हातेमालो सहकारीको १९औँ साधारणसभा सम्पन्न, डिजिटल बैंकिङ र साइबर सुरक्षामा जोड

रातोघर

 २०८३ आश्विन २५, आईतबार  मा प्रकाशित
२ पाठक संख्या


सिमरा । बाराको सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सिमरास्थित थानीमाई वन उपभोक्ता समूहको सभाहलमा आयोजित साधारणसभाको उद्घाटन ९५ वर्षीय ज्येष्ठ नागरिक देवीदत्त लम्सालले गरेका थिए ।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीसहित संस्थाका सदस्य तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा शंकरकुमार आचार्य, दिनेश राई, दामोदर पौडेल र हेमनारायण चौधरीलगायत सहभागी थिए ।साधारणसभामा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रामचन्द्र पौडेलले सहकारीलाई थप सबल, पारदर्शी र उत्तरदायी बनाउने लक्ष्यसहित चालु आर्थिक वर्षका कार्ययोजना सार्वजनिक गरे । उत्पादनशील क्षेत्रमा लगानी बढाउने, निष्क्रिय सदस्यता अन्त्य गर्ने तथा डिजिटल बैंकिङ र साइबर सुरक्षालाई सुदृढ बनाउने योजना संस्थाले अघि सारेको उनले बताए ।

अध्यक्ष पौडेलका अनुसार विगत पाँच वर्षदेखि कुनै कारोबार नगर्ने र साधारणसभामा समेत सहभागी नहुने सदस्यलाई सहकारी ऐन, २०७४ को दफा ३४ (१) (ख) बमोजिम सदस्यता अन्त्य गरी हिसाब फरफारक गर्ने प्रक्रिया अघि बढाइनेछ । उनले कोर बैंकिङ सफ्टवेयर, क्यूआर भुक्तानी र मोबाइल बैंकिङ प्रणाली विस्तार गर्नुका साथै नियमित साइबर सुरक्षा परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिए ।२०६४ साल जेठ २० गते स्थापना भएको हातेमालो सहकारीले हाल मुख्य कार्यालय र दुई सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ । संस्थामा चार हजार दुई सय शेयर सदस्य र ७३५ बालसदस्य आबद्ध छन् ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न सभामा कोषाध्यक्ष पेशल मुल्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव चुडामणि गौतम (राजु) ले गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban