एसिड प्रहार बन्द हुनैपर्छ: अविनाश

रातोघर

 १७ श्रावण २०७७, शनिबार १३:२३  मा प्रकाशित

एसिड प्रहार बन्द हुनैपर्छ

“प्रतिशोध”

नौ-नौ दाजु र भाइ माझ घरमा एक्ली म छोरी थिएँ
टेकेनन् कहिल्यै धुलो पयरले काखै बसी हुर्किएँ
जे-जे माग गरेँ सबै कदममा ल्याएर टक्र्याउँथे
प्यारी हौ सबकी सुकोमल भनी बोकेर फुर्क्याउँथे

मात्रै तेह्र उमेरकी म युवती चढ्दै थिएँ वैँशमा
नौला चाह र भावना दिनदिनै बढ्दै थिए वैँशमा
थोरै लाज थियो बढी डर थियो मान्छेहरूको यहाँ,
बोल्ने आँट हुँदैनथ्यो छल गरी हेर्थे सिधै वक्षमा

मेरा शिक्षकले सयौँ तबरले यी हात खोज्थे छुन
पिट्ने हो कि भनेर धेर डरले थाल्थेँ म आफैँ रुन
अर्कै चाह हुने रहेछ उनको स्याबासको धापमा
मेरो जीवन व्यर्थ लागिरहने भो शोक सन्तापमा

मेरो यौवनको सुगन्ध यसरी फैल्यो अहो बाहिर
चौबाटो अनि साँघुरो पथ ढुकी बस्थे अँध्यारोतिर
आँखामा पनि प्रेम चाह भरिलो राखेर आडम्बरी
माया गर्छु भनी निकै युवकले गर्थे पिछा बेस्सरी

त्यो प्रस्ताव नकारिए पनि कतै लागेन गल्ती भयो,
देखायो प्रतिशोध भाव उसले माया कता पो गयो
त्यो तेजाव जसै पर्यो वदनमा रोएँ म आमा ! भनी
लाग्यो बाँच्दिन आज यो प्रहरमा, छाला बल्यो दन्दनी

आफ्नो जीवन त्याग्न चाह कसको हुन्थ्यो र व्यर्थै किन
चाहेको जसरी न यो समय भो हासूँ भनेँ पाइनँ
अत्याचार र द्वेषको जगजगी हेर्दैछ सर्कार यो
कोही छैन यहाँ सुरक्षित कतै यो देश कस्तो भयो !

अविनाश सापकोटा

जितपुरसिमरा बारा

Write your Comment