एक हजार सापटी नदिएपछि दाजु बहिनीको हत्या

रातोघर

 २३ भाद्र २०७७, मंगलवार २०:३१  मा प्रकाशित




 

खोटाङ । खोटाङमा बृद्धबृद्धाको बिभत्स हत्या गर्ने अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय पेलेलेका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकै ६७ वर्षीय बहिनी गोपीमायाँ श्रेष्ठलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका ३३ वर्षीय दुर्गाबहादुर राईलाई प्रहरीले सार्वजनिक गरेको हो ।

भदौ २१ गते जन्तेढुंगा गाउँपालिका–२ बोपुङबाट पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । जंगल नजिकै एकान्त ठाउँमा रहेको घरको ढोकामा बाहिरबाट साङ्लो लगाएको अवस्थामा बृदाबृद्धा दाजुबहिनीका शव भदौ १९ गते घरभित्रै भेटिएको थियो ।

अभियुक्तले गोपीमायासँग १ हजार पैसा माग्दा नदिएको निहुमा भदौ १७ गते राती करिब १२ बजेको समयमा उनीहरुको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए । ‘अभियुक्तले गोपीमायाँसँग पैसा सापटी मागेको देखिन्छ, बेलुका दिन्छु भन्ने आश्वसन पाएपछि मादक पदार्थ सेवन गरेर मृतकको घरमा दुई पटक गएको देखिन्छ, तर पैसा नपाएपछि रातको १२ बजेको आसपासमा गएर दाजुबहिनी माथि आक्रमण गरेको देखिन्छ’ डिएसपी चिमोरियाले भने, ‘अभियुक्तले दाउराको चिर्पट हानेर दाजु बहिनीको हत्या गरेको देखिन्छ ।’

अभियुक्तको साथबाट प्रहरीले १ हजार १७० रुपैयाँ नगद, खुकुरी र झोला बरामद गरेको छ । उनले गोपीमायाँको थैलीमा भएको रकम मात्र झिकेको प्रहरीले जनाएको छ । अभियुक्त माथी एक साता म्याद थप गरी कर्तव्य ज्यान अन्तरगतको मुद्धा चलाएर अनुसन्धान अगाडी बढाईएको डिएसपी चिमरियाले बताए ।

Write your Comment