जीतपुरसिमरा : मसानघाटको प्लटिङमा वित्तीय लगानी

प्रकाश लम्साल

 ५ असार २०७७, शुक्रबार ११:४३  मा प्रकाशित
४०० पाठक संख्या



बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका ४ मा रहेको मसानघाटको ६ बिघा ८ कठ्ठा सार्वजनिक जग्गामा गरिएको प्लटिङमा बैंक तथा वित्तीय संस्थाको लगानी रहेको पाइएको छ । उक्त जग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्थाको लगानी जोखिममा परेको छ ।

प्रोपर्टी म्यानेजमेन्ट कम्पनी र उसबाट खरीदकर्ताले समेत बैंक वित्तीय संस्थाबाट कर्जा लिइ उक्त जग्गा खरिद गरेपछि लगानीमा जोखिम भएको हो । प्रोपर्टी म्यानेजमेन्टका सञ्चालक इच्छाबहादुर वाग्ले ऋणी रहेका बैंकहरूले उनलाई सुरक्षित ग्राहक दाबी गरेका छन् । तर, उनले प्लटिङ गरेको मसानघाटको जग्गा खरिद र आवास निर्माणमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएकाहरूसँग सोधभर्ना वा पैसा फिर्ता माग्न थालिएको छ ।

जग्गा खरिद र भौतिक संरचना निर्माण गर्न मसानघाटको पुर्जा राखेर ऋणमा कारोबार गरेकाहरूले भने कम्पनीबाट पैसा फिर्ता लिएपछि मात्र बुझाउने भन्दै वित्तीय संस्थाहरूलाई जवाफ फर्काउन थालेका छन् । यससँगै वित्तीय संस्थाहरुको करोडौं रकम जोखिममा परेको हो ।

प्रोपर्टी म्यानेजमेन्टका सञ्चालक वाग्लेसँगको कर्जा भने बैंकहरुले सुरक्षित नै मानेको पाइएको छ । उनको देशैभर ठूलो सञ्जाल रहेको र अन्यत्र पनि लगानी रहेको छ । तर, बैकहरूले मसानघाटको सार्वजनिक जग्गामा सामान्य अध्ययनसमेत नगरी ठूलो लगानी गरेको देखिनु गम्भीर त्रुटी रहेको सरोकारवाला बताउँछन् ।

मालपोत कार्यालय सिमराका अनुसार प्रोपर्टी म्यानेजमेन्टको नाममा रहेको जग्गा कर्जा प्रवाहको लागि २०७१ चैत २९ गते र २०७१ चैत १५ गते कित्ता नं. १६५७ लगायतका अन्य जग्गा रोक्का गर्न सिभिल बंैक कमलादी काठमाडौंले मालपोत कार्यालय कलैयालाई पत्र लेखेको थियो ।

प्रोपर्टी म्यानेजमेन्टका सञ्चालक वाग्लेले बैंकमा रकम जम्मा गर्दै खरीदकर्तालाई जग्गा फुकुवा गर्दै बिक्री गर्दै आएको भए पनि ६ महिनाअघि मसानघाटमा प्लटिङसम्बन्धी समाचार आएपछि उक्त जग्गागा विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । हाल यो जग्गाको किनबेच ठप्प छ ।

प्रोपटी म्यानेजमेन्टबाट एभरग्रिन तराई हस्पिटलले ७८४७ कित्ता नं को २ कठ्ठा १३ धुर ६ कन्वा र कित्ता नं ७८४९ को ५ कठ्ठा ३ धुर ८ कन्वा दुई कित्ता जग्गा सिद्धार्थ बैकबाट कर्जा लिई खरिद गरेको सिमरा मालपोतमा बैकले रोक्का गरेको पत्रमा उल्लेख छ ।

सिभिल बैकका सूचना अधिकारी सचिनजङ रायमाझीले प्रोपर्टी म्यानेजमेन्टको जग्गा खरीदमा बैकको लगानी रहेको स्वीकार्दै बैकसँग कम्पनीको कारोबार बैकिङ प्रणालीअनुसार नियमित रुपमा भरहेको बताए । कुन र कस्तो प्रकृतिको जग्गा भन्ने बारेमा आफूले पनि बुझ्नुपर्ने तर ऋण किस्ता ब्याज नियमित रहेकोले बैंकको ध्यान नगएको उनले बताए ।

Write your Comment