गौरवका आयोजना निर्माणमा दबाब : बाराको निजगढमा नेकपाको बृहत जनसभा

‘ यहाँका जनतासंग मेरो बिशेष लब परेको छ , मेरो लभरलाई दुःख दिने र बिकास निर्माणको कामलाई गति नदिने जो कोहीको बिरुद्ध म आन्दोलन गर्न तयार छु ।’

रातोघर

 १० मंसिर २०७६, मंगलवार १९:०९  मा प्रकाशित

सिमरा, १० मंसिर ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको बिकास निर्माण प्रदेश २ मा केन्द्रित रहेको बताएका छन् । राष्ट्रिय गौरवका आयोजनालाई छिटो सम्पन्न गर्न दबाब सृजना गर्ने उद्येश्यले नेकपा प्रदेश २ ले बाराको निजगढमा मंगलबार आयोजना गरेको बृहत जनसभा कार्यक्रममा बोल्दै उनले प्रदेश २ को बिकास निर्माणमा बिशेष केन्द्रित रहेको जिकिर गरे ।

यही तराई मधेशका जनताको मतले आफु दोश्रो पटक प्रधानमन्त्री भएको सम्झना गर्दै उनले यहाँका जनतासंग बिशेष प्रेम रहेको बताए ।

‘मैले भन्दै आएको छु , यहाँका जनतासंग मेरो बिशेष लब परेको छ , मेरो लभरलाई दुःख दिने र बिकास निर्माणको कामलाई गति नदिने जो कोहीको बिरुद्ध म यहीँ आएर आन्दोलन गर्न तयार छु ।’ उनले भने, ‘निर्माणको काम गर्ने केही ठेकेदारहरुको कारण अपजस खेप्नु परिरहेको छ, अब त्यस्ता ठेकेदारले द्रुतगतीमा काम गरेनन्भने म आफैँ अनसन बसेर भएपनी प्रदेश २ को सम्मुनतीमा लाग्छु ।’

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले तराई मधेसका जनताको विकास र समृद्धिको यात्रामा ध्यान केन्द्रित गर्ने जिम्मेवारी सरकार र पार्टीको भएको भन्दै यो प्रक्रियामा अवरोध आउन नदिने बताए ।

उनले अब प्रदेश २ को बिकास निर्माण अघि बढिसकेको जिकिर गर्दै तराईको समृद्धी अभियानमा नेकपाको ठुलो भुमिका रहेको बताए । उनले अन्तराष्ट्रिय बिमानस्थल निर्माणको कामलाई समेत अब तिब्र गतीमा अघि बढाउने बताउँदै दु्रतमार्ग र अन्र्तराष्ट्रिय बिमानस्थलको निर्माणपछी तराई मधेश काठमाण्डौसंग जोडिने बताए ।

उनले बारा, रौतहट, सर्लाहीका खेतमा पानीको अभाव हुन नदिने, सुनकोशी कमला डाइभर्सन आयोजनाबाट सप्तरी, सिराहा र धनुषाको सिञ्चाई समस्या समाधान गर्ने पनि बताए ।

हुलाकी राजमार्गलाई निर्धा्रित समयमा निर्माण सक्न रकमको अभाव हुन नदिने पनि रक्षामन्त्री पोखरेलले जिकिर गरे ।

सभालाई नेकपाका प्रदेश २ अध्यक्ष प्रभु शाहले सभापतित्व ग्रहण गर्दै यहाँ निर्माण गर्ने भनिएको गौरवका आयोजनालाई छिटो अगाडी बढाउन सरकार समक्ष दबाब दिए । उनले प्रदेश २ का जनता अब गफ र भाषण होइन काम र परिवर्तन खोजिरहेको भन्दै कुन आयोजना कहिले सम्पन्न हुन्छ सभामा प्रतिबद्धता जनाउन समेत सरकारलाई आग्रह गरे ।

सभामा चितवन हुँदै बाराको निजगढ आएका प्रचण्ड सहित , नेकपाका महासचिव बिष्णु पौडेल, बन मन्त्री, प्रदेश मन्त्रीहरु, जनप्रतिनिधीहरु, प्रदेश २ मा निर्माण थालिएको बिभिन्न गौरवका योजनाका प्रमुखहरु लगाएत बारा, पर्सा र रौतहटबाट करिब २० हजार बढीको संख्यामा मानिसहरु सभामा उपस्थित भएका थिए ।

Write your Comment