मलाई पनी झन्डा उचाल्ने रहर छ !

रातोघर

 २२ माघ २०७७, बिहीबार १९:१७  मा प्रकाशित
४६५ पाठक संख्या


सिमरा ।

मलाई थाहा छ, म यो बाटोको पिल्लरमाथी बस्दा ठुला मान्छेहरुको कार्यक्रम सबै देख्छु । सानो मान्छे त्यस्तोमा चड्नुहुदैन भन्ने पछाडीका रमितेहरुले मलाई पछाडी बोलाईरहेका थिए । मैले अटेर गरेर यहीँ बसेँ । किनकि रमाइलो हेर्न मज्जा आइरहेछ ।

आज स्कुलपनी बेलैमा छुट्टी भयो । सिमरा चोकमा रमाइलो रहेछ । मलाई सधैं यस्तै रमाइलो भैरहेझैँ लाग्छ । किनकी मान्छेहरुको भिडमा होहल्ला हुन्छ, बबाल हुन्छ, रमाईलो हुन्छ । स्कुलमा हल्ला गरे गुरुले थकाउँछन् तर यहाँ प्रहरी अंकलले बन्दुक भुईतिन मात्र तेर्साएर हल्ला गर्नेहरुलाई केही नभनी बसिरहेको प्रती म दँग छु । आज गाडी गुड्ने बाटोभरी मान्छै नै मान्छे छन् ।

तिहारमा ध्यउसुरे भने जसरी पहिला एकजना बोल्ने अनी सबैले त्यही बोल्ने गरिरहेका छन् । म अरु झन्डा चिन्दिन तर पछी हल्लामा हल्ला मिसाउन आएका नेपाली झन्डा बोकेर आए । मैले स्कुलको झन्डा र यो झन्डा एउटै हो भनी ठम्याएं ।

एकातिर कालो झन्डा पनी छ । खै किन बोकिरहेछन् म बुझ्दीन । तर, रमाइलो खुब छ । प्रहरीले ठेलीरहेका छन् अर्कोतिन मैले चिनेका मानिसहरु चिच्याइरहेका छन् ।

बाटापारीपट्टी बिरगञ्जबाट आएका गाडीको कती लामो लाम छ । यिनीहरु पनी त्यही हल्लामा सामेल हुन बसेका होलान । एकैछिनमा एउटा सानो गाडी आयो तर उसलाई गाली गरेर जताबाट आएको उतै फर्काए । किन यसो गरिरहेका होलान ?

वारीपारी मान्छेहरुले होहल्लालाई हेरिरहेका छन् । बिच सडकमा मानिसहरु झन्डा बोकेर उफ्रिरहेका छन् । आज स्कुल बिदा भएको पनी यही होहल्ला हेर्न होला भनेर मैले पछी बुझेँ । तर मेरा साइजमा साथीहरु त्यती धेरै थिएनन् सडकमा ।

एउटाले अर्कोलाई कुटेपनी हुने , हिर्काएपनी हुने…. म सोचिरहेछु । तर हल्ला मात्रै गर्छन । रंगिन कपडालाई लौरोमा बेरेर बनाइएको नेपाली झन्डा जस्तै झन्डा उचाली केकेकेके जिन्दावाद मात्रै भन्नेरहेछन् ।

म कतिवेला कुटाकुट होला भनेर पर्खिएको घन्टौँ भयो, पुलिस दाईले बन्दुक पनी पड्काउला भनेर हेरेका पनी निकैबेर भयो । म बन्दुकको ठुलो आवाज सुन्न आतुर छु । तर, धकेलाधकेल मात्रै गरे । बन्दुक बोक्नेहरु किन यत्तीकै फर्के होलान ? अनी गाडी वालाहरु घर गएहोलान कि त्यहीँ होलान ? न फाइट पो पर्यो कि ?

मलाई आमाले त्यस्तोमा जानुहुदैन भनेर जवरजस्ती घर ल्याएपछी मेरो मनमा धैरै कुरा खेल्यो । फेरी जान मन थियो । आमाको अनुमती भएन । जानुहुदैन रे । किन ? त्याहाँ के हुन्छ ? आमाको उत्तर आज नेपाल बन्द हो, जे नि हुन सक्छ । अनी किन बन्द गरेका ? खै मलाई नी के थाहा र , आमा पनी म जस्तै नबुझ्ने !

मनमा लाग्यो भोली स्कुलमा नेपाली पढाउने सरलाई सोध्छु । बिहान स्कुलमा सरलाई सोधें । सरले उल्टै ‘यस्तो कुरा गर्ने हो ?’ भनेर झपार्नुभयो । ‘तिमीहरुले अहिले यस्तो कुरा बुझने बेला भएको छैन । त्यस्तो भिडमा जानुपनी हुंदैन ।’ सरले पनी आमाले जस्तै जानुहुदैन मात्रै भन्नुभयो तर के कामका लागी चोकमा झन्डा बोकेर मानिसहरु उर्फिए थाहा पाउन सकिन ।

पछी मलाई लाग्यो म ठुलो भएपछी आफैँ बुझ्छु । अनी कहिले म पनी ठुलो हुँला र चौकमा झन्डा बोक्नेहरुसंग साथी बनौला भन्ने रहर लागीरहेको छ ।

Write your Comment