी व्यवस्थापनको जिम्मा लिने मध्येका एक डा. अनिलविक्रम कार्कीले कोरोना अस्पताल बनेपछि केही उपलब्धीहरु हात लागेको बताए । उनले भने, ‘अहिले केही भएन भन्ने हैन, यो अनगोइङ्ग प्रोसेस हो, साधान उपकरणहरु आउँदै जान्छन् काम हुँदै जान्छ ।’

ल्यावमा संकलित स्वाबको नमूना काठमाडौं पठाउनुपर्ने अवस्था विद्यमान रहेकाले यही नै यस्तो ल्याव बनाउन आवश्यक पहल थालिएको डा. कार्कीले बताए । यसका लागि कृषि तथा वनविज्ञान विश्वविद्यलायको ल्वाब वा क्यान्सर अस्पतालको ल्यावमा केही गर्न सकिन्छ कि भनेर सोचिएको डा. कार्कीले बताए ।

स्वाबको नमूना संकलन गरेर काठमाण्डौं पठाउनसमेत मुस्किल हुन थालेको छ । विमानहरु चल्न छाडेपछि गाडिमा राखेर काठमाण्डौं नमूना परीक्षण गराउनुपर्ने बाध्यता आइलागेको छ । स्वाबको नमूना ढिलो हुँदा बिरामीहरुलाई अनावश्यक शंका गरेर राख्नुपर्ने र थप जटिलता आउन सक्ने भएकोमा यसबारे कसरी समस्याको समाधान गर्ने भन्ने छलफल चलेको डा. कार्कीले बताए ।

अस्पताल भन्छ : सबै कुरा एकैपटक त कहाँ हुन्छ ?

भरतपुर कोरोना अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले शतप्रतिशत कहि पनि नहुने बताए । कोरोना अस्पताल पाँच दिनअघिसम्म केही थिएन, आज ७० प्रतिशत भयो, म्यानेज गर्दैछौं डा. अधिकारीले भने । उनले ‘सिक्स टायर’ सिष्टमबाट अस्पतालले सेवा उपलब्ध गराउने बताए ।

अस्पतालमा तीन मिटरको फरकमा बेड राखिएकोले एउटाबाट अर्कोमा संक्रमण नहुने डा. अधिकारीको भनाइ छ । कोरोना अस्पतालमा बेडसंख्या नपुग्ने भएमा थप दुई सय बेड थप्न सकिने डा. अधिकारी बताउँछन् ।

अहिले भेन्टिलेटर, भाइटल रेर्कड गर्ने लगायतका सामाग्रीहरु ल्याएर जडान गर्ने र आइसियू तथा एचडीयू चलाउने काम गरिएको डा. अधिकारीले जानकारी दिए । ‘उपचारमा संलग्न चिकित्सकलाई होटल राख्ने, टप १० वटा चिकित्सकहरुको नम्वर उपलब्ध गराउने, काम गर्ने कर्मचारी तथा स्वास्थ्यकर्मीलाई सतप्रशित भत्ताको व्यवस्था गर्ने, र २५ लाखसम्मको एक बर्षे बीमा गराउने उपलब्धी पनि भएका छन्’ डा. अधिकारीले भने ।

थप अस्पतालका सञ्चालनका लागि भरतपुर नौरङ्गेमा रहेको ओसिस मेडिकल कलेजको भवन प्रयोग गर्ने योजना बनिरहेको छ । निजी अस्पताल समन्वय समितिले कलेजको भवन दिने जनाइएको छ । त्यहाँ तुरुन्तै २० बेडको आइसीयू र १ सय बेड आइसोलेसन चलाउन सकिने अवस्था छ ।

भरतपुर अस्पताललाई कोरोना अस्पताल बनाउन माग

जिल्लाका चिकित्सकहरुले भरतपुर अस्पताललाई कोरोना अस्पताल बनाउनुपर्ने र अस्पताल खाली गर्नुपर्ने बहस चलाउन थालेका छन् । अहिले भैरहेको कोरोना अस्पतालमा ओपीडी र आइसोलेसन सञ्चालन गर्ने र अन्य क्रिटिकल केयर गर्नुपर्ने बिरामीहरुलाई भरतपुर अस्पतालमा राखेर उपचार गराउनुपर्ने आवाज उनीहरुले उठाएका छन् ।

भरतपुर अस्पतालमा ६ सय शैया छन् । आइसीयूमा २० वेड छन् । भरतपुर अस्पतालका बिरामीलाई अन्य निजी मेडिकल कलेज र अस्पतालमा सिफ्ट गरेर सरकारी अस्पतालकै सुविधा र सहुलियतमा उपचार गराउन सकिने चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले बताए ।

न्यौपानेले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई आफूले यस बारेमा जानकारी गराएको बताए । ‘भरतपुर अस्पतालका सबै बिरामी मेडिकल कलेज र निजी अस्पतालमा भर्ना गरौं, अस्पताल खाली गराउनुपर्छ’ डा. न्यौपानेले भने, ‘कुनै पनि मेडिकल कलेज र निजी अस्पतालले निःशुल्क दिने सेवा निशुल्क दिन्छौं, अरू सेवा सरकारीको दरमा दिन्छौं यहाँभन्दा बढी के भन्ने ?’

भरतपुर अस्पतालमा मूलतः प्रसुति सेवा लिने बिरामीहरू बढी आउने गरेका छन् । पुरानो मेडिकल कलेज भरतपुरका निर्देशक डा. मनोहर प्रधानले सरकारी अस्पताल खाली गराएर कोरोनाको विशेष अस्पताल बनाउनुपर्ने बताए । प्रधानले भने ‘अहिलेको कोरोना अस्पतालबाट सबै सेवा दिन सकिँदैन, हामीले महामारी आए के गर्ने भन्ने तयारी गर्नुपर्छ ।’

डा. प्रधानले स्थानीय प्रशासनले बनाइदिने मापदण्डभित्र रहेर आफूहरु सेवा दिन तयार रहेको अनलाइनखबरलाई बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आवश्यक परेमा भरतपुर अस्पताललाई खाली गरेर थप सेवा दिइने बताए ।

Onlinekhabar

Write your Comment