ओली–दाहालबीच तीन घण्टा छलफल

रातोघर

 ९ आश्विन २०७७, शुक्रबार १०:१४  मा प्रकाशित
१८ पाठक संख्या


 

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सरकार पुनर्गठनका लागि आन्तरिक तयारीमा जुटेका छन् ।

हालै सम्पन्न नेकपा सचिवालय र स्थायी कमिटीको निर्णयअनुसार सरकारलाई थप प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्षद्वय ओली र दाहालबीच सरकार पुनर्गठनकै विषयमा झन्डै तीन घण्टा लामो छलफल भएको छ ।

बालुवाटार स्रोतका अनुसार दसैंअघि नै सरकार पुनर्गठन गर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले विभिन्न मापदण्डका विषयमा अध्यक्ष दाहालसँग छलफल गरेका छन् ।

‘विभिन्न मापदण्डका विषयमा छलफल भएको छ, के कसरी गर्दा राम्रो हुन्छ भन्ने विषयमा अध्यक्षद्वय छलफल गरिराख्नुभएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘सचिवालय र स्थायी कमिटीको निर्णयअनुसार प्रधानमन्त्री ओली दसैंअघि नै सरकार पुनर्गठन गर्ने तयारीमा हुनुहुन्छ ।’

‘सचिवालय र स्थायी कमिटीको निर्णयअनुसार प्रधानमन्त्री ओली दसैंअघि नै सरकार पुनर्गठन गर्ने तयारीमा हुनुहुन्छ ।’

नेकपा स्थायी कमिटीका सदस्य एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री ओली सरकार पुनर्गठन गर्ने तयारीमा रहेको बताए । ‘सरकार पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीको हो, छलफल भइरहेको छ,’ नेम्वाङले भने, ‘के कसरी गर्ने भन्ने कुरा छलफल जारी नै छ ।’

छलफलका लागि अन्य प्रमुख विषय भए पनि बिहीबारको छलफल मुख्यतः सरकार पुनर्गठन गर्ने विषयमा मात्रै केन्द्रित रहेको स्रोतको दाबी छ । प्रधानमन्त्रीबाहेक सबै मन्त्रीको राजीनामा गराउने, दुई वर्ष पुरानालाई मात्रै हटाउने, कार्यसम्पादनका आधारमा पुनर्गठन गर्नेलगायतका विभिन्न प्रस्तावका बारेमा छलफल भएको खुमलटार स्रोतको दाबी छ ।

अहिले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालय मन्त्रीविहीन छन् । तीन राज्य मन्त्रीलाई हटाउने र केही मन्त्रालय फुटाउने विषयमा समेत छलफल भइरहेको छ ।

यसअघि समेतको छलफलमा अध्यक्षद्वय ओली र दाहाल सरकार पुनर्गठन, संवैधानिक अंगका रिक्त पदमा पदपूर्तिलगायतका विषय दसैंअघि नै टुंग्याउन सहमत भएका थिए ।

‘सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुन, प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने,’ हालै सम्पन्न स्थायी कमिटी बैठकले गरेको निर्णयमा उल्लेख छ ।

हालै सम्पन्न सचिवालय बैठकले सरकार पुनर्गठनको बारेमा छलफल गरेको थियो । साथै लामो समयदेखि संवैधानिक अंगहरूमा रिक्त पदाधिकारीमा पदपूर्ति गर्न, पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा ठोस प्रस्ताव तयार गर्न भन्दै पार्टी अध्यक्षद्वय ओली र दाहाल, महासचिव विष्णु पौडेललाई १० दिनको समय दिइएको छ ।

संवैधानिक अंगहरूमा रिक्त पदाधिकारीमा पदपूर्ति गर्ने विषयमा समेत नेकपाभित्र छलफल भइरहेको छ ।

Write your Comment