कोरोना लागेकाे कति दिनमा ठीक हुन्छ ? कुन अवस्थामा पुगेपछि हुन्छ मृत्यु ?

रातोघर

 ५ जेष्ठ २०७७, सोमबार १७:०७  मा प्रकाशित

नेपालमा कोरोना भाइरस (कोभिड १९) का कारण २ जनाको मृत्यु भइसकेकाे छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककाे बाह्रबिसेकी २९ वर्षीया सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवक छन् । कोरोनाका कारण उनीहरूको मृत्यु भएको हो वा होइन ? अथवा अन्य कुनै कारणले मृत्यु भएको हो, यसबारे अनेकन आशंका गरिएकाे छ ।

विशेषगरी सुत्केरी महिलाको मृत्युका विषयमा प्रश्न उब्जिएको छ । २३ वैशाखमा त्रिवि शिक्षण अस्पताल भर्ना भएकी उनले २४ वैशाखमा शिशुलाई जन्म दिइन् । २५ वैशाखमा डिस्चार्ज भएर सिन्धुपाल्चोक घर गएकी थिइन् ।

तर, १ जेठमा सास फेर्न गाह्रो भएपछि स्थानीय अस्पतालमा देखाइयाे । त्यसपछि स्थानीय अस्पतालले धुलिखेल अस्पताल रेफर गरेको थियो । १ गते राति अस्पताल ल्याउनेबित्तिकै उनको मृत्यु भयो । मृत्युपछि कोरोना परीक्षण गर्दा पोजिटिभ देखियाे । त्यसपछि सरकारले उनलाई कोरोनाकै कारण मृत्यु भएको पुष्टि गर्‍यो ।

कतिपय जनस्वास्थ्य चिकित्सक पनि उनको मृत्यु कोरोनाकै कारणले भएको बताउँछन् ।

‘महिलालाई टिचिङ अस्पतालमा वा सुत्केरी हुनुअगाडि नै संक्रमण थियो’, जनस्वास्थ्यविद् डा. पदम सिम्खडा भन्छन्, ‘सुत्केरी अवस्थामा इम्युनिटी पावर पनि कम हुन्छ । भाइरसले छिटो असर गर्छ । भाइरस सरेको ९ दिनमा लक्षणसँगै परीक्षण पनि पोजिटिभ देखिन्छ ।’

संक्रमितको संख्या बढे अस्पतालले थेग्न सक्छन् ? के छ सरकारी योजना ?
कोरोना कति दिनमा ठीक हुन्छ ?

रोग प्रतिरोधात्मक क्षमता बलियो भए भाइरसलाई २५ दिनभित्रमा जित्न सकिने डा. सिम्खडा बताउँछन् । ‘आज भाइरस लाग्यो भने ६–७ दिनमा चिन्ह र लक्षण देखिन्छ । रोगसँग लड्ने शक्ति नभएमा १५ दिनसम्म बिरामी सिरियस भइसक्छ’, उनले भने, ‘१५ दिनसम्म सिरियस भएन भने २५ दिनभित्रमा निको भइसक्छ ।’

जस्तैः ५ वैशाखमा  भाइरस सर्‍यो भने १२ वैशाखपछि चिन्ह र लक्षण देखिन थाल्छ । भाइरस सरेको ७ दिनको अवधिमा लक्षण देखिँदैन, पीसीआरबाट परीक्षण गर्दा पोजिटिभ नदेखिने सम्भावना पनि धेरै हुन्छ । तर, यो अवधिमा अरुलाई सरिसकेकाे हुन सक्छ ।

उनका अनुसार ७ दिनदेखि १४ दिनको अवधिमा लक्षण पनि देखिन्छ । पीसीआर रिपोर्ट पनि पोजिटिभ आउँछ ।

कस्तो अवस्थामा मान्छे मर्छ ?

