विद्यालय व्यवस्थापन समितिलाई कामकाज अगाडि नबढाउन परमादेश जारी

रातोघर

 २०७९ अषाढ १६, बिहिबार  मा प्रकाशित
६८२ पाठक संख्या


असार १६,बारा:

 

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जेठो विद्यालय फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालय जीतपुरको अध्यक्ष हुने होडबाजीमा वर्तमान र निवर्तमान वडा अध्यक्षबीच विवाद  उत्पन्न भएको छ ।

 

बहालवाल वडा अध्यक्ष सुनिल गुप्ताले निवर्तमान वडा अध्यक्ष रामबाबु गुप्ता  अध्यक्ष रहेको समितिलाई विघटन गरी आफु स्वयमलाई  अध्यक्ष घोषणा गरेपछि  व्यवस्थापन समिति विवाद अदालत पुगेको छ ।  उच्च अदालत जनकपुर  अस्थायी इजलास वीरगंजले बहालवाला अध्यक्ष रहेको वर्तमान समितिलाई कामकाज अगाडि नबढाउन भनी  विद्यालयको नाममा परमादेश  जारी गरेको छ ।

अदालतको परमादेशमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ को कार्यालयको मिति २०७९ साल असार ९ गतेको निर्णय कार्यान्वयन नगर्नु ,नगराउन भनी स्कुलको नाउँमा आदेश दिएको छ । उच्च अदालतले अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई यही असार २० गते बोलाएको छ ।

 

निवेदक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ७ का निवर्तमान वडा अध्यक्ष रामबाबु गुप्ताले उच्च अदालत जनकपुर  अस्थायी इजलास वीरगंजमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रुपमा आफ्नो कार्यकाल अझै  बाँकी रहेकाले पुरा गर्न दिनुपर्ने माग राख्दै निवेदन दर्ता गराएका थिए ।

 

अदालतका न्यायाधीश शारङ्गा सुबेदीको एकल इजलासले असार १४ गते वडा कार्यालयको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । यता वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ताले  जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा नियमावली अनुसार वडा अध्यक्ष स्वयम वा वडा अध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था रहेकाले सोही बमोजिम आफु अध्यक्ष भएको प्रतिक्रिया दिनुभएको छ  ।

157

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban