पथलैयामा भेटिएका पैदलयात्रीको कथा : सप्तरीबाट हिँडेरै बर्दिया (भिडियो)

अधिकाँश सडक यात्रीको गुनासो एउटै छ , ‘खानेकुरा सकियो, अब मरेपनी घरमै पुगेर मर्ने’ ।

रातोघर

 ६ बैशाख २०७७, शनिबार ०९:२५  मा प्रकाशित

सिमरा, ५ वैशाख ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका १ पथलैयामा साँझ १७ जनाको एक पैदल यात्रीको जथ्था भेटिए । उनीहरु सप्तरीबाट हिँडेको पाँच दिन भएछ । पाँच दिनकै यात्रामा थुप्रै अभावका कथाहरु बोकेर उनीहरु गन्तब्य भेटकिन खोज्दैछन् ।

पथलैया चौकमै स्थानियले एउटा स्टल राखेर यात्रीलाई पानी खाने ब्यवस्था मिलाइदिएको छ । त्यहीँ आएर लामो सुस्केर तानेर पानी हातमा बोके अगाडी बढे ।

सबैका हात र पिठ्युमा सामलतामलको भारी छ । मनमा घर पुग्ने हतारो छ । पेटमा भोक छ । संक्रमणको खासै डर छैन ,किनकी यतीबेला उनीहरुलाई ‘बहुलाउनु भन्दा मर्नु निको’ जस्तै भएको छ । तर पाइलाहरु निरन्तर अगाडी बढीरहेको छ । गन्तब्य छिचोल्न अझै निकै दिन लाग्छ ।

यात्रामा हिँडेका ६५ बर्षे बाबु चौधरी सप्तरीतिरै घर बनाउने काम गर्थे । काम गर्न नपाएपछी बसिरहेको ठाउँबाट घरनिकाला गरिदिए । संक्रमणको हल्लाले घरबेटीले उनीहरुलाई घरमा राख्न समेत सकेनन् र घरबाट ननिस्के प्रहरीमा उजुरी गर्नेसम्मको धम्की दिएपछी चौधरी जस्तै सोही क्षेत्रका १७ जनाको बर्दियाको टोली हिँडदै घरपुग्ने उद्येश्य बोकेर पैदल यात्रामा होमिए ।

उनीहरुले राम्ररी खाना नखाएको एक हप्ता बित्यो, बिस्कुट र चाउचाउ कहिँ कहिँ मिलेसम्म बुक्याए । नत्र खोलाको पानीले बाटोको प्यास मेटाए । उनीहरुसंग जँगलमा रात बिताएको अनुभव छ । सडकको पेटीमा प्रहरीलाई छलेर रात बिताएको अनुभव छ । अनि रातभरी यात्रा गरेको अनुभव छ ।

उनीहरुलाई सप्तरीबाट बाराको पथलैयासम्म आइपुग्दा सहानुभुतीका शब्दहरु दिने कोही भेटिएनछन् । सबै लखेट्ने मात्रै भेटिएको तितो अनुभव उनीहरुसंग छ ।
तर पथलैया स्थित ट्राफिक प्रहरी कार्यालयले भने यिनिहरुलाई ठुलो गुन लगाएको छ । बिरगन्जबाट चिनि बोकेर आइरहेको ट्रकलाई रोकेर यि १७ जनाको टोलीलाई ट्राफिकले माथी उकालिदियो । अब उनीहरु चितवनसम्म पुग्न सक्ने भए ।

तर ट्रक चालकको गुनासो फरक छ , चिनी बोकेर आएका चालक तारा थापाले यात्रुहरुलाई देखेर दया लागेपनी ’जाउँ हिँडनुस्‘ भन्न उनीहरुलाई ट्राफिककै डर छ ।

‘अस्तिपनी ६ जना जँगलमा भेटेर यस्तै यात्रु बोकेर आउँदा ट्राफिकले २ हजारको चिट काटयो, तिन घण्टा त्यही कुर्नुपर्यो ।’, उनले भने, ‘यसैगरी यात्रु बोक्दा अस्ती खाना खान पाइएन, अब फेरी के हुने हो ।’

तर यहाँभने पथलैया ट्राफिक प्रहरी कार्यालयले चेकजाँच हुने स्थानमा समन्वय गरेर उनीहरुलाई चितवन सम्म पुर्याउन प्रवन्ध मिलाईदियो । निमेशभरका लागी उनीहरुको अनुहारमा उज्यालो छायो । उनीहरु ट्रकको चिनी माथी बसेर हँसिलो मुद्रामा प्रहरीलाई हात हल्लाउँदै अगाडी बढे ।

देश लकडाउनमा छ । स्थानिय तहलाई आफ्नो क्षेत्र हुँदै आवतजावत गर्ने पैदल यात्रु कति पुगे भन्ने तथ्याँङ्ख हिसा गर्न सक्दैन । सबैजनालाई सामाजिक संंजालमा लकडाउनको मुरली बजाउँदै फुर्सद छैन ।

पथलैयाका एक पत्रकार प्रकास लम्सालका अनुसार पथलैया चौक हुँदै पुर्व पश्चिम र उत्तर दक्षिणका यात्रुहरुको रातभरी लाम लाग्छ । ट्राफिक प्रहरीले सामान्य सोधपुछ गरेर छिटो जानुस मात्र भन्छ । किनकी उ सँगपनी पैदलयात्रुलाई गन्तब्य पुर्याउन सक्ने संयन्त्र छैन ।

यता सरकारले लकडाउनको अवधी थपेर ‘पर्ख र हेर’ को सिद्धान्तमा कुरिरहेको छ । संक्रमितको संख्या दिनप्रतिदिन थपिदैछ । यता सडकमा गन्तब्य पुग्ने पैदलयात्रीको भने लकडाउन शुरु भएको दिनदेखी ओहरदोहर उस्तै छ । यी यात्रुहरुलाई जहाँ थिए त्याहाँ कम्तिमा छाक टार्ने ब्यवस्था मिलाईदिन सकेको भए सडक निस्कने थिएनन् ।

किनकी अधिकाँश सडक यात्रीको गुनासो एउटै छ , ‘खानेकुरा सकियो, अब मरेपनी घरमै पुगेर मर्ने’ । देशभरीका यस्तै सडकयात्रीको हाहाकार थेग्न सरकारलाई हम्मे हम्मे छ । शुक्रबार मात्रै सर्वोच्च अदालतले प्रदलयात्रीलाई गन्तब्य पुर्याउन सरकारको जिम्मेवारी भन्दै आदेश दिएको छ ।

अदालतले आदेशमा भनेको छ ‘यी वर्गको तथा समूहको व्यक्ति र वृहत समाजको हितलाई समेत ध्यानमा राखी स्थानीय रुपमा हाल परिचालित स्वास्थ्य परीक्षणसम्बन्धी जनशक्तिको मोवाइल समूहहरुलाई परिचालन गरी उनीहरुर्को यापिड टेष्ट गर्दै सुरक्षाको लागि अपनाउनुपर्ने सबै आवश्यक उपायहरु अवलम्वन गर्दै अत्यन्त प्राथमिकताको साथ उनीहरुलाई सरकारको कार्यमा आस्वस्थ हुने गरी अविलम्ब सबै राजमार्गहरुबाट सवारी साधनहरुको निशुल्क व्यवस्था गरी उनीहरुको गन्तव्य स्थानमा र्पुयाइदिनू ।’ तर सर्वोच्चको आदेशलाई स्थानिय तहले कार्यान्वयन गर्न सक्छ वा सक्दैन त्यो हेर्न बाँकि छ ।

(भिडियो)

Write your Comment