सुदुरपश्चिममा तत्काल लकडाउन गर्न चिकित्सकको सुझाव

रातोघर

 १४ बैशाख २०७८, मंगलवार २१:३४  मा प्रकाशित
२९९ पाठक संख्या



सुदूरपश्चिम प्रदेशभित्र लगातार कोरोना भाइरसका बिरामीको संख्या बढेर भयावह रुप लिएको भन्दै चिकित्सकले तत्काल लकडाउन गर्न सुझाव दिएका छन् ।

छिमेकी मुलुक भारतबाट दैनिक हजारौँको संख्यामा नेपालीहरु स्वदेश फर्किरहेको अवस्थामा सीमा क्षेत्रमा होल्डिङ सेन्टर समेत स्थापना नहुँदा आधाभन्दा बढि नेपाली चेकजाँच विना नै प्रवेश गरिरहेको र एकपछि अर्को कोरोना भाइरसका विरामीको संख्या बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशमा तत्काल लकडाउन गर्न सरोकारवालालाई सुझाव दिएका हुन् ।

दैनिक हजारौँको संख्यामा सुदूरपश्चिम प्रदेशका सीमा नाका कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको जुलाघाट लगायत सीमा क्षेत्रबाट स्वदेश फर्कने नेपालीहरुको संख्या बढ्दै गएपछि सीमा क्षेत्रमा होल्डिङ सेन्टर नहुँदा गाउँगाउँमा संक्रमित पुगेकाले स्थिति भयावह बन्दै गएको भन्दै केहि दिनका लािग भएपनि लकडाउन गर्न चिकित्सकले सुझाएका हुन ।

अवस्था दिन प्रतिदिन भयावह बन्दै गएकाले केहिदिनका लागि भएपनि लकडाउन गर्नुपर्ने नेपाल मेडिकल एशोसियसन सुदूरपश्चिम प्रदेश प्रदेशका अध्यक्ष डाक्टर प्रदिप मिश्रले बताए । गाउँगाउँमा संक्रमितहरु पुग्न थालेपछि यतिबेला सेती प्रादेशिक अस्पताल धनगढी, महाकाली अस्पताल महेन्द्रनगर लगायत कोभिड अस्पतालहरुमा संक्रमितहरुको थामि नसक्नु भिड बढेको छ ।

यही अवस्था कायम रहने हो भने एकदुई दिनभित्र अक्सिन आपुर्तिमा समेत समस्या आउन सक्ने चिकित्सकको चेतावनी छ । दिन प्रतिदिन संक्रमितहरुको संख्या बढ्दै गएपनि प्रदेश तथा स्थानीय सरकारले भने यो विषप्रति कुनै चासो नै देखाएको पाइँदैन ।

यतिबेला यहाँका अस्पतालहरुमा धान्नै नसक्ने गरी भाइरसका विरामीको चाप बढ्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीका आइसीयु इन्चार्ज डाक्टर कपिल गौतमले बताए ।

दोस्रो चरणको कोरोना भाइरसले भयावह रुप लिइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारको तयारी भने शुन्य जस्तै देखिएको छ । रोकथाम र सुरक्षाको काम स्थानीय सरकारको हो भन्दै कतिपय अधिकारीहरु जिम्मेवारीबाट पन्छिने गरेका छन् ।

तर सुरक्षा सामवधानी समयमै नअपनाउने हो भने भारतको महाराष्ट्र, दिल्ली लगायत सहरको जस्तो अवस्था आउन सक्ने भन्दै चिकित्सहरुले जनशक्ति र आवश्यक सावधानमा जोड दिन सरकार समक्ष स्वास्थ्य चिकित्सकहरुले आग्रह गरेका छन् ।

कोरोना भाइरसको जोखिम धनगढी, अत्तरिया, महेन्द्रनगर, टिकापुर हुँदै पहाडी जिल्लाका बजार क्षेत्रमा उच्च देखिएको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै यसको व्यवस्थापन, रोकथाम र प्रदेश सरकारको तयारी लगायत विषयमा सुदूरपश्चिम प्रदेश सरकाका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह समक्ष जिज्ञासा राख्दा जवाफ दिन मानेनन् ।

कोरोनाको संक्रमित बढ्नुका साथै कोरोनाकै कारण मृत्यु हुनेको संख्या समेत दिनप्रतिदिन बढ्दै गएका बेला प्रदेश सरकारको तयारी भने अपेक्षाकृत नदेखिएको भन्दै सरकारको चौतर्फी आलोचना हुन थालेको छ ।

Write your Comment