

काठमाडौं । नेपालमा बीमा व्यवसायको अपार सम्भावना भए पनि बीमा चेतनाको अभाव तथा बीमा कम्पनीहरु विकेन्द्रीकरण भई गाउँ गाउँसम्म पुग्न नसक्दा बीमाको पहुँच भर्खर २२.२ प्रतिशतसम्म पुगेको देखिएको छ ।
बीमा व्यवसाय ४२.६ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बीमा व्यवसायले यति प्रगति गरेको हो ।
अर्थमन्त्रालय अन्तर्गतको आर्थिक नीति विश्लेषण महाशाखाले सार्वजनिक गरेको बुलेटिनमा गत आर्थिक वर्षमा कूल ३४ अर्ब ४२ करोड ४८ लाख बीमा शुल्क संकलन भएकोमा समीक्षा अवधीको यस त्रैमासमा ४९ र्ब १० करोड पुगेको उल्लेख छ ।
त्यस्तै, गत आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा शुल्क र निर्जिवन बीमा शुल्कको हिस्सा क्रमशः ७९.९ र २०.१ प्रतिशत रहेकोमा यस वर्ष जीवन बीमाको हिस्सा केही घटेर ७४.१ र निर्जिवन बीमाको हिस्सा बढेर २५.९ पुगेको जनाइएको छ ।
त्यस्तै नीति विश्लेषण महाशाखाका अनुसार बीमाको दायरामा आएको जनसंख्या २२.२ प्रतिशत पुगेको जनाएको छ । साथै म्यादी बीमा सहितको बीमाको पहुँच २४.८ प्रतिशत रहेको जनाइएको छ । अघिल्लो आबमा २० प्रतिशतमा सीमित रहेको बीमाको पहुँच यस वर्ष २.२ प्रतिशतले बृद्धि भएको बुलेटिनमा उल्लेख छ ।





Write your Comment