पैसा बाँड्दै गरेको अवस्थामा एमालेका वडाध्यक्ष उम्मेदवार रंगेहात पक्राउ

रातोघर

 २०७९ बैशाख २९, बिहिबार  मा प्रकाशित
७१८ पाठक संख्या


लमजुङ- मौन अवधिमा मतदाता प्रभावित पारिरहेको अवस्थामा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले रंगेहात पक्राउ गरेका छन् । लमजुङको बेँसीसहर नगरपालिका– ११ रामचोकबेँसीको बस्तीमा पैसा बाँड्दै गरेको अवस्थामा स्थानीय शिव सेढाईंको समूहले जोशीलाई बुधबार राति साढे १० बजेको समयमा फेला पारेको हो ।

उम्मेदवारले मतदातालाई लुकिछिपी पैसा दिएर अथवा अन्य प्रलोभनमा पारेर भोट मागेको थाहा पाएपछि जोशीको साथबाट एक लाख ३५ हजार नगद पैसासहितको झोला, मोटरसाइकलको साँचो, पैसा बाँडेको नामावली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा राखिएको स्थानीय अनिता सेढाईंले बताइन् ।

२७ गते राति १२ बजेदेखि स्थानीय तह निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको जान्दाजान्दै जोशीले पैसा बाँड्दै भोट माग्दै गरेको अवस्थामा  स्थानीयले फेला पारेका हुन् । घटनाको अनुसन्धानका लागि प्रहरीलाई बुधबार राति नै घटनास्थलमा खटाइएकाले यस विषय प्रमाणित भए कानुनअनुसार कारबाही हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मौन अवधिमा पैसा बाँडेको विषयलाई लिएर बेँसीसहर ११ चितिका स्थानीयले जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार जोशीविरुद्ध उजुरी दिने तयारी गरेको स्थानीय विकल सेढाईंले बताए ।

निर्वाचन आचारसंहिता २०७८, बमोजिम मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban