विद्यालय बन्दबारे सरकारको निर्णय पर्खिंदै स्थानीय तह

रातोघर

 २ बैशाख २०७८, बिहीबार २१:४६  मा प्रकाशित
४०० पाठक संख्या



२ वैशाख, काठमाडौं । स्वास्थ्य तथा मन्त्रालयले काठमाडौंसहित अति प्रभावित १४ जिल्लाहरुमा विद्यालय नजान अपिल गरेपछि स्थानीय तहहरु छलफलमा जुटेका छन् ।

स्वास्थ्य मन्त्रालयको अपिल सार्वजनिक  भएलगत्तै काठमाडौं महानगरपालिकाले विद्यालयका सञ्चालनको विषयमा छलफल गरिरहेको शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए । उनले भने ‘मन्त्रालयको अपिल सार्वजनिक भएपछि हामी नगर स्तरीय छलफलमा छौं तत्काल निर्णय गर्छौं ।’

ललितपुर महानगरपालिकाले भने विद्यालयबारे छलफल गर्ने तयारी गरेको शिक्षा शाखा प्रमुख महेन्द्र क्षेत्री बताउँछन् । ‘स्वास्थ्य मन्त्रालयको अपिलपछि छलफल गर्ने तयारी गरिरहेका छौं । केही दिनभित्रै निर्णय गर्छौं । अरु पालिकाले के गर्छ त्यसले पनि प्रभाव पार्छ’ उनले भने ।
भरतपुर महानगरपालिकाले भने आइतबारसम्म ठोस निर्णय गर्ने बताएको छ । महानगरपालिकाका प्रवक्ता अरुण पीडित भन्डारीले भने ‘तत्काल निर्णय गर्नका लागि सम्बन्धित कर्मचारीहरु विदामा बस्नुभएको कारण सकिएन । आइतबारसम्म ठोस निर्णय गर्छौं ।’
निजी विद्यालयको प्रतिनिधिमूलक संस्था एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय कुरिरहेको बताए । उनले भने ‘स्वास्थ्यको अपिलपछि हामी शिक्षाले स्थानीय तहलाई दिने निर्देशन पर्खेर बसेका छौं ।’

विद्यालयहरु तयार 

काठमाडौंस्थित बृहस्पति सदन स्कुलले आइतबारदेखि विद्यालय बन्द गर्ने भएको छ । प्रधानाध्यापक कुमार थापाले जोखिम बढिरहेकोले आइबारदेखि वैकल्पिक माध्यामबाट विद्यार्थीलाई सिकाइसँग जोड्ने निर्णय गरेको बताए ।
अभिभावकहरु बालबालिका विद्यालय पठाउन द्विविधामा परिरहेकाले वैकल्पिक माध्यममा जाने निर्णय गरेको उनको भनाइ छ ।
त्रिपुरेश्वरस्थित विश्व निकेतन माविले भने महानगरले बन्द गर्न निर्देशन दिए तयारी अवस्थामा रहेको जानकारी दिएको छ । विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने ‘स्वास्थ्य मन्त्रालयका अनुसार जोखिम बढेको छ । महानगरले बन्द गर्ने निर्देशन दिए हामी तयारी अवस्थामा छौं ।’
विद्यालयले अनलाइन कक्षाका लागि तयारी रहन र वैकल्पिक सिकाइसँग जोडिनको लागि विद्यार्थीलाई युजर आइडी र पासवर्ड दिइसकेको छ ।

Write your Comment