प्रधानमन्त्रीको ताल उस्तै : समयलाई किन महत्त्व दिँदैनन् ओली ?

रातोघर

 २४ मंसिर २०७५, सोमबार ०८:४२  मा प्रकाशित
२४४२ पाठक संख्या



काठमाडौँ– प्रसङ्ग १– मङ्सिर २२ गते शनिबार । दिउँसो ३ बजेका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आह्वान भएको थियो । तर ३० मिनेट ढिला हुँदा पनि बैठक सुरु नभएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटारबाट बाहिरिए । उनीहरूको आक्रोश थियो–प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले समयमा बैठक सुचारु गरेनन् ।

पार्टी बैठक छाडेर ओली अन्य भेटघाटमा लागेको चार नेताको आरोप थियो । महासचिव विष्णु पौडेलका अनुसार अध्यक्षद्वय परामर्शमा रहँदा केही मिनेट मात्रै सचिवालयको बैठक ढिलो भएको थियो । पार्टी एकीकरणका बाँकी कामलगायतका विषयमा छलफल गर्ने कार्यसूची थियो । चार नेता निस्केपछि नौ सदस्य रहेको सचिवालयमा पाँच जना नेताको मात्रै बैठक बस्यो । बैठकले मङ्सिर २९ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गर्यो ।

पार्टी बैठक बहिष्कार गरेको अर्को दिन आइतबार नेता खनालले एक कार्यक्रममा समयबारे बोलेका थिए । ‘कहिलेकाहीँ ३ बजे भनेर बोलाइन्छ, ६ बजे सुरु हुन्छ । आज पनि यस्तै हो कि भनेर हामी हिँड्यौं । तहल्का मच्चियो ।’ जब कि बैठक बहिष्कारपछि रातोपाटीसँगको कुराकानीमा नेता गौतमको प्रतिक्रिया पनि अध्यक्षले समयको पालना नगरेको बताएका छन् । ‘यसअघि पनि बैठक बोलाएर सधैँ एक–दुई घण्टा ढिलाइ गर्ने गरिन्थ्यो । आज पनि त्यस्तै स्थिति देखिपछि हामीले यसरी नबसौँ भन्ने निर्णय गर्यौं ।’ नेता गौतमले भने, ‘हामी निस्केपछि सामान्य बहुमतको कोरम पुर्याएर निर्णय गरिएको छ । यसले कोरम पुग्यो भने बैठक बस्नुपर्छ भन्ने मान्यता स्थापित गरेको छ । अब एक जना अध्यक्षको उपस्थितिमा समयमै बैठक सञ्चालन गर्नुपर्छ ।

प्रसङ्ग २– प्रधानमन्त्री एवम् पार्टी अध्यक्षले समयलाई ध्यान नदिएको विषयमा पार्टीका चार जना शीर्ष नेताले बैठक बहिष्कार गरेपछि यसले नेकपामा मात्रै होइन, सबै क्षेत्रमा ठूलै चासो जगाएको थियो । पार्टी नेताले बैठक बहिष्कार गरेको २४ घण्टा नवित्दै प्रधानमन्त्री ओलीले समयलाई ख्याल नदिएको अर्को घटना बाहिर आयो । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा गृहमन्त्री, अर्थमन्त्री, सम्बन्धित प्रदेशका मुख्यमन्त्री सदस्य हुन्छन् । बैठकमा सङ्घीय सरकारका अन्य मन्त्री पनि आमन्त्रित रहने व्यवस्था छ । देशका सबै शक्तिशाली व्यक्ति सहभागी हुने बैठक भएकाले बैठकको हरेक सेकेन्ड महत्त्वपूर्ण हुन्छ नै । तर बिहान बिहान ११ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री ओली डेढ घण्टा ढिला पुगे । बैठक सुरु गरेर प्रधानमन्त्री फेरि बाहिर निस्किए । खाना खान निस्केका प्रधानमन्त्री डेढ घण्टापछि मात्रै फर्के ।

संविधान, कानुन, बजेट र नीति कार्यक्रम कार्यान्वयन तथा अधिकारको व्यावहारिक बाँडफाँटका सम्बन्धमा देखिएका विवाद समाधान गर्न लामो समयदेखि यो परिषद्को बैठक माग गरिएको थियो । प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले केन्द्र सरकारसँग बसेर किनारा लगाउनुपर्ने विषयमा ध्यान नदिएको गुनासो गर्दै आएका थिए । यस्तो महत्त्वपूर्ण बैठकमा प्रधानमन्त्री ओलीले समय व्यवस्थापनमा ध्यान नदिएपछि बैठकका सहभागीबीच अनौपचारिक कुराकानी भयो, ‘पार्टी नेता समयै विषयमा बैठक बहिष्कार गरे । त्यसबाट पनि प्रधानमन्त्रीले पाठ सिक्नु भएनछ । यति महत्त्वपूण बैठकलाई पनि बेवास्ता गर्नुभयो ।’

Write your Comment