जुनसुकै हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ, नत्र फास्ट ट्रयाक पनि चल्दैन : मन्त्री भट्टराई

रातोघर

 ९ पुष २०७६, बुधबार २०:५६  मा प्रकाशित
३१४ पाठक संख्या



काठमाण्डाै – संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले जुनसुकै हालतमा पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने बताउनुभएको छ ।
नेपाल भ्रमण वर्षको उद्घाटन समारोहलाई लक्षित गरी काठमाण्डाै उपत्यकाभित्रका पालिकाप्रमुखहरुको छलफलमा मन्त्री भट्टराईले अबको डेढ-दुइ वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु धान्न नसक्ने भएकाले निजगढमा विमानस्थल बनाउनुको अर्को विकल्प नभएको बताउनुभयो ।
नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको र पर्यटनकै माध्यमबाट देशको समृद्धिको कल्पना गरिएको भन्दै मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासको लागि निजगढमा विमानस्थल नभइ नहुने पनि दावी गर्नुभयो ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ८० लाख यात्रु धान्न सक्छ, अहिले नै वार्षिक ७२ लाख यात्रु यही विमानस्थल भएर ओहोरदोहोर गरेका छन्, अबको डेढ-दुई वर्षभित्रै यो विमानस्थले थप यात्रु धान्न सक्दैन’, मन्त्री भट्टराईले भन्नुभयो, ‘हामीले बर्सेनि करोड यात्रु ल्याउने कल्पना गरेका छौँ तर त्यति यात्रु धान्ने विमानस्थल पनि बनाउन थाल्नुपर्छ । त्यसका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक छ ।’
मन्त्री भट्टराईले विश्वका केहि ठूला विमानस्थल र ठूला सहर २ घन्टाको दूरीमा रहेका र फाष्टट्रयाक बनेपछि काठमाण्डौ र निजगढको दूरी पनि १ घन्टामा छोटिने दावी गर्नुभयो ।
मन्त्री भट्टराईले निजगढ विमानस्थन नबनेसम्म काठमाण्डौ–तराइ द्रुतमार्ग पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसक्ने बताउनुभयो ।
‘१ खर्ब रुपैयाँभन्दा धेरै लगानी लगाएर हामीले फाष्टट्रयाक निर्माण गरिरहेका छौँ, यदि निजगढमा विमानस्थल बनेन भने अहिले जस्तै यात्रु आसोरेर फाष्टट्रयाकको सञ्चालन खर्च उठ्दैन, अब विमानस्थल र फाष्टट्रयाकलाई एउटै ढंगले सोचेर अघि बढ्नुपर्छ’, मन्त्री भट्टराईले भन्नुभयो ।
काठमाण्डौ वरिपरिका डाँडाको पदयात्रा चम्काऔँ, ६ बजे नै सुत्ने राजधानीमा चहलपहल थपौं
काठमाण्डौ, ललितपुर र भक्तपुरका सबै महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखसँगको छलफलमा पर्यटनमन्त्री भट्टराईले काठमाण्डौ वरपरका पदयात्रालाई थप प्रभावकारी बनाएर काठमाण्डौलाई हाइकिङ गन्तव्य बनाउन सकिने पनि दावी गर्नुभयो ।
‘मैले काठमाण्डौ उपत्यका वरपरका सबैजसो डाँडामा हाइकिङ गरेको छु, काठमाण्डौ कति सुन्दर छ भन्ने कुरा हामीले त्यहाँ गएपछि थाहा पाउँछौँ, पृथ्वीनारायण शाहले किन यै खाल्डोमा आँखा लगाए भन्ने कुरा काठमाण्डौ वरपरका डाँडा घुमेपछि पुष्टि हुन्छ’, भट्टराईले भन्नुभयो ।
उहाँले थप्नुभयो, ‘अहिले कंक्रिटले भरिएको काठमाण्डाै यति सुन्दर छ, त्यो बेला त साँँच्चै अनुपम नै थियो होला, काठमाण्डौ नियाल्न र पर्या-पर्यटनलाई जीवित राख्न हामीले काठमाण्डौ वरपरका डाँडाको पदमार्गलाई विस्तार व्यवस्थित गर्नुपर्छ ।’
नेपाल भ्रमण वर्षमा साँझैमा काठमाण्डौ सुत्ने चलनको पनि अन्त्य गर्नुपर्ने मन्त्री भट्टराईको भनाइ छ । उहाँले काठमाण्डौको रात्रीकालीन पर्यटन ब्युँताउन यातायात र होटल क्षेत्रको ठूलो भूमिका रहेको र त्यसमा यहाँका पुरातात्विक सम्पदाले पनि सघाउनुपर्ने बताउनुभयो ।
‘यहाँको नाइटलाइफको आनन्द बेग्लै छ, नेपाल भ्रमण वर्षमा नाइट लाइफ ब्युँताउनुपर्छ, त्यसको लागि सडकदेखि पुरातात्विक सम्पदा क्षेत्रमा लाइटिङ गर्नुपर्छ, ७ वटा विश्व सम्पदा सूचीमा रहेका सम्पदा भएका सहरलाई कम्तीमा राति १२ बजेसम्म त चहलपहलयुक्त बनाउनुपर्छ ।’
उहाँले काठमाण्डौ उपत्यकाभित्रका सम्पदा जोड्ने गरी साइकल लेन बनाउन र बस सेवाको बारेमा अध्ययन गर्न पनि सबै पालिकाका प्रमुखसँग आग्रह गर्नुभएको छ ।
उज्यालो अनलाइन

Write your Comment