

सिमरा । बाराको जीतपुरसिमरास्थित सिमरा रंगशालामा असोज दोस्रो सातादेखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। सिमरा भेट्रान क्लबको आयोजनामा ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ असोज १० गतेदेखि १७ गतेसम्म सञ्चालन हुने भएको हो।
रात्रिकालीन समयमा हुने प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा महिला फुटबल टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, फेयर फुटबल क्लब धरान, बसन्तपुर युनाइटेड क्लब चितवन, भारतको दार्जिलिङस्थित कुर्सेङ गोल्स फुटबल क्लब, झारखण्ड स्टेट स्पोर्ट्स प्रमोशन सोसाइटी र आयोजक सिमरा भेट्रान क्लब सहभागी हुनेछन्।
प्रतियोगिताको साविक विजेता एपीएफ क्लब हो। गत संस्करणको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको थियो। यसपटक भारतका दुई टोलीसहित ८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक हरि चौधरीले जानकारी दिए।
विजेताले ५ लाख ११ हजार पुरस्कार पाउने
प्रतियोगिताको विजेताले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ, प्रतियोगिताभरको इमर्जिङ प्लेयर तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा हुने प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेको छ। नेपाल ल्युब आयल, हुलास स्टील र नेपोभिट टायल्सले सहप्रायोजन गर्नेछन्।
त्यस्तै, बारा जिल्ला फुटबल संघ, नव जनजागृति युवा क्लब, नव जनजागृति भेट्रान क्लब, युआर अटोमेटिक लण्ड्री, केआईईसी सिमरा र सलिको इन्स्योरेन्सले प्राविधिक सहयोग गर्ने आयोजकले जनाएको छ।
टिकट बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत बाढी प्रभावितका लागि
आयोजकले प्रतियोगिताका खेल हेर्नका लागि टिकट दरसमेत निर्धारण गरेको छ। पहिलो चार खेलका लागि ५० रुपैयाँ, सेमिफाइनलका लागि १०० रुपैयाँ र फाइनलका लागि २०० रुपैयाँ टिकट शुल्क तोकिएको छ।
टिकट बिक्रीबाट संकलित रकमको १० प्रतिशत रकम रसुवा बाढी प्रभावितको पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको संयोजक चौधरीले बताए।
महिला सशक्तीकरणसँग जोडिएको प्रतियोगिता
प्रतियोगिताको पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितालाई जीतपुरसिमराको गौरवसँग जोडिएको कार्यक्रमका रूपमा लिनुपर्ने बताए।
महिला खेलाडीको सहभागिताले महिला सशक्तीकरण, आत्मबल तथा स्वास्थ्य विकासमा सकारात्मक प्रभाव पार्ने भएकाले उपमहानगरपालिकाले प्रतियोगितालाई प्राथमिकता दिएको उनको भनाइ थियो।
उपप्रमुख अधिकारीले चालु आर्थिक वर्षको बजेटमा प्रतियोगिताका लागि आफूले २० लाख रुपैयाँ विनियोजन गरे पनि अन्तिम प्रमाणीकरणका क्रममा बजेट १० लाख रुपैयाँमा सीमित भएको भन्दै असन्तुष्टि व्यक्त गरे।
त्यस्तै, जीतपुरसिमरा–१४ की वडाध्यक्ष चयन गुरुङले प्रतियोगितालाई खेलको हारजितमा मात्र सीमित गरेर हेर्न नहुने बताइन्। उनका अनुसार महिला खेलाडीको सहभागिताले छोरीचेलीको आत्मविश्वास बढाउनुका साथै शारीरिक तथा मानसिक स्वास्थ्य र महिला सशक्तीकरणमा समेत योगदान पुर्याउनेछ।
पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँले, सिमरा भेट्रान क्लबका सल्लाहकार हिरा बस्नेतलगायतले प्रतियोगिताको महत्वबारे धारणा राखेका थिए।





Write your Comment