परीक्षण गरिएकामध्ये झन्डै ५० प्रतिशतमा संक्रमण

रातोघर

 २०७८ माघ ५, बुधबार  मा प्रकाशित
२७६ पाठक संख्या


काठमाडौं । नेपालमा कोरोना संक्रमण भित्रिएयता एकै दिन १० हजार बढी संक्रमित थपिएका छन् । २२ हजार ८ सय २८ जनाको नमुना परीक्षण गर्दा मंगलबार ४४.९ प्रतिशत अर्थात् १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार १७ हजार ४ सय ६५ जनाको नमुना परीक्षण गर्दा ३८.५५ प्रतिशत अर्थात् ५ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यसअघि गत २८ वैशाख २०७८ मा ९ हजार ४ सय ५३ जनामा कोरोना संक्रमण भएको थियो । मंगलबार थपिएको नयाँ संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ । हाल देशभर गरेर २८ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । भेन्टिलेटरमा रहेका मध्ये १८ जना बाग्मती प्रदेशका छन् भने प्रदेश १ का आठ जना र सुदूरपश्चिम प्रदेशका दुई जना छन् । त्यस्तै, देशभर १ सय ५१ जना संक्रमित आईसीयूमा छन् । १ हजार २ सय १८ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।

कोरोनाको तेस्रो लहरको यो संख्या अझै बढ्ने स्वास्थ्य मन्त्रालयले आंँकलन गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा नेपालमा कोभिड–१९ को अवस्था’bout प्रतिवेदन पेस गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले माघ महिनाको दोस्रो साता दैनिक संक्रमितको संख्या १९ हजार बढी हुन सक्ने बताए । मंगलबार मात्रै १० हजारभन्दा बढी नयाँ संक्रमित थपिएसँगै स्वास्थ्य मन्त्रालयको आँकलनभन्दा बढी संक्रमित हुन सक्ने विज्ञहरूको भनाइ छ ।

परीक्षणमध्ये झन्डै आधामा कोरोना संक्रमण देखिएसँगै आउँदा दिन अझै भयावह हुन सक्ने निर्देशक डा. पौडेल बताउँछन् । पौडेलका अनुसार यही गतिमा संक्रमण दर बढिरहे माघ दोस्रो सातासम्म १३ हजारभन्दा बढी अस्पताल भर्ना हुने सक्ने र जटिल प्रकारका बिरामी पनि थपिन सक्ने देखिएको छ ।

संक्रमण दर बढेसँगै स्वास्थ्य मन्त्रालयले आफ्नो तयारी पनि थालेको जानकारी दिएको छ । कोरोना महामारीको पहिलो र दोस्रो लहरका कारण भयावह अवस्था आएपछि योपटक होल्डिङ सेन्टर निर्माण कामलाई तीव्रता दिइएको स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिएका थिए । डा. पोखरेलका अनुसार अक्सिजन अभाव हुन नदिनका लागि पूर्ण रूपमा तयारी गरिएको छ ।

कस्तो छ तयारी ?
कोरोना महामारीको दोस्रो लहरको दाँजोमा अक्सिजन सिलिन्डर प्रदेश १ मा दैनिक कुल ४ हजार ८२, मधेस प्रदेशमा कुल ३ हजार ७ सय ७८, बाग्मती प्रदेशमा कुल १२ हजार ४ सय २४, गण्डकी प्रदेशमा कुल २ हजार १ सय २४, लुम्बिनी प्रदेशमा कुल ४ हजार ३ सय ४०, कर्णाली प्रदेशमा कुल ३ सय १२ र सुदूरपश्चिम प्रदेशमा कुल ४ सय ३६ सिलिन्डर अक्सिजन दैनिक उत्पादन हुने गरी क्षमता वृद्धि गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको तथ्यांकअनुसार देशभरमा ८ हजार २ सय २ आइसोलेसन, ३ हजार ८ सय ४६ एचडीयू, २ हजार ७ सय ९७ भेन्टिलेटर रहेको छ । ६ सय ९३ अक्सिजन कन्सन्ट्रेटर र ४७ वटा अक्सिजन प्लान्ट रहेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban