अनुगमन टोली आएपछि पसले पसल बन्द गरेर टाप

रातोघर

 २३ आश्विन २०७७, शुक्रबार २०:२७  मा प्रकाशित
६७० पाठक संख्या



सप्तरी, राजविराज । संयुक्त बजार अनुमगन टोलीले जिल्लाका प्रमुख बजारहरुमा केही दिनयता अनुगमन तिब्र बनाएको छ । शुक्रबार सप्तरी सदरमुकाम राजविराजको विभिन्न किराना पसलमा अनुगमन गरि बिक्रि बितरणका लागि राखिएका अयोग्य बस्तु तथा खाद्य पदार्थ नियन्त्रणमा लिएको छ ।

स्थानिय बजारमा म्याद गुज्रिएका अखाद्य बस्तु खुल्ला बिक्रि बितरण भइरहेको जनगुनासो आएपछि केही दिनयता बजार अनुगमन तिब्र पारिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीमा खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सुरेश सिंह, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि नेत्र बास्तोला, उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष राजकुमार गुप्ता, नयायिक उपभोक्ता मञ्चका अध्यक्ष रामकुमार यादवका साथै उद्योग बाणिज्य संघका प्रतिनिधि तथा संचारकर्मीहरु सहभागि छन् ।

अघिल्लो दिन टोलीद्वारा मदिरा पसलहरुमा अनुगमन गरिएको थियो । सो क्रममा म्याद गुज्रिएका टुबोर्ग र किंगफिसर कम्पनीका क्यान र बियरका बोतलहरु नियन्यत्रणमा लिई नष्ट गरिएको थियो ।

अनुगमनका क्रममा भेटिएका अखाद्यय बस्तुहरु जफत गरि तत्कालै नष्ट गर्ने गरिएको छ । म्याद गुज्रिएका तथा अखाद्यय बस्तुको बिक्रि बितरण गरेको फेरी पाइए कानुन बमोजिम कारवाही गरिने चेतावनीसहित एक पटक सम्झाएर छाडिने गरिएको उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ताले बताए ।

अनुगमनसँगै टोलीले ब्यापारीलाई उपभोक्ता मारमा नपर्ने गरि व्यापार गर्न सुझाव समेत दिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । अनुगमन टोली बजार घुम्दै गरेको सुइको पाएपछि स्थानिय कतिपय व्यापारी धमाधम पसल बन्द गरेर निस्केका थिए ।

Write your Comment