जलवायु परिवर्तनको असर: खेर जाँदै जङ्गली फलफूल

रातोघर

 २०७९ जेष्ठ २५, बुधबार  मा प्रकाशित
५३१ पाठक संख्या


गलेश्वर, २५ जेठ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण गाउँ पुगेका युवा जङ्गली फलफूलको स्वादमा रमाएका भए पनि यस वर्ष भने ती फलफूल चराको आहारा र कुहेर खेर गएको स्थानीयले बताएका छन् । गत दुई वर्ष विदेश र शहरबाट आएका युवाको गाउँको बसाइले गाउँबस्तीमा चहलपहल बढाएको थियो । “यस वर्ष जङ्गलमा तीजु पाकेर खेर गए, अहिले चुत्रो र ऐँसेलु पाकेको छ, तर खाने मान्छे नहुँदा ती फलफूल त्यत्तिकै जङ्गलमा खेर गइरहेका छन्”, गौश्वाराका चन्द्रकान्त रिजालले भन्नुभयो, “पछिल्लो समय गाउँका बस्ती सुनसान भएका छन् । जङ्गलमा पाकेका मौसमी फलफूल त्यत्तिकै खेर गइरहेका छन् ।”

वनस्पति, कृषि र मानवस्वास्थ्यमा पछिल्लो समय जलवायु परिवर्तनका असर प्रत्यक्षरुपमा देखिन थालेका छन् । सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुले । त्यसैगरी काफल र ऐँसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरु भएको स्थानीय बताउँछन् । फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका थिए । जिल्लाका जङ्गलमा पुसदेखि नै लालीगुराँस फुल्नाका साथै जङ्गली फलफूल र कन्दमूल पाक्न थालेका थिए । यसरी बेमौसममा नै लालीगुराँस फुल्नु र जङ्गली फलको मौसमी चक्र परिवर्तन हुनुमा तापमानअर्थात जलवायु परिवर्तनको प्रत्यक्ष असर परेकोे वातावरण संरक्षणकर्मी चन्द्रमणि सापकोटाले बताउनुभयो ।

सापकोटाका अनुसार समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् । अन्य, फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेतमा यसको असर देखिएको मङ्गला गाउँपालिकाका हरिकृष्ण पौडेलले बताउनुभयो । “अहिले बेमौसममा नै काफल, तिजुलगायत जङ्गली फल पाकेको र अन्नबालीको फल लाग्ने र खेती गर्ने समयसमेतमा नजाँनिदो गरी परिवर्तन आएको छ,” उहाँले भन्नुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban