

सिमरा । सञ्चारमाध्यममा अपाङ्गतासम्बन्धी समाचार सम्प्रेषण गर्दा प्रयोग गरिने भाषालाई मर्यादित, समावेशी र सम्मानजनक बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। यसै विषयमा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बाराको सिमरामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।
नेत्रहीन युवा संघ नेपालको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका सवाललाई समाचारमा कसरी प्रस्तुत गर्ने, कस्ता शब्द प्रयोग गर्ने र उनीहरूलाई सम्बोधन गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा छलफल गरिएको थियो।सीबीएम ग्लोबल डिसेबिलिटी इन्क्लुजनको सहयोगमा आयोजित कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूको सहभागिता थियो। सहभागीहरूलाई अपाङ्गताका प्रकार, पहिचान तथा सञ्चारमाध्यममा प्रयोग हुने शब्दावलीले व्यक्तिको आत्मसम्मान र सामाजिक दृष्टिकोणमा पार्ने प्रभावबारे जानकारी गराइएको थियो।
कार्यक्रममा नेत्रहीन युवा संघ नेपालकी कार्यक्रम निर्देशक निलु महर्जनले सञ्चारमाध्यममा प्रयोग हुने भाषाले समाजको धारणा निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। अपाङ्गता भएका व्यक्तिलाई दया र सहानुभूतिका दृष्टिले नभई अधिकार, अवसर र समावेशिताका आधारमा समाचारमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो।त्यस्तै, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले सञ्चारमाध्यममा प्रयोग हुने शब्दले समाजमा सकारात्मक तथा नकारात्मक दुवै प्रभाव पार्न सक्ने बताए। समाचारमा प्रयोग भएका शब्दलाई आम नागरिकले समेत अनुसरण गर्ने भएकाले अपाङ्गता भएका व्यक्तिको सम्मान र आत्मसम्मानमा असर नपर्ने गरी समाचार सम्प्रेषण गर्नुपर्ने उनले उल्लेख गरे।
अधिकारीले अपाङ्गता भएका व्यक्तिका समस्या र चुनौतीलाई समाचारमा स्थान दिनुका साथै उनीहरूको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायलाई जिम्मेवार बनाउने भूमिका पनि सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने बताए।कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडाले प्रेस काउन्सिल नेपालले अपाङ्गतासम्बन्धी समाचार सम्प्रेषणका क्रममा भाषा प्रयोगबारे जारी गरेका आचारसंहिता तथा निर्देशिकाबारे सहजीकरण गरेका थिए।कार्यक्रमको अन्त्यमा सहभागी सञ्चारकर्मीहरूले अपाङ्गता भएका व्यक्तिसम्बन्धी समाचार सम्प्रेषण गर्दा मर्यादित, संवेदनशील र समावेशी भाषा प्रयोग गर्ने प्रतिबद्धतासहित ‘सिमरा घोषणापत्र’ मा हस्ताक्षर गरेका छन्।





Write your Comment