जोगवनीमा मृत भेटिए नेपाली युवा, हत्या भएको आशंका

रातोघर

 ६ कार्तिक २०७७, बिहीबार १०:५५  मा प्रकाशित
५६७ पाठक संख्या



विराटनगर : भारतको जोगवनी बजार नजिकै एक नेपाली युवा बिहीबार बिहान मृत भेटिएका छन्। हत्या भएको आशंका गरिएका युवाको पहिचान भने खुल्न बाँकी छ।

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट लगभग सय मिटर पर भारततर्फ शव भेटिएको हो। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले सीमा क्षेत्रको दशगजा नजिकै भारतीय भूमिमा अन्दाजी २५/२६ वर्षीय युवाको शव फेला परेको पुष्टि गरे।

सीमा क्षेत्रका बासिन्दाले मृतक युवा सुनसरी इटहरीका भएको बताएका छन्। तर थापाले आफन्त र परिवारका कोही पनि सदस्य सम्पर्कमा नआएका कारण शवको पहिचान हुन नसकेको जानकारी दिए। स्थानीय बासिन्दाले प्रहरीलाई दिएको जानकारी अनुसार मृतक युवा लागुऔषधका सेवनकर्ता हुन्।

प्राय लागुऔषध सेवनका लागि जोगवनीतिर गइरहने भएका कारण स्थानीयले इटहरीका युवा भनेर चिने पनि नाम भने थाहा नभएको बताएको प्रहरीले जनाएको छ। मृत भेटिएका युवाको मुख र कानबाट रगत बगिरहेको छ भने शरीरका केही भागमा निलडाम पनि छ। त्यही आधारमा प्रहरीले घटना हत्या पनि भएको हुनसक्ने आशंका गरेको हो।

प्रनि थापाले मृतकको हत्या भएको हो या लागुऔषधको अत्याधिक सेवनका कारण ज्यान गयो भन्ने यकिन हुन बाँकी रहेको जानकारी दिए। सीमा क्षेत्रका बासिन्दाले इटहरी घर बताएका कारण युवा नेपाली भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। मृतक युवाका अभिभावक र आफन्तको खोजी थालिएको थापाले बताए।

भारतमा शव भेटिएका कारण घटनाको अनुसन्धान र कानुनी प्रक्रिया भारतीय प्रहरीले गर्ने भएको छ। भारतीय प्रहरीले घटनास्थलबाट उठाएर शव पोस्टमार्टमका लागि लगेको छ। नेपाल–भारत सीमा क्षेत्रमा युवाको शव भेटिएका कारण घटनाको अनुसन्धानमा भारतीय प्रहरीलाई सहयोग गरिने थापाले बताए।

दुवै हातमा ट्याटु रहेका मृतकले सेतो जुत्ता, निलो रंगको जिन्स पेन्ट र गाडा निलो रंगको सर्ट लगाएको जानकारी उनले दिए।

aanapurnapost

Write your Comment