नेकपा संकट : अध्यक्षद्वय आरोप–प्रत्यारोपमै

रातोघर

 १७ मंसिर २०७७, बुधबार ११:३४  मा प्रकाशित
९६ पाठक संख्या


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीभित्र देखिएको संकट र विवाद औपचारिक तथा अनौपचारिक छलफलमार्फत समाधान खोजिने गरी छलफल भएको छ । छलफले सहमति खोज्ने विषयलाई गहन रूपमा लिए पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भने केही चर्काचर्की भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा अध्यक्षद्वयबीच चर्काचर्की र आरोप प्रत्यारोप भएपछि अन्य नेताले बैठकको वातावरण शान्त बनाएको नेकपा स्रोतले जनाएको छ ।

पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक र अनौपचारिक दुवैखाले छलफललाई निरन्तरता दिने र कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिबद्धता शीर्ष नेताहरूले व्यक्त गर्नुभएको छ
नारायणकाजी श्रेष्ठ प्रवक्ता, नेकपा

बैठकको सुरुमै आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले अहिले बैठक राख्नुको औचित्य नभएको बताए । तर, अर्का अध्यक्ष दाहालले बैठकको औचित्यबारे प्रस्ट पार्दै बैठक किन नराख्ने ? भन्दै प्रश्न गरेपछि दुवै अध्यक्षबीच चर्काचर्की र आरोप प्रत्यारोप भएको हो ।

‘सचिवालय बैठक राख्ने र नराख्ने विषयमा अलिअलि चर्काचर्की भयो तर हामीले माहोल शान्त बनाउँदै छलफललाई अगाडी बढायौं,’ नेकपा स्रोतले भन्यो, ‘औपचारिक र अनौपचारिक छलफल जारी नै राख्ने र सहमतिका साथ एकढिका भएर अगाडि बढने विषयमा हामी सहमत छौं ।’

उपाध्यक्ष वामदेव गौतमले भने अपौचारिक तथा अनौपचारिक छलफलमार्फत समाधान खोज्ने विषयमा सबै शीर्ष नेता एकमत देखिएको बताए । गौतमले तिक्ततातर्फ जान लागेको पार्टीको आन्तरिक अवस्था मित्रतातर्फ फर्काउने कोसिस भइरहेको बताए । ‘तिक्ततातर्फ जान लागेको पार्टीको आन्तरिक अवस्था मित्रतातर्फ फर्काउने गरी छलफल अघि बढेको छ, मंगलबारको सचिवालय बैठकको निष्कर्ष र सार यही हो,’ उपाध्यक्ष गौतमले भने ।

नेकपा अध्यक्षद्वय ओली र दाहालले एक अर्कालाई आरोप–प्रत्यारोप लगाउँदै लिखित रूपमै राजनीतिक प्रस्ताव पेस गरेपछि पार्टीभित्र विवाद थप बढेको छ । २८ कातिकको सचिवालय बैठकमा दाहालले ओलीमाथि गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेका थिए । त्यसपछि १३ मंसिरको सचिवालय बैठकमा ओलीले दाहालमाथि आरोप लगाउँदा विभिन्न प्रश्न गर्दै अर्को प्रस्ताव पेस गरेका थिए ।

 

तिक्ततातर्फ जान लागेको पार्टीको आन्तरिक अवस्था मित्रतातर्फ फर्काउने गरी छलफल अघि बढेको छ । मंगलबारको सचिवालय बैठकको निष्कर्ष र सार यही हो

वामदेव गौतम उपाध्यक्ष, नेकपा

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै अध्यक्षले पेस गरेको प्रस्तावमाथि छलफल सुरु भएको बताए । शीर्ष नेताबीच अनौपचारिक छलफलसमेत अघि बढाउने निष्कर्ष बैठकको रहेको उनले बताए । अहिले पार्टीमा देखिएको विवाद समाधानका लागि औपचारिक तथा अनौपचारिक छलफललाई निरन्तरता दिने निष्कर्ष बैठकको रहेको श्रेष्ठले बताए ।

‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको प्रस्ताव र अर्का अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि छलफल सुरु भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘दुवै अध्यक्ष कमरेडले आफ्नो धारणा राख्नुभएको छ । अरू कमरेडहरूले पनि सामान्य टिप्पणी गर्नुभएको छ । पार्टीको समस्या र समाधान विषयमा केन्द्रित भएर गम्भीर छलफल हुन बाँकी नै छ ।’ बैठक बुधबार बस्ने नेकपाले जनाएको छ ।

मंगलबारको बैठक करिब साढे ४ घण्टासम्म चलेको थियो । अध्यक्षद्वय ओली र दाहालका साथै अन्य नेताले समेत पार्टी एकतालाई अझै मजबुत बनाउने, एकअर्काका कमीकमजोरी सच्याउनुपर्नेप्रति सचेत रहने विषयमा जोड दिएका थिए ।

पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक र अनौपचारिक दुवैखाले छलफललाई निरन्तरता दिने भन्दै कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिबद्धता शीर्ष नेताले व्यक्त गरेको प्रवक्ता श्रेष्ठले बताए ।

धुम्बाराहीमा सुरक्षा थ्रेट

यसअघिको सचिवालय बैठकले सर्वसहमतिमै अर्को बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो । १३ मंसिरको सचिवालय बैठकले अर्को बैठक धुम्बाहीमा गर्ने निर्णय गरे पनि सुरक्षा थ्रेटको कारण देखाउँदै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो ।

राजधानी काठमाडौंसहित देशैभरि राजावादी समर्थकले प्रदर्शन सुरु गरेपछि धुम्बाराहीमा सुरक्षा थ्रेट रहेको निष्कर्षसहित प्रधानमन्त्री ओलीले बैठक बालुवाटारमै बस्नुपर्ने प्रस्ताव गरेका थिए । धुम्बाराहीमा बैठक हुँदा राजवादीले प्रदर्शन गर्न सक्ने अनुमान सुरक्षा निकायलेसमेत गरेका छन् ।

‘प्रतिगामी शक्तिले प्रतिगमनको सफलता नसोचे हुन्छ । लोकतन्त्रलाई सुदृढ गर्ने क्रममा केही कमजोरी भएका छन् भने त्यसको समीक्षा गरी अघि बढछौं । तर, जनताद्वारा विस्थापित शक्तिले पुनःस्थापना हुने सोच नराखे हुन्छ,’ नेकपा प्रवक्ता श्रेष्ठले राजसंस्थाको पक्षमा भइरहेको प्रदर्शनबारे भने ।

बालुवाटारमै महासचिवको जन्मदिन

नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको ६२औं जन्मदिन मनाइएको छ । महासचिव पौडेलको जन्मदिनका अवसरमा शुभकामना साटासाट गर्दै सचिवालय बैठकको सुरुवात प्रधानमन्त्री निवास बालुवाटारमा भयो ।

प्रधानमन्त्री ओली, अध्यक्ष दाहालसहित सचिवालयका नेताले केक खुवाएर महासचिव पौडेललाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उपाध्यक्ष वामदेव गौतमले १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शुभकामना दिएका छन् ।

नेकपाभित्र सुरु भएको शक्ति संघर्षले उग्ररूप लिइरहेका बेला महासचिव पौडेलको जन्मदिनका अवसरमा केक काटेर शुभकामना अदानप्रदानले केही समयका लागि भए पनि बैठकको माहोल रमाइलो बनाएको थियो ।

Write your Comment