सिक्किममा एक्कासी भयानक बाढी कसरी आयो ?

रातोघर

 १९ आश्विन २०८०, शुक्रबार १७:३३  मा प्रकाशित
४६४ पाठक संख्या



भारत। 

भारतको उत्तरपूर्वी राज्य सिक्किममा हालैको खतरनाक बाढीका कारण हालसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । मंगलबार रातिको बाढीले सिक्किमका दुई सयभन्दा बढी घर बगाएको थियो भने सयौँ घर डुबानमा परेका छन् ।

अचानक आएको बाढीले २२ भारतीय सेनासहित १०२ जनालाई बगाएको छ । उनीहरू बेपत्ता भएको तीन दिन पूरा भइसक्दा पनि अझै उद्धार गर्न सकिने आशाले खोजी कार्य जारी राखिएको छ ।

उत्तरी सिक्किमको लहोनक हिमनदी वरपर मंगलबार राति साढे १ बजेको समयमा एक्कासी भारी वर्ष हुँदा लाचेन उपत्यका छेउको टिस्टा नदीमा अचानक बाढी आएको थियो । बाढीले एकैपटक नदीमा १५ देखि २० फिटको उचाइमा पानी बढेको थियो ।

सार्वजनिक भएका भिडियो फुटेजहरूमा सिक्किमका अनगिन्ती घरमा बाढी पसेको छ भने ठूलाठूला घरलाई बाढीमा आएको लेदोले ढाकेको छ । सडक र पुललाई पनि बाढीले बगाएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार क्लाउड बर्स्ट अर्थात् बादल फाटेका कारण सिक्किममा एक्कासी ठूलो बाढी आएको हो र त्यहाँ ठूलो दुर्घटना निम्तियो । सामान्यभन्दा बढी एकैपटक ह्वात्तै पानी पर्नुलाई क्लाउड बर्स्ट भन्ने गरिएको छ ।

क्लाउड बर्स्ट हुँदा आकाशबाट पानी परेजस्तो लाग्दैन, आकाशबाट पानी घोप्टाइएको अथवा पोख्याइएको जस्तो लाग्छ । मनसुनको समयमा क्लाउड बर्स्टका घटना प्राय हिमाली र पहाडी स्थानमा देखा पर्छन् । पानीसहितको गह्रौँ बादल आकाशमा उडिरहँदा धेरै माथि पुग्न सक्दैनन् र पहाड र हिमालमा गएर अड्किन्छन् । पानीसहितको बादल एकै ठाउँमा जम्मा भइरहँदा बादलमा हजारौँ टन पानी जम्मा हुन्छ । त्यसरी बादल एकै ठाउँमा जम्मा भइरहँदा त्यहाँ बादलको आकार पनि बढ्दै जान्छ, जसकारण त्यहाँ पानीको मात्रा यति भारी भइदिन्छ बादलले पानी थाम्न सक्दैन र पहाड र हिमालमा त्यो पानी एकैपटक पोखिन्छ ।

Write your Comment