

रातोघर संवाददाता
सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको जनजागरण मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितीमा वडा अध्यक्ष ताराबहादुर कार्कीले ज्यादती गरेको भन्दै स्थानीयबासीले विरोध गरेका छन् ।
सोही सामुदायिक बन समितिको पूर्व अध्यक्ष समेत रहेका वडाध्यक्ष कार्कीले स्थानीयबासीको भावना विपरित समिति गठन गरेको, आर्थिक अनियमितता गरि ढाकछोपका लागि समितिमा आँफू अनुकुल मानिस राखेको लगायतका आरोप स्थानीयले लगाएका छन् ।
वडा अध्यक्ष ताराबहादुर कार्कीले ज्यादती गरेको भन्दै नयाँ समिति गठनको विरोध गर्दै स्थानीयबासीले सामुदायिक बन समितिको कार्यालयमा तालाबन्दी समेत गरेका थिए तर वडाध्यक्ष कार्कीका समर्थकहरुले जवर्जस्ती जनताले लगाएको ताला फुटाएर ज्यादती गरेको आरोप स्थानीय उपभोक्ताहरुले लगाए । सोको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिका ३ र ६ नम्बर वडाका स्थानीयले शनिवार रामबनमा विरोध प्रदर्शन समेत गरेका थिए ।
तर वडाध्यक्ष कार्कीले भने आँफूहरुले सामुदायिक बनको विधान बमोजिम सर्वसम्मत नेतृत्व चयन गरेको भएपनि स्थानीय केहि व्यक्तिले बेतुकको विरोध गरेको भन्दै त्यसले आँफूहरुलाई केहि फरक नपर्ने प्रतिक्रिया दिएका छन् । बन र बन्यजन्तुको संरक्षण भन्दा भूमाफियासंग मिलेर सामुदायिक बनको जग्गा अतिक्रमण गर्ने मानसिकता बोकेका केहि व्यक्तिले आँफू र नयाँ कार्यसमितिको विरोध गरेको आरोप कार्कीको छ ।
वडाध्यक्ष कार्की सामुदायिक बनको अध्यक्ष हुँदादेखिनै जनजागरण सामुदायिक बन र स्थानीयविच विवाद हुँदै आएको छ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएपछि कार्कीले साधारण सभा मार्फत नेतृत्व हस्तान्तरण गरेका हुन् तर अधिक सदस्यको उपस्थिती र सूचना बेगर नेतृत्व चयन प्रकृया सम्पन्न गरिएकाले त्यसलाई स्विकार गर्न नसकिने कतिपय उपभोक्ताहरुको भनाई छ ।





Write your Comment