काठमाडौँ ।
यतिबेला गाजा र इजरायलको हावामा बारुद गन्हाइरहेको छ । बम पड्केर उठेको मुस्लोले आकाशको रङ बिगारेको छ । रगतका टाटाले जमिन रातै बनेको छ । डेढ वर्षदेखि चलिरहेको रुस-युक्रेन युद्धलाई ओझेल पार्ने गरी मध्यपूर्वमा इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमास एकअर्कालाई सिध्याउने संघर्षमा होमिएका छन् ।
गत शनिबार एकाबिहानै हमासतिरबाट एकाएक हानिएकाे रकेट, आकाश, जमिन र समुद्रबाट फुत्तफुत्त झरेका/निस्केका लडाकु इजरायलका लागि अकल्पनीय, अप्रत्याशित र अभूतपूर्व थियो ।
संसारकै उत्कृष्ट मानिने इजरायली गुप्तचर मोसादलाई समेत चक्मा दिँदै हमासले इजरायललाई अहिलेसम्मकै ठूलो क्षति गराइदियो । यति मात्रै होइन, इजरायलको भूमिमा छिरेर उसले सयभन्दा बढी इजरायली नागरिकलाई अपहरण गरी गाजाक्षेत्रमा पुर्याएको छ । अपहरितहरूको भविष्यबारे हमासबाहेक कसैले केही भन्न सक्दैन ।
मुसा-बिरालाेकाे खेलले हैरान इजरायल
हमास र इजरायलबीचको तनाव नौलो भने होइन । यो दशकौँदेखि चल्दै आएको छ । इजरायलले मानवीय र भौतिक क्षति झेल्नुपर्ने गरी जति पनि आक्रमणको सामना गरेको छ, यस्ताेमा एउटा नाम सधैँ अगाडि आउने गर्छ- मोहम्मद दाइफ (अरबमा जायफ) ।
२० वर्षयता उनी इजरायलको ‘मोस्ट वान्टेड’ सूचीमा छन् । इजरायलले उनलाई नयाँ ओसामा विन लादेनका रूपमा हेर्छ । कतै भेटिहालेमा दाइफमाथि गोली बर्साउन इजरायली सेनाले एक सेकेण्ड पनि ढिला गर्ने छैन । यसअघि सम्पूर्ण बल लगाएर इजरायलले उनलाई मार्न सातपल्ट प्रयास गरिसकेको छ । तर, ऊ सफल हुन सकेको छैन । बरु दाइफले बारम्बार आक्रमण गरी इजरायलको निन्द्रा खोसेका छन् । यो ‘मुसा र बिरालोको खेल’ बाट निस्कन इजरायलले हमास सिध्याउने योजना बनाए पनि ऊ विफल नै छ ।
आँखा, हात र खुट्टा गुमाएका दाइफ
याे पढिरहँदा तपाईंलाई अचम्म लाग्न सक्छ, ५८ वर्षे दाइफको एउटा आँखा, एउटा हात र एउटा खुट्टा छैन । २० वर्षयता ह्विलचेयरको सहाराबिना दुई पाइला सार्न नसक्ने उनै दाइफले हतियार, सेना र प्रविधिमा संसारकै अब्बल देश इजरायललाई वर्षौंदेखि चैनको सास लिन दिएका छैनन् ।
इजरायलसँग संघर्ष चलिरहेका बेला फेरि एकपल्ट हमास कमान्डर दाइफ चर्चाकाे केन्द्रमा छन् । प्यालेस्टाइनी नागरिक दाइफ सन् २०२० देखि हमास सेनाका प्रमुख हुन् । उनकै नेतृत्वमा हमासले कैयौँपल्ट इजरायलमाथि आक्रमण गरिसकेकाे छ ।
ह्विलचेयरमा बसेर रकेट दाग्छन्
मोहम्मद दाइफको जन्म सन् १९६५ मा गाजामा भएको थियो । उनी जन्मिँदा गाजा इजिप्टको कब्जामा थियो । पछि इजरायलले अरबी देशहरूसँग युद्ध लडेर वेस्ट बैंक र गाजा कब्जा गरेको थियो ।
इजरायलको यही कदमविरुद्ध खरो उत्रेका दाइफका बारेमा हामीले थाहा पाउने प्यालेस्टाइनी र इजरायली मिडियाबाटै हो । तर, दाइफको बाल्यकालबारे प्यालेस्टाइन र इजरायली मिडियामा पनि धेरै जानकारी उपलब्ध छैन । उनी सानैदेखि युद्धकै माहौलमा हुर्किएको र हमास अस्तित्वमा आउँदा युवा रहेकाे अनुमान गरिन्छ । हमास सन् १९८७ देखि अस्तित्वमा आएको हो ।
हमास कस्तो संगठन हो भन्ने बुझ्न तलको लिंक खोलेर पढ्नुहोस्ः
इजरायललाई विश्व नक्साबाट मेटाउने कसम खाएको हमास कस्ताे संगठन हो ?
गाजास्थित इस्लामिक विश्वविद्यालयमा पढ्दा दाइफ हमाससँग नजिकिएका थिए । प्यालेस्टाइनका विभिन्न नेता पनि स्वतन्त्रता आन्दोलनमा थिए । त्यही बेलादेखि दाइफले प्यालेस्टाइनका तर्फबाट इजरायलमाथि निरन्तर आक्रमण गर्न थालेका हुन् ।
दाइफका बुबा मोहम्मद दिआब इब्राहिम अल मसरी हुन् । गत शनिबार हमासले इजरायलमाथि आक्रमण गरेको क्षेत्रमा सन् १९५० को दशकमा दाइफका बुबा, काकाले सशस्त्र प्यालेस्टाइनीको पक्षबाट युद्ध लडेका थिए ।
भेट्यो कि रेट्यो !
इजरायलले बारम्बार दाइफलाई मार्ने कोसिस गरे पनि सफल हुन सकेको छैन । दाइफलाई सिध्याउन इजरायलले कम्तीमा सात प्रयास गरेको बताइन्छ । सन् २०१४ मा दाइफलाई मार्न इजरायली सेनाले एक घरमा छापा मारेको थियो । उक्त अपरेसनमा दाइफकी श्रीमती र दुई बच्चा मारिए । दुई वर्षअघि पनि इजरायलले उनलाई मार्ने योजना बनाएको थियो ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ताले दुई वर्षअघि न्युयोर्क टाइम्ससँग भनेका थिए, ‘पूरै अपरेसनका बेला हामीले मोहम्मद दाइफलाई दुई पल्ट मार्ने प्रयास गर्यौँ, तर हरेकपल्ट ऊ बचेर निस्कियाे ।’
मध्यपूर्वका सुरक्षा विशेषज्ञ म्याथ्यु लिभिट हमासको सैनिक क्षमताका लागि निकै महत्त्वपूर्ण मानिएका मानिसहरूकाे सूचीमा दाइफकाे नाम शीर्ष स्थानमा रहेकाे बताउँछन् ।अमेरिकी विदेश मन्त्रालयको आतंकवादविरोधी सल्लाहकारसमेत रहिसकेका लिभिटका अनुसार, दाइफ हमासको प्रमुख योजनाकार हुन् । उनी कथित् चरमपन्थी कमान्डर याहयाह अह्यासका निकट मानिन्थे । बम बनाउन माहिर याहयाह इन्जिनियर थिए । ९० को दशकको सुरुवाती वर्षमा इजरायली बसहरू ध्वस्त पारेको आरोप याहयाहमाथि नै थियो । सन् १९९६ मा इजरायलले उनको हत्या गरेपछि बसमाथिकाे आक्रमण फेरि बढ्याे । याहयाह मारेकाे बदला लिनलाई दाइफले नै यस्तो योजना बनाएको मानिन्छ । यसबाहेक अन्य विभिन्न आक्रमणमा पनि उनको हात छ । त्यसैले इजरायल उनको ज्यानको पछाडि हात धोएर लागेको हो ।
सधैँ कसरी बच्छन् ?
द सनको एक रिपोर्टअनुसार, मोहम्मद दाइफ गाजामा बनेको भूमिगत सुरुङको नेटवर्कभित्रै हुन्छन् । मूलतः यही सुरुङका कारण इजरायली गुप्तचर मोसादको हातबाट उनी बच्दै आएका छन् । इजरायलबाट बारम्बार जोगिनुको अर्को प्रमुख कारण उनले कहिल्यै आधुनिक प्रविधिको प्रयोग नगर्नु पनि हो ।
यसबाहेक सुरुङको गहिराइ, पुरानो गुप्तचर संरचना, धनमालको नोक्सानीको खतरा र हतियारको काम नगर्नु नै उनी जोगिनुका अन्य कारण हुन् । हमासको सुरुङ बनाउनमा पनि दाइफको महत्त्वपूर्ण भूमिका छ ।
हरेक रात फेर्छन् ठाउँ
रिपोर्टअनुसार, उनी कहिल्यै एकैठाउँमा बस्दैनन् । हरेक रात आफ्नो बस्ने ठाउँ बदल्छन् । इजरायलसँग पनि उनको एउटा मात्रै तस्वीर छ । शरणार्थी शिविरमा जन्मेका दाइफ सानैदेखि युद्धको वातावरणमा हुर्किए । फिरन्ते जीवनशैली र इजरायलको हवाई आक्रमणबाट जोगिन भागेको भाग्यै गर्नुपर्ने भएकाले उनलाई ‘दाइफ’ भन्न थालियो । कतिपयले यो नाम उनले आफैँ राखेको पनि भन्छन् । ‘दाइफ’को अरबी अर्थ ‘पाहुना’ भन्ने हुन्छ । नामअनुसार नै उनी हरेक दिन ठाउँ बदल्छन्, घर बदल्छन् । हरेक दिन उनी कतै न कतैका पाहुना बन्छन् । उनकाे वास्तविक नाम मोहम्मद दाइफ इब्राहिम अल-मसरी हाे ।
‘द क्याट विथ नाइट लाइभ्स’
इजरायलसँग संघर्षका क्रममा नै दाइफले एउटा आँखा, एउटा हात र एउटा खुट्टा गुमाएका हुन् । धेरैपल्ट ज्यानै जाने आक्रमणबाट फुत्किए । ह्विलचेयरमा बस्ने दाइफ अहिले पनि हमासको हरेक योजनाको ‘मास्टरमाइन्ड’ हुन् ।
उनलाई प्यालेस्टाइनीहरूले ‘द क्याट विथ नाइन लाइभ्स’ भन्छन् । यो भनाइको सार कैयौँपल्ट गम्भीर चोट लाग्दा पनि उठेर हिँड्न सक्ने नौ जिन्दगी भएकाे बिरालाेजस्तै भन्ने हाे । गत शनिबार बिहानै हमासका लडाकु इजरायलभित्र छिरे र रकेट बर्साए । यसबारे दाइफले भनेका थिए, ‘गाजा १६ वर्षदेखि घेराबन्दीमा छ । यो आक्रमण त्यही कब्जाको जवाफ हो ।’हाल हमासका कमान्डर रहेका उनी अक्सर आफ्नो म्यासेज रेकर्ड गरेर पठाउने गर्छन् । त्यस्तो म्यासेजमा हमासका लडाकुले इजरायलीहरूको हत्या, अपहरण गरेको सन्देश हुने गरेको छ ।
Write your Comment