राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

रातोघर

 २५ कार्तिक २०७८, बिहीबार १०:२२  मा प्रकाशित
३०३ पाठक संख्या



२५ कात्तिक, काठमाडौं । माध्यमिक शिक्षा परीक्षाको सन्चालन, समन्वय र व्यवस्थापनको काम गर्ने राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान भएको छ ।

बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले सार्वजनिक सूचना प्रकाशित गरी आगामी मंसिर ९ गतेभित्र दरखास्त आह्वान गरेको हो ।

बोर्डका तत्कालीन अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको चार वर्षे कार्यकाल सकिएपछि गत असोजदेखि बोर्डको अध्यक्ष पद रिक्त छ ।

बोर्ड अध्यक्ष हुनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि गरेको, दरखास्त दिंदाका बखत कुनै राजनीतिक दलको सदस्य नभएको, शिक्षा र प्राध्यापन क्षेत्रमा बाह्र वर्षको अनुभव हासिल गरी सोही समयमा परीक्षा व्यवस्थापन र सञ्चालन कार्यमा कम्तीमा तीन वर्षसहितको अनुभव हुनुपर्ने लगायतका योग्यता तोकिएको छ ।

दरखास्त फारम शिक्षा मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरेर भर्न सकिने र शिक्षा मन्त्रालयमा रहेको बोर्ड अध्यक्ष सिफारिस समितिको सचिवालयमा बुझाउन सकिने छ । दरखास्तसँगै बोर्डको नेतृत् वगर्ने सम्बन्धी अवधारणा पत्र तथा चार वर्षको व्यवसायिक कार्ययोजना पनि पेश गर्नुपर्ने छ ।

Write your Comment