रुसको कोरोनाविरुद्धको दोस्रो खोपले सरकारी मान्यता पायो

रातोघर

 २९ आश्विन २०७७, बिहीबार १०:०९  मा प्रकाशित
८५ पाठक संख्या


एजेन्सी । विश्वमै सबैभन्दा पहिले कोरोना भाइरसविरुद्धको खोप विकास गरेको दावी गर्दै आएको रुसल फेरि अर्को खोप पनि बनाएको छ । रुसले कोरोना भाइरसविरुद्धको दोस्रो खोप एपिभ्याककोरोना लाई मान्यता दिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार एक सरकारी बैठकमा यस्तो घोषणा गरेका हुन । त्यस क्रममा राष्ट्रपति पुटिनले भने, “हामीले अब पहिलो र दोस्रो खोपको उत्पादन बढाउनु पर्छ । विदेशी सहयोगीहरुलाई सहयोग गर्नुपर्छ । हामीले विकास गरेको खोपले विश्वभर ब्यापकता पाओस भन्ने हामी चाहन्छौं ।”

रुसको पहिलो खोपको नाम स्पुतनिक भि हो । दोस्रोको नाम एपिभ्याककोरोना राखिएको छ । रुसले एपिभ्याककोरोना खोपको विकास साइबेरियास्थित विश्वस्तरीय भायरोलोजी ईन्स्टिच्युट, भेक्टर स्टेट रिचर्स सेन्टर अफ भायरोलोजी एण्ड बायोटेक्नोलोजीमा गरेको हो ।

एपिभ्याककोरोना खोपको प्रारम्भिक चरणको मानव परीक्षण गत महिना सम्पन्न भैसकेको छ । यो खोपको १८ देखि ६० बर्ष उमेर समुहका सयजना स्वयंसेवकहरुमा परीक्षण सम्पन्न भएको छ ।

समाचार अनुसार आगामी नोभेम्बर या डिसेम्बरमा यो खोपको ठूलो संख्यामा मानव परीक्षण हुनेछ । यो बृहत मानव परीक्षणमा ३० हजार मानिसहरुको सहभागीत रहने सिएनबिसीले जनाएको छ ।

रुसले दावी गरे अनुसार स्पुतनिक भि मा भए जस्ता अतिरिक्त असरहरु एपिभ्याककोरोना मा छैन । समाचार अनुसार रुसले यो खोप निकै गोप्य ढंगले विकास गरेको हो ।

रुसले आफ्नो पहिलो खोप स्पुतनिक भिलाई ११ अगस्तमा मान्यता दिएको थियो । परीक्षण पुरा हुनु अगावै मानव प्रयोगमा ल्याइएको भन्दै यो खोप विवादमा पनि घेरिएको थियो ।

Write your Comment