

विराटनगर : प्रदेश १ को जनस्वास्थ्य प्रयोगशाला (ल्याब)मा कार्यरत प्राविधिकमा कोरोना भाइरसको संक्रमण देखिएपछि नयाँ स्वाब संकलन र परीक्षणको काम रोकिएको छ। प्रदेशमा तीव्र रुपमा कोरोना फैलिइरहेका बेला प्राविधिकमा पनि संक्रमण पुष्टि भएपछि प्रयोगशालाले नयाँ स्वाब परीक्षण केही दिनका लागि स्थगित गरेको हो।
प्रयोगशाला प्रमुख जयवेन्द्र यादवका अनुसार तीन प्राविधिक र एक कर्मचारीमा कोरोना पुष्टि भएको छ। परीक्षणमा खटिने प्राविधिकनै संक्रमणको सिकार हुनुपरेकाले अर्को सूचना जारी नभएसम्म परीक्षणका लागि नयाँ स्वाब लिनसक्ने अवस्था नभएको उनले बताए।
प्रयोगशालामा १३ प्राविधिक कार्यरत छन्। तीमध्ये छ जना अन्य संस्थाबाट काजमा ल्याइएका हुन्। यादवले केही दिनदेखि बाँकी रहेका छ सय स्वाब परीक्षण गरिसकेपछि मात्रै नयाँ स्वाब संकलनका सम्बन्धमा निर्णय लिइने स्पष्ट पारे।
उनका अनुसार प्रदेशका विभिन्न स्थानबाट प्रयोगशालामा दैनिक एक हजार पाँच सयसम्म स्वाब संकलन गरेर परीक्षणका लागि ल्याउने गरिएको छ। प्रयोगशालामा दुईवटा मेसिनबाट स्वाब परीक्षणको काम भइरहेको छ।
चाडपर्व सुरु भएसँगै प्रदेशमा दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको छ। तर प्रयोगशालाले परीक्षणका लागि नयाँ स्वाब लिन नसक्दा थप समस्या देखिने भएको छ। चाडपर्व आगामी वर्ष पनि मनाउन सकिने भन्दै यादवले अहिले आफू जोगिन सक्नुनै ठूलो कुरा भएको उल्लेख गरे।
यसैबीच विराटनगर महानगरपालिकाले पनि दसैंको अवधिमा स्वाब संकलन कार्य बन्द गरेको छ। बिहीबारदेखि आगामी कात्तिक १२ गतेसम्म स्वाब संकलन हुन नसक्ने जानकारी सार्वजनिक सूचनामार्फत नै महानगरले दिएको छ।
महानगरपालिकाका जनस्वास्थ्य संयोजक दिलिपकुमार यादवका अनुसार जैन भवन र मोबाइल भ्यानबाट गरिँदै आएको स्वाब संकलन दसैं भरीलाई बन्द गरिएको हो। महानगरले स्वाब संकलन गरेर परीक्षणका लागि कोसी अस्पतालको प्रयोगशालामा पठाउने गरेको थियो। अस्पतालमा दसैं विदा पर्ने भएकाले स्वाब परीक्षणका लागि पठाउन नसकिने हुँदा संकलननै रोक्नु परेको यादवले बताए।
अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बडा दसैंको नवमीबाट तीन दिनका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द रहने जनाए। उनले नवमीसम्म यसअघि संकलन गरिए पनि थाँती रहेका स्वाबको परीक्षण हुने जनाए।
उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले कोरोनाको संक्रमण जताततै फैलिएर मुलुक आक्रान्त बनेको अवस्थामा स्वाब संकलन र परीक्षणको काम बन्द गरिनु दुःखद् भएको बताए। प्रयोगशालाले कर्मचारीको अभाव देखाएर नयाँ स्वाब नलिनु र महानगर एवं कोसी अस्पतालले संकलन तथा परीक्षणनै बन्द गर्दा थप समस्या आउने उनको भनाइ छ।
कोरोना परीक्षण प्रभावित हुँदा रोग पहिचान नभएर सर्वसाधारणले अकालमै ज्यान गुमाउनुपर्ने र अझै संक्रमणको अवस्था भयावह बन्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा ढुंगेलको जोड छ। सरकारी तवरबाट परीक्षण बन्द गरिँदा सर्वसाधारणले महँगो शुल्क तिरेर निजी प्रयोगशालामा परीक्षण गराउनुुपर्ने अवस्था आउनसक्ने उनको भनाइ छ। Annapurnapost





Write your Comment