

जेठ १३ सिमरा:बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो नेतृत्वमा प्रदेशलाई समृद्ध बनाउने सन्दर्भमा उल्लेख्य कामहरु भइरहेको बताएका छन् । बागमती प्रदेशसभाको दशौं अधिवेशनलाई आज सम्बोधन गर्दै पाण्डेले हेटौंडा अस्पतालमा नै मृगौला प्रत्यारोपण सुरु गर्ने गरी सरकारले काम गरिरहेको बताए । त्यसका लागि धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सहकार्य भइरहेको उनको भनाई छ ।
मुख्यमन्त्री पाण्डेले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताललाई छुट्ट्याएर दुवैको संस्थागत विकासका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । उनले हेटौंडा अस्पताललाई कम्तिमा ३ सय बेड क्षमताको अस्पतालको रुपमा विकास गर्ने गरी काम भइरहेको बताए । त्यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकै लागि केन्द्र सरकारबाट स्वीकृति लिएर हेटौंडामा साढे १२ विघा जनिनको व्यवस्था गरिएको पाण्डेले बताए । जग्गा उपलब्ध भएसँगै प्रतिष्ठानको लागि आवश्यक भवन संरचना तथा ल्याबहरु निर्माण गर्न सहजता भएको उनको भनाई छ ।
त्यस्तै यातायात क्षेत्रको सुधारको लागि ट्रायल सेन्टरहरुको स्थापना, त्यसको पूर्ण सञ्चालन तथा त्यहाँ कार्यरत कर्मचारीलाई प्रोत्साहन गरी सवारी चालक प्रमाणपत्र दिने सन्दर्भमा उल्लेख्य काम भइरहेको पाण्डेले बताए । उनले सार्वजनिक सवारीमा विधुतीय भाडा तिर्ने प्रविधि लागू गर्न प्रदेश सरकारले कार्यविधि पास गरिसकेको समेत बताए ।
सरकारले प्रदेश स्तरीय खेलकुद सञ्चालन गरेर देशैभरमा नमूना कार्य गरेको उनले बताए । त्यस्तै विज्ञान तथा प्रविधि अनुसन्धान र नव प्रर्वद्धन नीति २०७८ लाई स्वीकृत गरिएको बताउँदै यसले विज्ञान तथा प्रविधिसम्बन्धी कार्य गर्न नीतिगत बाटो खुलेको पाण्डेको भनाई छ ।
सरकारले भैंसे– भीमफेदी सडक विस्तारको सन्दर्भमा देखिएको समस्या समाधानको लागि क्षतिपूर्ति निर्धारण सम्बन्धी कार्यविधि पारित गरी स्थानीयहरुलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था मिलाएको र उनीहरुले चाँडै क्षतिपूर्ति पाउने बताए । अहिले सडक विस्तारको काम भइरहेको उनको भनाई छ । पाण्डेले प्रदेशमा किताबखाना स्थापना गरिएको समेत बताए ।





Write your Comment