

काठमाडौँ । बुधबारको पूर्वनिर्धारित कार्यक्रम अनुसार काठमाडौँमा आयोजना गरिएको आमसभामा व्यापक सहभागिता देखेपछि नेकपा बुहमत पक्ष उत्साहित देखिएका छन् । आफूहरुले अपेक्षा गरेजस्तै मानिसहरु उपस्थित भएपछि उनीहरु खुशी देखिएका हुन् ।
यसअघि आयोजना गरेका कार्यक्रममा उत्साहजनक उपस्थिति भनिएपनि उनीहरु सन्तुष्ट थिएनन् । त्यसैमाथि गत २३ ओली पक्षले काठमाडौँमा आमसभा गरेसँगै त्यो भन्दा धेरै ठूलो उपस्थिती ल्याउने उनीहरुको योजना थियो ।
दिनभरको कार्यक्रममा हंसिला र फुर्तिला देखिएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको सभामा ५ लाख मानिसहरुको सहभागि गरेको दावी गर्नुभयो ।
खुशी हुँदै उहाँले भन्नुभयो, ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ ?’
बोल्दै गर्दा हौसिनुभएका अध्यक्ष प्रचण्डले हंसिलो मुहारमै अब कदम नसच्चिए दश लाख मानिसहरु लिएर बालुवाटार र सिंहदरवार घेर्ने समेत बताउनुभयो ।
फूर्तिला देखिनुभएका अध्यक्ष प्रचण्ड बेलाबेलामा मन्तव्य मै मुस्काइरहनुभयो ।

‘धेरैबेर पनि भो आज कुराहरु पनि धेरै सुनायौँ, हाम्रा सपनाहरु पनि सुनायौँ समृद्ध नेपाल सुखी नेपालीको । झलनाथ जीले बनाउनुभएको नारा रैछ त्यो । हामी सबैको सपना हो त्यो । मलाई खुशी छ, युवाहरु पनि यो आन्दोलनमा जसरी जोडिनुभएको छ, र युवाहरुको निम्ती केही गर्ने संकल्प हामी बुढाहरु, (हास्दै) बुढै त भन्न अल्लि मिल्दैन कि ! जे संकल्प लिएका छौँ । तपाईहरु ढुक्क हुनुस, फाटाहाहरुले भनेका छन् कुर्सीकै लागि लडिरहेका हुन् कि भनेर, तपाईहरुलाई पनि यस्तै लाग्दो हो । तर होइन ।’, उहाँले भन्नुभयो ।
उहाँले ओलीलाई छोडेर आफूतिर फर्कने नेताहरुको लाइन भएको बताउँदै भन्नुभयो, ‘हामीतिर आउने मानिसहरुको लाइन छ, दुई जना मन्त्री पनि फिर्ता मसंग वार्ता गर्दैछन् ।’
त्यसैगरी भिड देखेर हौसिएका अर्का अध्यक्ष माधव कुमार नेपाल पनि हसिलो मुद्रामा भाषण गर्नुभयो ।
हौसिदै बोल्नुभएका अध्यक्ष नेपालले प्रचण्ड र आफूबीचको सम्बन्धमा कसैले फाटो ल्याउन नसक्ने बताउनुभयो ।
केसैले ओली र प्रचण्ड जस्तै गरेर फेरी पनि फुट्छन कि भनेर भनेको भन्दै उहाँले भन्नुभयो, ‘हामीहरुवीचको एकता कुनै पदका लागि होइन, कुनै स्वार्थका लागि होइन, यो समझदारी पार्टीलाई क्रान्तिकारी हिसाबले, विधिसम्वत हिसाबले अघि बढाउनको निम्ती हो ।’
ज्योतिन्यूजग कुुराकानी गर्दै एक नेताले आजको उपस्थितीले आफूहरुमा व्यापक हौसला छाएको बताउनुभयो । हामी प्रतिगमनको विरुद्धमा लडिरहने छौँ, त्यसैमाथि आजको उपस्थितीले हामीलाई व्यापक हौसला दिएको छ, उहाँले भन्नुभयो, अझ युवाहरुले दिएको साथले त हामी झन खुशी छौँ ।
-jyotinews.com





Write your Comment