यदि १५ दिनदेखि २५ दिनको अवधिमा सिरियस भएन भने निको हुन्छ । अरुलाई सर्दैन पनि । तर, यो अवधिमा पनि निको भएन भने राेगले झन् च्याप्न थाल्छ । त्यो व्यक्तिलाई अस्पतालमै राख्नुपर्छ । यस्तो अवस्थामा मान्छे मर्ने जोखिम धेरै हुन्छ ।

छुनै नमिल्ने कोरोना संक्रमितकाे कसरी हुन्छ उपचार ?
मृत्युकाे कारण कोरोना भाइरस नै हाे भन्ने आधार के ?

सुत्केरी महिला कोरोनाकै कारण मृत्यु भएको हाे भन्ने आधार के हो भन्ने प्रश्न पनि उठेको छ । विश्वव्यापी मान्यता के छ भने शरीरमा अरु रोग भए पनि मृत्यु भएको समयमा उसको शरीरमा कोरोना पोजिटिभ देखियो भने मृत्युको कारण काेराेना भाइरस (कोभिड-१९) नै हुन्छ ।

‘मृत्यु भएको मान्छेको पीसीआर पोजिटिभ देखियो भने मृत्युको कारण कोभिड-१९ हुन्छ’, डा. सिम्खडा भन्छन्, ‘यसमा पनि डाइरेक्ट कज अफ डेथ र इन्डाइरेक्ट कज अफ डेथ हुन्छ । मरेको मान्छेमा भाइरस देखियो भने डाइरेक्ट कज हो । कोभिड भएको मान्छे अस्पताल जान पाएन, अस्पताल बन्द भयो, बाटो बन्द भयो भने त्यस्तो अवस्थामा मृत्यु भयो भने इन्डाइरेक्ट कज हुन्छ ।’

पुनः संक्रमितबाट फेरि अर्को व्यक्तिमा सर्छ ?

एक पटक निको भएर पनि फेरि संक्रमित भएका उदाहरण पनि छन् । निको भएर फेरि किन संक्रमण भयो भन्ने जिज्ञासा धेरैमा छ ।

‘पीसीआरमा पाेजिटिभ देखियो भने हिजो भएको होस् या नभएको होस्, अर्को व्यक्तिलाई सर्छ’, उनले भने, ‘कोही मान्छेलाई पीसीआर नेगेटिभ छ । आरडीटी पोजिटिभ छ भने अर्कोलाई सर्दैन ।’

आरडीटी पोजिटिभ हुनु भनेको रोग प्रतिरोधात्मक क्षमताको विकास हुनु हो । त्यसलाई एन्टिबडी भनिन्छ । एन्टिबडी उत्पादन भएको छ भने मान्छेसँग एक्टिभ भाइरस हुँदैन ।

विज्ञ भन्छन् : काेरोना परीक्षणमा सरकारले झुक्यायो, अब खराब दिन आउँछन्
आरडीटी पोजिटिभ देखिनु राम्रो !

एन्टिबडी उत्पादन भएको छ भने तेस्रो सातामा अर्कोलाई सर्दैन । यो समयमा पीसीआर नेगेटिभ हुन्छ । एन्टिबडी बनेको छ भने आरडीटी पोजिटिभ हुन्छ ।

‘निको भएर ३ महिनापछि फेरि पीसीआर पोजिटिभ देखियो भने अर्को व्यक्तिलाई सर्छ’, डा. सिम्खडाले भने, ‘ पीसीआर पोजिटिभ छ भने ५० चोटि पुनः संक्रमण भए पनि सर्छ । ’

शरीरमा एन्टीबडी उत्पादन भएन भने एक पटक ठीक भएर पनि फेरि संक्रमित हुन सक्छ । त्यसैले एक पटक भाइरस लाग्यो भने शरीरमा एन्टिबडीको विकास हुनुपर्छ ।

त्यसैले यस्तो अवस्थामा आरडीटी पोजिटिभ देखिनु राम्रो हो । आरडीटी पोजिटिभ देखियो भने त्यो अर्को व्यक्तिलाई सर्दैन । आरडीटी पोजिटिभ हुनु भनेको रोगसँग लड्न सक्ने क्षमताको विकास हुनु हो ।

सावधान ! आरडीटी स्वास्थ्यमाथि खेलवाड हो, पीसीआर गराऔँ

-shilapatra.com

Write your Comment