चुरेका पहिरोपीडितको जंगलमा बास, निगुरो र खोलेले छाक टार्न बाध्‍य

रातोघर

 २ असार २०७८, बुधबार २१:५७  मा प्रकाशित
३२५ पाठक संख्या



२ असार, कैलाली। कैलालीको चुरे गाउँपालिका र गौरीगङ्गा नगरपालिकाका करीब तीन सय बासिन्दाहरु पहिरोले घरखेत बगाएपछि  सिमानामा पर्ने राष्ट्रिय वनको बीचमा त्रिपाल मुनि बस्न बाध्‍य भएका छन् ।

पहिरोले आफ्नो घर खेत बगाएपछि घरबारविहीन भएका उनीहरु जसोतसो त्रिपालमुनि बाध्‍य बाध्‍य भएका हुन् ।

चुरे गाउँपालिकाका विभिन्न वडाहबाट पहिरो पीडित भएर वासस्थानको खोजि गर्दै जङ्गललाई आफ्नो बासस्थान बनाएका उनीहरूको अवस्था अहिले दयनीय छ ।

पालमा बसेर चार वर्षीय छोरीलाई जाउलो खुवाइरेकी रुपा बुढाले भोलि छोरीलाई के खुवाउने र आफूले के खाने भन्ने चिन्ता रहेको बताइन् । उनले गुनासो गर्दै भनिन्, ‘त्रिपालमुनिको बसाईँ आफैमा खतरापूर्ण छ, त्यसैमा सानासाना बालबालिकालाई जङ्गलमा रहेका किरा फट्याङ्ग्राबाट बचाउन उस्तै गाह्रो छ । खानेपानीको समस्या भएकाले नदीको धमिलो पानी पिउनुपर्ने बाध्यता छ । राज्यले आफूहरूलाई नागरिकसरह व्यवहार गरेको छैन।’

उनीहरुले सबैभन्दा नजिकको स्थानीय सरकारले खासै ध्यान नदिएको चुरे गाउँपालिका-६ का रामकुमार बोहराको गुनासो गरे । आफूहरू बाध्यताले जङ्गलको बीचमा त्रिपालमुनि बस्नु परेपनि सरोकारवाला निकायले आफूहरूका बारेमा ध्यान नदिएको उनको भनाइ छ ।

गाउँपालिका–६ का ६५ वर्षीय खडक बोहराले आफ्नो १५ रोपनी जग्गा र घर पहिरोले बगाएपछि सुकुम्बासी भई बासस्थानको खोजीमा गाउँका अरूसँगै जङ्गलमा आएको तर यहाँ बसेर बाँचिएला जस्तो नलागेको बताए ।

आफ्नी श्रीमतीसँगै जङ्गलको बास बसिरहेका बोहरा आफूसँग रहेको अन्न सक्किएको तथा कसैले खानका लागि सहयोग नगरे भोकै जङ्गलमै मर्नुपर्ने बाध्यता रहेको भन्दै भावुक बने ।

त्रिपालबाट बनाएको आफ्नो घरमा पानी चुहिरहेको अवस्थामा भान्सामा जङ्गलबाट टिपेर ल्याएको निगुरो र खोले जस्तै पातलो चामलको परिकार बनाइरहेकी पहिरोले घरबार बगाएर जङ्गलमै पुगेकी चुरे गाउँपालिका-५ का ललिता रोका मगरले चामल थोरै भएका कारण पातलो माड जस्तो परिकार बनाएको बताइन्।

अलि धेरै दिन पुग्ने भएकोले बालबच्चाले अलि दिन खालान् भनेर यसरी बनाएको उनले बताइन् । ‘पहिरोले भएको सबै लगेपछि गाउँका मानिस जता जान्छन् त्यतै यी छोराछोरी बोकेर हिँडेको छु ।’ उनले भनिन्, ‘जबसम्म श्वास रहन्छ तबसम्म आश रहन्छ भन्ने हुँदोरहेछ, त्यसैले यो विशाल जङ्गलमा त्रिपालमुनि बालबच्चासँगै गुजारा गर्नु परेको छ।’

पहिरोबाट प्रभावित उनीहरुले आफूलाई बासस्थानका लागि वैकल्पिक व्यवस्था हुनु पर्ने स्थानीय सरकारसँग माग गरेका छन् ।

Write your Comment